काठमाडौं जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ । जिल्ला खोप समन्वय समितिको आयोजनामा सोमबार एक कार्यक्रमबचि बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले काठमाडौँलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेका हुन् । बालबालिकाले पूर्ण खोप लगाएपछि मात्र रोगबाट बच्न सकिने भन्दै पूर्ण खोपयुक्त बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै मन्त्री थापामगरले प्रदेश सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेतर्फ रहेको बताए । यसमा सहयोगका लागि सबैलाई उनको आग्रह थियो ।
मन्त्रालयकी सचिव डा.सुमित्रा गौतमले बागमती प्रदेशका सबै जिल्ला पूर्ण खोपयुक्त घोषित भएकाले चाँडै नै प्रदेशलाई पूर्ण खोपयुक्त घोषणा गरिने बताइन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले हाल रोगव्याधि धेरै भए पनि खोपका कारणले घटेको बताए ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका कार्यवाहक प्रमुख सुशीला अधिकारीले पूर्ण खोपयुक्त जिल्ला घोषणा गरेर मात्र नहुने भन्दै त्यसलाई दिगो बनाइराख्नुपर्नेमा जोड दिइन् ।
जिल्ला रेडक्रम सोसाइटीका अध्यक्ष श्याम डोटेलले कोही पनि खोप लगाउनबाट छुट्न नहुने बताए ।
पूर्ण खोपयुक्त घोषणाका लागि नौ प्रकारका खोप दिइने गरिन्छ । बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले ती खोप जन्मदेखि १५ महिनासम्म बालबालिकालाई सात पटकमा १८ मात्रा लगाएको हुनुपर्ने बताए । जन्मनैबित्तिकै क्षयरोगविरुद्धको बिसिजी खोप र १५ महिना पुगेपछि दादुरा–रुबेला तथा टाइफाइड रोगविरुद्धको खोप दिने गरिन्छ ।
काठमाडौँमा ६८ हजार १०० जना बालबालिकालाई पूर्ण खोप लगाइएको जानकारी कार्यक्रममा दिइएको थियो। कार्यक्रममा उत्कृष्ट स्वास्थ्यकर्मीलाई सम्मान गरिएको थियो ।
प्रकाशित: ३० असार २०८२ १९:१९ सोमबार





