१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

चितवनमा जापानीज इन्सेफलाइटिसबाट भएको मृत्युदर ३५ प्रतिशत

चितवनमा जापानीज इन्सेफलाइटिस सङ्क्रमितमध्ये ३५ प्रतिशत बिरामीको मृत्यु भएको छ । जिल्लामा सङ्क्रमण देखिएका १७ जनामध्ये छ जनाको मृत्यु भएको हो ।  

जनस्वास्थ्य कार्यालय चितवनका अनुसार साउन यता चितवनमा १० जना महिला र सातजना पुरुष गरी १७ जनालाई जापानीज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको थियो । मृत्यु हुनेमा अधिकांश ज्येष्ठ नागरिक रहेको जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए ।  

मुत्यु हुनेमा ८९, ८१, ७०, ४२ र ३९ उमेर समूहका नागरिक छन् । भरतपुर महानगरपालिका र राप्ती नगरपालिकामा समान दुई/दुई जना तथा खैरहनी र कालिका नगरपालिकाका एक/एक जनाको मृत्यु भएको उनले जानकारी दिए ।  

जापानीज इन्सेफलाइटिस सङ्क्रमित पनि सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सात जना रहेका छन् । त्यस्तै खैरहनीमा चार जना, राप्तीमा दुई जना, कालिकामा दुई जना, माडी र रत्ननगरमा एक/एक जनामा सङ्क्रमण पुष्टि भएको केसीले बताए ।  

‘सङ्क्रमित मध्ये १५ वर्षमुनिका तीन जना, १५ देखि ६० वर्ष उमेर समूहका पाँच जना र ६० वर्षभन्दा माथिका नौ जना रहेका छन्,’ उनले भने  ‘सङ्क्रमितमध्ये १५ जनाले खोप लगाएका छैनन् । दुई जनाको अवस्था अस्पष्ट छ ।’

जापानीज इन्सेफलाइटिस मस्तिष्कमा सङ्क्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने एक प्रकारको गम्भीर रोग हो । यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ, तर धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिने जनस्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । यद्यपि चितवनमा देखिएका सङ्क्रमितमध्ये अधिकांश बृद्धबृद्धा रहेका छन् । चितवनमा मृत्युदर पनि उच्च छ ।  

‘विश्वमा सङ्क्रमितमध्ये एक तिहाईको मृत्यु हुने तथ्यांक छ,’ जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले भने ‘एक तिहाईको मृत्यु हुन्छ, एक तिहाई निको हुन्छन् र एक तिहाई मानिसमा विभिन्न दीर्घरोग देखिन्छ ।’  

चितवनमा असोज १२ गते मृत्यु भएकी महिलालाई डेढ महिना अघि नै सङ्क्रमण देखिएको थियो । उपचार पश्चात निको भएर घर गएकी उनको मृत्यु भएको रुपाखेतीले जानकारी दिए ।  

हाँस, कुखुरा, चरा जस्ता पंक्षी तथा सुंगुर, बुङ्गुर जस्ता जनावरलाई टोकेको सङ्क्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग सार्दछ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन । अहिले बिरामीको अवस्था बुझ्नको लागि विश्व स्वास्थ्य सङ्गटन (डब्लुएचओ)को टोली चितवनमा खटिएको रुपाखेतीले जानकारी दिए । जापानीज इन्सेफलाइटिसको परीक्षण चितवनमा हुँदैन ।  

चितवनबाट काठमाडौंको टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य परीक्षण प्रयोगशालामा नै पठाउने गरिएको छ । जसका कारण रिपोर्ट आउन एक सातासम्म लाग्ने गरेको छ ।  

जिल्लामा रोग देखिएपछि जापानीज इन्सेपलाइटिसको विरुद्धमा जनचेतनामूलक कार्यक्रम गरिएको उनले जानकारी दिए । यद्यपि जेनजी आन्दोलनपछि भने जनचेतनामूलक कार्यक्रम अगाडि बढाउन नसकिएको रुपाखेतीको भनाइ छ । जापानीज इन्सेपलाइटिस क्युलेक्स नामको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । यी लामखुट्टेहरु माध्यम आकारका, खैरो रंगको र पेटतिर भने सेतो चिन्हहरु भएका हुन्छन् । तीनले प्रायः घाम ढल्केपछि र अँध्यारो भएपछि टोक्ने गर्दछ । विशेषगरी धानबालीमा जमेको पानी यस लामखुट्टेको प्रमुख बासस्थान रहेको उनले बताए ।  

साउन, भदौ र असोजमा जापानीज इन्सेपलाइटिसका बढी देखिने गरेको छ । यस रोगबाट बढीजसो धेरै व्यक्तिहरु गम्भीर बिरामी नहुने गरेपनि केहीको गम्भीर अवस्था सृजना भई दिमागलाई नै असर गरी मृत्यु हुने गरेको चिकित्सकको भनाई छ । यस रोग लाग्दा धेरै जसोलाई ज्वरो, झाडा पखाला, बान्ता, थकित हुने, गर्धन दुख्ने, घाँटी दरो हुने, टाउको दुखाई वा कमजोरी हुने उनले बताए । तर, कुनै सङ्क्रमित व्यक्तिमा कुनैपनि लक्षण नदेखिनेसमेत उनको भनाइ छ ।  

उनका अनुसार यो रोग प्राण घातक रोग हो । यसले छारेरोग, प्यारालाइसिस र अचेत हुनु पनि हुने उनले बताए । खोपको प्रयोगबाट जापानीज इन्सेफलाइटिसको रोकथाम हुन्छ । साथै लामखुट्टेको टोकाइबाट जोगिने र लामखुट्टेको प्रजननको रोकथाम गर्नुपर्ने उनले बताए । कुनै खतराको लक्षण देखिएमा भने तुरुन्तै अस्पताल जान उनले सुझाव दिए ।  

सरकारले जापानीज इन्सेफलाइटिस रोकथामका लागि दुई वर्षमुनिका बालबालिकामा दुई पटकसम्म खोप लगाउने गरेको छ । १३ वर्षअघि सरकारले १५ वर्षमुनिका बालबालिकालाई पनि खोप अभियान सञ्चालन गरेको थियो । आजभोलि यस्ता अभियान सञ्चालन हुन सकेका छैनन् ।  

 

प्रकाशित: २३ आश्विन २०८२ १६:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App