१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

आफूखुसी एन्टिबायोटिक प्रयोग गर्दा हानि

फाइल तस्बिर

तपाईंमा कुनै पनि रोग संक्रमण भएको छ? चिकित्सकको सल्लाहविना सिधै पसलबाट औषधी किनेर प्रयोग गर्नुहुन्छ? केही दिनमै निको भए बिचैमा छाडिदिनुहुन्छ? यस्तो बानी तपाईंका लागि हानिकारक हुन्छ। एन्टिबायोटिकको अनुचित प्रयोग भएमा संक्रमित कीटाणु झनै बलियो हुने र अर्को पटक संक्रमण भए त्यही एन्टिबायोटिकले रोग निको हुँदैन। यसको सट्टा थप कडा एन्टिबायोटिक प्रयोग गर्नुपर्ने हुन्छ।

सबैले यस्तै व्यवहार अपनाउँदै गए पूरै वातावरणमा प्रति जैविक क्षमता बलियो हुन्छ र एन्टिबायोटिकले काम नगर्ने विज्ञहरूले चेतावनी दिएका छन्। सोमबार विश्व एन्टिबायोटिक सचेतना सप्ताहको अन्तिम दिन विज्ञहरूले यस्तो चेतावनी दिएका हुन्। गलत रूपमा एन्टिबायोटिक प्रयोगका कारण जैविक प्रतिरोधी क्षमता बढ्दै गएकाले भविष्यमा एन्टिबायोटिक औषधीकै कमी हुने या उपाय नै नहुने देखिएकोमा उनीहरूले चिन्ता प्रकट गरेका छन्। यसका लागि समयमै हरेक व्यक्ति र निकाय सचेत हुनुपर्ने र नभएमा मानव, पशुपंक्षी र सिंगो वातावरण जोखिममा पर्ने चेतावनी दिए।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि विश्व स्वास्थ्य संगठन नेपाल स्वास्थ्य संकट कार्यक्रमका प्रमुख एलिसन गोकोटेनका अनुसार एन्टिबायोटिकको सही प्रयोग गरेनौँ भनेपछि गएर सानो चोट लागेमा पनि मानिसको मृत्यु हुन सक्छ। एन्टिबायोटिकको गलत असर मानव, पशुपंक्षी र वातावरणमा परेकाले सबै पक्ष सचेत हुन आवश्यक छ। यो समस्याबाट भविष्यमा सुरक्षित हुने हरेक राष्ट्रले आजैबाट नीति तथा कार्यक्रम बनाएर अघि बढ्नुपर्ने उनले सुझाए।

विश्व स्वास्थ्य संगठनकी डा. पल्पसा कंसाकारले जैविक प्रतिरोधको समस्या विश्वमा एक प्रमुख जनस्वास्थ्य समस्याका रूपमा देखा परेको बताइन्। उनका अनुसार विकसित मुलुकको तुलनामा नेपाल तथा दक्षिण एसियाली विकासोन्मुख मुलुकमा एन्टिबायोटिकको अनुचित प्रयोगका कारण जैविक प्रतिरोधी क्षमता (कीटाणुसँग लड्ने क्षमता) वृद्धि भइरहेको पाइएको बताइन्। ‘बलिया कीटाणुको समस्या घरघरमा आइरहेको छ। यो कुनै भूगोलको सिमानाभित्र सीमित छैन’, उनले भनिन्। यो समस्या नेपालमा पनि भयावह बन्दै गइरहेको डा. कंसाकारले बताइन्।

सन् २०१९ ल्यानसेटमा प्रकाशित प्रतिवेदनअनुसार ६ वटा मुख्य रोग लगाउने जीवको ७० प्रतिशत जैविक प्रतिरोधी समस्याका कारण मृत्यु हुने गरेको छ। एन्टिबायोटिकको उचित प्रयोग नभएमा सन् २०५० सम्ममा एन्टिबायोटिक प्रतिरोधका कारण संक्रमण भई नवजात शिशुको मृत्यु, भोकमरी, गरिबी र मृत्युको स्थिति भयावह हुने प्रतिवेदनले औँल्याएको छ। यो समस्या नियन्त्रणका लागि सन् २०३० सम्ममा विश्वभरि शतप्रतिशत सफा पानीको व्यवस्थापन हुनुपर्ने, ९० प्रतिशत राष्ट्रले विश्व स्वास्थ्य संगठन संक्रमण नियन्त्रण गर्नुपर्ने, वातावरणमा जैविक प्रतिरोधको फैलावट रोक्नुपर्ने जनाएको छ।

नेपालमा एन्टिबायोटिकको प्रतिरोधी क्षमता कीटाणुमा बढिरहेका कारण संक्रमण उपचारमा चुनौती बढेको डा. कंसाकारले औँल्याइन्। अस्पतालजन्य संक्रमण अर्को चुनौती बनेको पनि उनको भनाइ छ। शल्यक्रियामा पुगेका, अंग प्रत्यारोपण भएका र लामो समयदेखि उपचार गराइरहेका बिरामीमा यस्तो संक्रमणको प्रभाव देखिन्छ, जसका कारण बर्सेनि धेरैको मृत्यु हुने गरेको डा. कंसाकारले बताइन्। समयमै एन्टिबायोटिकको अनुचित प्रयोग नियन्त्रण हुन नसकेमा भविष्यमा एन्टिबायोटिक नै नपाइने र पाइहालेमा किन्न नसक्ने स्थिति आउने देखिन्छ।

डा. कंसाकारका अनुसार धेरै एन्टिबायोेटिकमा प्रतिरोध विकास भइसकेको, विगत ३० वर्षदेखि नयाँ एन्टिबायोटिक उत्पादन हुन नसकेकाले सीमित संख्यामा मात्र एन्टिबायोटिक पाइन्छ। ती एन्टिबायोटिक पनि अनुचित प्रयोग भएमा कीटाणुविरुद्ध काम नगरी भविष्यमा मानव संकटमा पर्ने सम्भावना छ। यसकारण आजैबाट सबै राष्ट्रले एन्टिबायोटिकको उचित प्रयोगमा नीति तथा योजना बनाई तुरुन्तै लागु गर्नुपर्ने स्थिति आएको बताइन्।

सोही क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधी गुणस्तर तथा नियमन विभागकी वरिष्ठ प्रशासक उषा तण्डुकारका विचारमा नेपालले विभिन्न निकायको भूमिका हुने गरी नीति तथा नियम र जिम्मेवारी बनाइसकेको बताइन्। कृषि, स्वास्थ्य तथा वातावरण मन्त्रालयको समन्वयमा क्षेत्रगत जिम्मेवारी बहन हुने गरी ऐन निर्माण भई नीतिगत व्यवस्था भई जैविक प्रतिरोधी नियन्त्रण कार्यक्रम अघि बढेको जानकारी दिइन्। यसका लागि स्वास्थ्य संस्थालाई तालिम, नागरिकको हकमा सचेतना अभियान, नियमन जस्ता कार्यक्रम भइरहेको तण्डुकारले बताइन्। ‘कुनै एउटा निकायबाट नियन्त्रण सम्भव छैन। सबै निकाय जबाफदेही भएमा मात्र सम्भव छ’, उनले भनिन्।

एन्टिबायोटिकको उचित प्रयोग गरौँ
चिकित्सकको सिफारिसमा मात्र एन्टिबायोटिक प्रयोग गर्ने, सकेसम्म एन्टिबायोटिक प्रयोग नगर्ने, आफूले प्रयोग गर्दागर्दै बाँकी रहेको एन्टिबायोटिक अरूलाई नदिने, संक्रमणबाट बच्न हातको सफाइ, सम्पर्कबाट टाढा बस्ने, संक्रमणजन्य रोगविरुद्ध खोप लिने, सुरक्षित यौन सम्पर्कको अभ्यास गर्ने, सफा खानपानमा ध्यान दिई कुनै पनि संक्रमणबाट बचौँ। कारणवश संक्रमण भएमा चिकित्सकको निगरानीमा मात्र एन्टिबायोटिक प्रयोग गरौँ।

प्रकाशित: ९ मंसिर २०८२ ०८:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App