तात्दै गरेको विश्वमा तातोलहर र गर्मीका कारण वर्षेनी पाँच लाख ४६ हजारको मृत्यु हुने गरेको पाइएको छ । यो हिसाबले जलवायु परिवर्तनका कारण बढेको गर्मीले झण्डै हरेक एक मिनेटमा एक जनाको मृत्यु हुने देखिएको छ । विश्वका ७१ शैक्षिक संस्थासँग आवद्ध १२८ अनुसन्धानकर्ताले तयार गरेको यो प्रतिवेदनले जलवायु निष्क्रियताले विश्वमा लाखौको ज्यान गइरहेको र स्वास्थ केन्द्रित जलवायु कार्य तत्काल आवश्यक रहेको औल्याएको छ ।
वैज्ञानिक जर्नल ल्यान्सेटमा बुधबार सार्वजनिक गरिएको प्रतिवेदनका अनुसार सन् १९९० को दशकयता गर्मीका कारण र जोखिममा रहेको समुदयाको जनसंख्या वृद्धिका कारण विश्वव्यापी मृत्यु दरमा ६३ प्रतिशतले बढोत्तरी भएको छ । प्रतिवेदनले ‘यो सबै घट्ना जलवायु परिवर्तन बिना सम्भव हुने थिएनन्’ भनेको छ ।
प्रतिवेदनका अनुसार सन् २०२४ मा विश्वका प्रत्येक सर्वसाधारणले औसतमा १६ दिन खतरनाक गर्मी सामना गरेका थिए । यसैगरी सन् २०२४मा बालबालिका र वृद्धहरूले प्रतिव्यक्ति औसत २० भन्दा धेरै तातोलहर(हीटवेभ)का दिनहरु झेलेका थिए । जुन विगत २० वर्षमा चार गुणाले बढेको छ ।
विश्व स्वास्थ्य संगठन र अन्य विश्वव्यापी साझेदारहरूले बुधबार प्रकाशन गरेको ‘ल्यान्सेट काउन्टडाउन अन हेल्थ एण्ड क्लाइमेट चेन्ज–२०२५’नामक प्रतिवेदनका अनुसार जीवाश्म इन्धनप्रतिको अत्यधिक निर्भरता र तात्दै गरेको विश्वमा अनुकूलित हुन नसक्दा मानव स्वास्थ्यमा ‘भयानक असर’ परिरहेको छ ।
प्रतिवेदनका अनुसार सन् १९६१ देखि १९९० सम्मको अवधिको तुलनामा सन् २०१५ देखि २०२४ को समयमा अत्यधिक वर्षा हुने दिनहरु विश्वका ६४ प्रतिशत जमिनी भूभागमा विस्तार भएकोछ । अत्यधिक वर्षा स्वास्थ चुनौतीदेखि बाढी र पहिरोका लागि जिम्मेवार मानिन्छ । यसैगरी सन् २०२४ मा विश्वको कुल भूभागको ६१ प्रतिशत क्षेत्र खडेरीबाट प्रभावित रहेको र यो सन् १९५० को दशकको औसतको तुलनामा तीन गुणाले बढेको देखिएकोछ । यसैगरी, वन डढेलोबाट निस्कने धुवाँबाट सन् २०२४ मा सर्वाधिक १ लाख ५४ हजारको मृत्यु भएकोछ । यसैगरी लामखुटे्का लागि तातो र भिजेको वातावरण अनुकुलन हुने हुँदा विश्वमा डेंगुको जोखिम बढेको पाइएको छ । प्रतिवेदनका अनुसार सन १९५० को दशकयता डेंगु संक्रमणको सम्भावना करिब ५० प्रतिशतले बढेको छ ।
‘यसले देखाउँछ जलवायु निष्क्रियताले लाखौको ज्यान गइरहेको छ । स्वास्थ्य प्रणालीहरूलाई दबाबमा छन् र अर्थतन्त्रहरू कमजोर बन्दैछन,’ प्रतिवेदनमा भनिएको छ ।
प्रतिवेदन सार्वजनिक भएपछि जारी गरिएको एक विज्ञप्तिमा डब्लुएचओका स्वास्थ्य प्रवर्धन तथा रोग रोकथाम विषयका सहायक महानिर्देशक डा. जेरेमी फ्यारारले भनेका छन्, ‘जलवायु संकट भनेको स्वास्थ्य संकट हो। तापक्रमको प्रत्येक अंश वृद्धिले ज्यान र जीविकोपार्जनमा ठूलो मूल्य चुकाउँनु पर्ने हुन्छ ।’
विश्वका अधिकांश देशमा भइरहेको यो मृत्युको लागि जलवायु निष्क्रियता जिम्मेवार रहेको र र जलवायु कार्य नै वर्तमानको सबैभन्दा ठूलो स्वास्थ्य अवसर रहेको उनको भनाई छ । ‘सफा हावा, स्वस्थ आहार, र मजबुत स्वास्थ्य प्रणाली मार्फत हामीले लाखौं ज्यान बचाउन सक्छौ र वर्तमान तथा आगामी पुस्तालाई सुरक्षित गर्न सक्छौ,’ उनले भनेका छन् ।
प्रतिवेदनका अनुसार सन् २०२३ मा खडेरी र तातो लहरका कारण थप १२ करोड ४० लाख मानिसहरू मध्यम वा गम्भीर खाद्य असुरक्षाको चपेटामा धकेलिएका थिए । यसैगरी, सन् २०२४ मा गर्मीका कारण श्रम सम्बन्धी ६४० अर्ब कार्य घण्टा गुमेको थियो, जसका कारण उत्पादकत्वमा १.०९ ट्रिलियन अमेरिकी डलर बराबरको नोक्सानी भएको छ । यसैगरी वृद्धहरूको गर्मीका कारण हुने मृत्युको लागत २६१ अर्ब डलर पुगेको प्रतिवेदनको आँकलन छ।
यसो हुँदाहुदै पनि विश्वका सरकारले जीवाश्म इन्धन सहुलितय जाख्दै जिवाश्म इन्धनमा गर्ने खर्चलाई गरिरहेका छन् । प्रतिवेदनका अनुसार सन् २०२३ मा विश्वका सरकारले जीवाश्म इन्धनमा ९५६ अर्ब अमेरिकी डलर सहुलियत दिएका थिए । जबकी यो रकम जलवायु–संवेदनशील देशहरूलाई प्रतिवर्ष दिने भनेर वाचा गरिएको जलवायु सहयोगको तीन गुणा बढी हो । विश्वका १५ देशले आफ्नो सम्पूर्ण राष्ट्रिय स्वास्थ्य बजेटभन्दा बढी जीवाश्म इन्धनमा खर्च गरेका छन् ।
जलवायु कार्यका फाइदाहरुको चर्चा गर्दै प्रतिवेदनले विश्वमा सन् २०१० देखि २०२२ सम्म हरेक वर्ष कोइला–आधारित वायु प्रदूषण घट्दा अनुमानित १.६ लाख अकाल मृत्यु टरेको औल्याएको छ । हाल विश्व ऊर्जा उत्पादनमा नवीकरणीय ऊर्जाको हिस्सा १२ प्रतिशत पुगेको छ र यसले १.६ करोड बराबरको रोजगारी सिर्जना गरेको छ।
लन्डन विश्वविद्यालयकी ल्यान्सेट काउन्टडाउनकी कार्यकारी निर्देशक डा. मारिना रोमानेलोले ‘जलवायु विपत्ति रोक्ने दिशामा विश्वसँग असल अभ्यास रहेको र विश्वभरका समुदाय र स्थानीय सरकारहरूले प्रगति सम्भव छ भन्ने प्रमाण दिइरहेको’ बताएकी छन् ।
स्वच्छ ऊर्जा विस्तारदेखि शहरी अनुकूलनका कार्य सुरु भइसकेका र तीनले वास्तविक स्वास्थ्य लाभ दिइरहेका उनको भनाई छ ।
‘तर हामीले यो गति कायम राख्न आवश्यक छ। जीवाश्म इन्धनलाई छिटो हटाएर नवीकरणीय ऊर्जामा रूपान्तरण गर्नु जलवायु परिवर्तन रोक्ने सबैभन्दा शक्तिशाली उपाय हो । साथै, स्वस्थ र जलवायु–मैत्री आहारतर्फ रूपान्तरण र दिगो कृषि प्रणालीले प्रदूषण, हरितगृह ग्याँस र वन विनाश घटाएर हरेक वर्ष १ करोडभन्दा बढी ज्यान बचाउन सक्छ,’ उनले भनेकी छन् ।
स्वास्थ्य–उन्मुख जलवायु कार्यको चर्चा गर्दै विश्वका केही सरकारले जलवायु प्रतिबद्धतामा ढिलाइ गरे पनि शहरहरु, समुदायहरू र स्वास्थ्य क्षेत्रले यसको नेतृत्व गरिरहेका प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनका अनुसार विश्वका ८५८ मध्ये ८३४ शहरहरूले जलवायु जोखिम मूल्याङ्कन पूरा गरेका वा गर्न योजना बनाएका छन्। विश्वमा हाल भैरहेको ऊर्जा रूपान्तरणले सफा हावा, स्वस्थ रोजगार, आर्थिक वृद्धि र लगानी बढाइरहेको छ ।
सन् २०२१ देखि २०२२ सम्म स्वास्थ्य क्षेत्रबाट हुने हरितगृह ग्याँस उत्सर्जन विश्वव्यापी रूपमा १६ प्रतिशतले घटेको छ, र उपचार सेवाको गुणस्तर सुध्रिनुले स्वास्थ्य क्षेत्र आफैंले पनि नेतृत्वदायी भूमिका देखाएको प्रतिवेदनमा उल्लेख छ ।
डब्लुएचओ तथ्यांक अनुसार,स्वास्थ्य प्रणालीहरूले जोखिम मूल्याकन गर्दै खतरनाक भविष्यका लागि तयारी गरिरहेका छन्। विश्वका ५८ प्रतिशत सदस्य राष्ट्रहरूले ‘स्वास्थ्य जोखिम तथा अनुकूलन मूल्याकन’ पूरा गरेका छन् र ६० प्रतिशत ले ‘राष्ट्रिय स्वास्थ्य अनुकूलन योजना’ तयार पारेका छन् ।
अर्को सातादेखि ब्राजिलका बेलेमा संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलन(कोप ३०) हुन लागेको सन्दर्भमा ल्यान्सेट प्रतिवेदनले स्वास्थ्य–केन्द्रित जलवायु कार्य तीव्र बनाउन प्रमाणिक आधार उपलब्ध गराउने अपेक्षा गरिएको छ । ल्यान्सेट काउन्टडाउन परियोजना लन्डन विश्वविद्यालयको नेतृत्वमा डब्लुएचओ र विश्वका ७१ शैक्षिक संस्था तथा संयुक्त राष्ट्रका निकायसँग सहकार्यमा विगत ९ वर्षदेखि कार्यान्वयनमा छ । यो प्रतिवेदन सोही परियोजना अन्तर्गत प्रकाशित भएको हो ।
प्रकाशित: १२ कार्तिक २०८२ १४:४६ बुधबार





