सरकारी अस्पतालका ओपीडी सेवा फेरि आइतबार बन्द हुने भएका छन्। सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरेसँगै सरकारी अस्पतालमा आइतबार बिदा कायम गरिएको हो।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन बिदाका कारण बिरामी मर्कामा पर्न सक्ने भन्दै अस्पतालहरूलाई आइतबार पनि ओपीडी सेवा सञ्चालन गर्न आग्रह गरेको थियो। तर चिकित्सक संघले आइतबार ओपीडी सञ्चालन गर्न नसकिने बताएपछि मन्त्रालयले पुरानै व्यवस्था कायम गरेको हो।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा दुई दिन सार्वजनिक बिदा कार्यान्वयन भए पनि स्वास्थ्य सेवामा कुनै अवरोध नहुने जनाएको छ। अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न आकस्मिक तथा अन्तरंग सेवा भने २४सै घण्टा यथावत सञ्चालन रहने उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार आइतबारका लागि पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायत सेवा बिरामीको सहजतालाई ध्यानमा राखी पुनः तालिका मिलाइनेछ।
त्यस्तै, सेवा उपलब्ध नभएको अवस्थामा बिरामीलाई नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रिफर गरिने तथा एम्बुलेन्स सेवा सधैं तयारी अवस्थामा राखिने जनाएको छ।
बिदाका दिनमा पनि स्वास्थ्य सेवा प्रभावित नहोस् भनेर अस्पतालहरूलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ। साथै उपलब्ध सेवाबारे जानकारी वेबसाइट तथा सूचना पाटीमार्फत सर्वसाधारणलाई उपलब्ध गराउन आग्रह गरिएको छ।
प्रकाशित: ४ वैशाख २०८३ १६:३७ शुक्रबार




