सुनसरी घटनलाई लिएर तराईंका विभिन्न जिल्लामा प्रदर्शन सुरु भएपछि पर्सा प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शैलेन्द्र दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम आदेश जारी गरिएको जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रको सीमा पूर्वमा प्रतिमा चोक हुँदै बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।
प्रकाशित: १४ श्रावण २०८३ १७:३९ बिहीबार



-600x400.jpg)

