२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्य संस्थामा बेथिति: म्याद गुज्रिएका करोडौंका औषधि मौज्दात, महँगा उपकरण प्रयोगविहीन

महालेखापरीक्षकको कार्यालयले विभिन्न सरकारी अस्पतालमा म्याद गुज्रिएका ९ करोड रुपैयाँबराबरका औषधि भएकाले प्रतिस्थापन गर्न भनेको छ । त्यस्तै उसले करोडौं रुपैयाँ स्वास्थ्य उपकरण पनि प्रयोगमा नल्याइएकाले प्रभावकारी प्रयोगमा ल्याउन सुझाएको छ।

म्याद सकिएका ती औषधि आपूर्तिकर्ताबाट प्रतिस्थापन नगरी लामो समयदेखि अस्पतालमै राखिएका हुन् । प्रयोगमा आउन सक्ने उपकरण पनि थन्काएर राखिएका हुन् । सरकारी अस्पतालमा भएको यस्तो बेथितिबाट राज्यलाई ठुलो आर्थिक भार परेको छ।

महालेखापरीक्षकको कार्यालयको ६३औं संक्षिप्त प्रतिवेदनमा सरकारी अस्पताल/स्वास्थ्य संस्थालाई म्याद सकिएका औषधिको खरिद सम्झौता सर्तअनुसार आपूर्तिकर्ताबाट प्रतिस्थापन गर्न र प्रयोगमा नल्याइएका उपकरणको लगत तयार गरी प्रयोगमा ल्याउन भनिएको छ।

स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरिद गरेका ४ करोड ७२ लाख २० हजार रुपैयाँ बराबरका २८ प्रकारका, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले खरिद गरेका ४७ लाख ७० हजार रुपैयाँबराबरका ६ प्रकारका र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) ले खरिद गरेका १ करोड ४३ लाख ७५ हजार रुपैया बराबरका ६०१ थरीका औषधि र किटजन्य सामानको म्याद सकिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गरेका १ करोड १९ लाख ९६ हजार रुपैयाँबराबरका, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले किनेका १ करोड २३ लाख ५६ हजार रुपैयाबराबरका औषधि र किटजन्य मालसामान म्याद समाप्त भइ प्रयोगमा आउन नसक्ने अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी प्रतिवेदनमा राष्ट्रिय ट्रमा सेन्टरमा ५ करोड ३७ लाख ८२ हजार रुपैयाँ मूल्यको क्याथल्याब मेसिन दक्ष जनशक्तिको अभावमा २०७२ देखि उपयोगविहीन अवस्थामा रहेको उल्लेख छ । यसैगरी सेन्टरमै २४ करोड ७७ लाख ९ हजार मूल्यका सीटी स्क्यान सिस्टम, १४ थान भेन्टिलेटर र ५ थान सी आर्म मेसिन पनि प्रयोगविहीन अवस्थामा छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ७२ लाख ६० हजार मूल्यका ५ थान लिड इसिजी उपकरण र केबुल ३०० सेट प्रयोगवीहीन अवस्थामा छन्।

 प्रतिवेदनअनुसार गजेन्द्र नारायण सिंह अस्पतालमा ४ करोड ९० लाख ९५ हजार मूल्यका एक्स रे मेसिन, इण्डो युरोलोजी सेट, ल्याप्रोस्कोपी सिस्टम, एनेस्थेसिया मेसिन तथा इलेक्ट्रोकार्डियोलोजीलगायत उपकरण, सिंहदरबार वैद्यखाना विकास समितिमा सिंगल रोटरी ट्याब्लेटिङ मेसिन, एयर कम्प्रेसर, इन्कजेट कोडर, डबल कोन ब्लेन्डर, अटोमेटिक हाइस्पिड लेबलिङ मेसिन, ब्वायलर, क्लोड मिल, इलेक्ट्रिक ट्रे ड्रायर, रोटरी रनर खल, अटोमेटिक क्याप्सुल फिल मेसिन तथा पाउडर फिलिङ मेसिनलगायत ६० प्रकारका उपकरण प्रयोगविहीन अवस्थामा छन्। नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सिटी स्क्यान मेसिन, १.५ टेसलाको एमआरआई मेसिन पनि प्रयोगविहीन अवस्थामा रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै स्वास्थ्य सेवा विभागले विभिन्न समयमा खरिद गरेका ६ करोड ५३ लाख ९९ हजार रुपैयाँबराबरका १ हजार ३३६ इलेक्ट्रोनिक वेट स्केल (मदर/चाइल्ड) तथा २ करोड ४२ लाख ५४ हजार रुपैयाँबराबरका ७ प्रकारका १३३ थान मेसिन/उपकरण प्रयोगविहीन अवस्थामा छन् । यसैगरी बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थापनाकालदेखि क्यान्सर उपचारमा प्रयोग हुँदै आएको टेलिथेरापी मेसिन ४ वर्षदेखि पूर्णरूपमा उपयोगविहीन अवस्थामा छ । उक्त मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिँदै गए पनि विकिरणको जोखिम कायमै रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनमा सुझाइएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य संस्थामा रहेका उपकरणको सञ्चालन सम्बन्धमा अनुगमन गरी लगत तयार गर्नुका साथै प्रभावकारी उपयोगको व्यवस्था मिलाउनुपर्छ।

प्रकाशित: ४ जेष्ठ २०८३ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App