१३ श्रावण २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको ध्यानाकर्षण

वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक डा प्रमोद राममाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनापछि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा ठप्प पारिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थलगत अनुगमनका क्रममा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र अस्पतालमा हुने तोडफोडका घटना निन्दनीय भएको तथा यस्ता गतिविधिले समाजमा अराजकता बढाउने उल्लेख गरेको छ। 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा घटनाको विरोधस्वरूप सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुँदा सर्वसाधारण नागरिक संविधानको धारा ३५ ले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक अधिकारबाट वञ्चित हुनुपरेको उल्लेख गरिएको छ।

आयोगले चिकित्सकमाथि आक्रमणमा संलग्न दोषीहरूको तत्काल निष्पक्ष छानबिन गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। साथै, स्वास्थ्यजस्तो अत्यावश्यक सेवा अवरुद्ध हुँदा लाखौँ नागरिकको जीवन र स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले आन्दोलनरत चिकित्सक तथा सम्बन्धित पक्षलाई तत्काल स्वास्थ्य सेवा सुचारु गर्न आग्रह गरेको छ। 

आयोगले आफ्ना माग राख्ने वा विरोध जनाउने क्रममा नागरिकको स्वास्थ्य अधिकारमा असर नपर्ने वैकल्पिक उपाय अपनाउन तथा वार्ता र संवादमार्फत समस्याको समाधान खोज्न सरकार, चिकित्सक, मृतकका परिवार र सम्बन्धित सबै पक्षलाई आह्वान गरेको छ। 

प्रकाशित: १२ श्रावण २०८३ १७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App