२१ असार २०८३ आइतबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तु दोस्रो पटक पूर्ण खोप सुनिश्चितता घोषणा

कपिलवस्तुलाई दोस्रो पटक पूर्ण खोप सुनिश्चितता तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्लामा रहेका १५ महिनादेखि ५९ महिनासम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुगेको प्रतिवेदन प्रस्तुत गर्दै जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गरिएको हो। यसअघि २०८१ असार ३० गते समेत कपिलवस्तुलाई पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो।

जिल्ला खोप समन्वय समितिले तौलिहवामा राखेको घोषणा सभामा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले गमलामा पानी छरेर कार्यक्रमको शुभारम्भ गर्दै सबैको अथक प्रयासपछि कपिलवस्तुले यो उपलब्धि हासिल गरेको भन्दै आभार व्यक्त गरे।

उनले जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाहरू खोपको पहुँचमा पुग्नु अति उत्तम कार्य रहेको बताए। उनले भविष्यका कर्णधारका रूपमा रहेका बालबालिकाहरू रोगको प्रतिरक्षाका लागि खोप लगाउनु आगामी भविष्यका लागि सुखद पक्ष रहेको बताए। सबै खोपहरू पूर्णतया सुरक्षित र भरपर्दा रहेका र यो खोप अभियान नेपालको मात्र नभई विश्वकै रहेको उल्लेख गरे।

उनले स्वास्थ्य क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीति तथा कार्यक्रममा प्राथमिकतामा राखेको बताए। कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले १५ महिनामुनिका १४ हजार बढी र १६ देखि ५९ महिनासम्मका १२ हजार बढी बालबालिका खोपको पहुँचमा पुगेको बताए। उनले खोपको पहुँचमा सबै बालबालिका पुगेको प्रतिवेदन प्रस्तुत गरेका थिए।

सो अवसरमा मन्त्री घिमिरेले खोप समन्वय समितिका प्रमुख बाबुराम आचार्यलाई पूर्ण खोपको प्रमाणपत्र प्रदान गरेका थिए। जिल्ला समन्वय प्रमुख बाबुराम आचार्यले हरेक क्षेत्रमा पछि परेको कपिलवस्तुलाई सबैको अथक प्रयासले पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए। उनले यसलाई सबै मिलेर दिगोपन राख्नुपर्ने बताए।

पूर्ण खोप घोषणाका लागि सहयोग र साथ दिने १० पालिकाका १ सय २० जनालाई सो अवसरमा सम्मानित समेत गरिएको थियो। कार्यक्रममा शुद्धोधन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीलगायतले मन्तव्य दिएका थिए।

प्रकाशित: १६ असार २०८३ २०:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App