१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

देवानगञ्ज घटना: मृतकलाई शहीद घोषणा गर्न सिफारिस गरिने

गाउँपालिकाले मृतक परिवारलाई राहतस्वरूप १०/१० लाख रुपैयाँ दिने

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका व्यक्तिलाई शहीद घोषणा गर्न सिफारिस गरिने भएको छ। यस्तै घाइतेलाई क्षतिपूर्ति दिने गरी प्रक्रिया अघि बढाइने भएको छ।  

बिहीबार जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको सर्वदलीय बैठकले मृतकलाई शहीद घोषणा गर्न र घाइतेलाई क्षतिपूर्ति उपलब्ध गराउन संघीय सरकारसमक्ष माग गर्ने सहमति गरेको छ।

सर्वदलीय बैठकमा जिल्ला समन्वय समिति सुनसरीका संयोजक राजन मेहताले छानबिन समितिले काम पूरा गर्नुअघि नै सरकारले मृतकलाई शहीद घोषणा र घाइतेलाई क्षतिपूर्ति दिएमा घटना साम्य हुने आशा व्यक्त गरे। उनको प्रस्तावलाई राजनीतिक दलका नेता, सांसद तथा स्थानीय तहका प्रमुखहरूले समर्थन गरेका थिए।

यस्तै, देवानगञ्ज गाउँपालिकाले पनि मृतकका परिवारलाई शहीद घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गरेको छ। गाउँपालिकाले मृतक परिवारलाई राहतस्वरूप १०/१० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ।

साथै, गम्भीर घाइतेलाई जनही दुई लाख रुपैयाँ र सामान्य घाइतेलाई पाँच/पाँच हजार रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष वेचन मेहताले जानकारी दिएका छन्।

गाउँपालिका बैठकले वडा नं. ३ को कार्यवाहक अध्यक्षमा ज्येष्ठ सदस्य रामबहादुर महत्तोलाई तोक्ने निर्णय गरेको छ।

प्रकाशित: १४ श्रावण २०८३ २०:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App