केही वर्ष पहिलेसम्म भक्तपुर क्यान्सर अस्पतालमा स्तन क्यान्सरको शल्यक्रियामा पुरै स्तन निकाल्थे । पछिल्लो समय उपचारमा फ्रोजन बायोप्सी सेवा सक्रिय भएपछि स्तनको आवश्यक भाग मात्र निकाल्ने गरेको अस्पतालका अन्को–सर्जन डा. उत्सवमान श्रेष्ठले बताए । उनले भने, ‘पहिला जस्तो पुरै स्तन काटेर फाल्दैनौ, जति आवश्यक छ, त्यति मात्र निकाल्ने हो।’
अस्पतालले स्तन क्यान्सरकै सर्जरी गर्न तीन वर्ष अघि प्रयोगशालामा फ्रोजन बायोप्सी परीक्षण सुरु गरेको हो । यो बायोप्सी प्रक्रियामा चिकित्सकले स्तनको शल्यक्रिया गर्दागर्दै क्यान्सर भएको भागको मासु निकालेर परीक्षण गर्न पठाउँछन, यो परीक्षणमा १५देखि ४० मिनेटभित्रमा रिपोर्ट आउँछ । यो परीक्षणले क्यान्सरले थप भागमा क्यान्सर फैलिएको छ या छैन भन्ने थाहा हुन्छ । स्तनको अन्य भागमा पनि क्यान्सर फैलिएको छ भन्ने रिपोर्टमा देखियो भने पुरै स्तन शल्यक्रिया गरी निकालिन्छ ।
फैलिएको छैन भन्ने रिपोर्ट आएमा आवश्यक भाग मात्र निकालिन्छ । निकालेको मासुको टुक्राको रिपोर्ट आउन्जेल बिरामीलाई अप्रेशन थिएटरमै राखिन्छ । रिपोर्ट आएपछि सो अनुसार शल्यक्रिया गरिन्छ । यस्तो गर्दा बिरामीको पटक–पटक शल्यक्रिया गर्नु नपर्ने र अनावश्यक स्तन काटेर फाल्नु नपर्ने हुनाले बिरामीलाई उपयोगी मानिएको छ ।
यो सेवा नेपालमा एक दशक अघिदेखि नै सीमित अस्पतालमा भएपनि पछिल्लो समय क्यान्सर उपचारमा संलग्न अस्पतालले फ्रोजन बायोप्सी गर्दै शल्यक्रिया गर्न थालेका हुन ।
‘यो रिपोर्ट अनुसार शल्यक्रिया गर्दा पुरै भाग फाल्नु नपरोस भन्ने मुख्य उद्देश्य हो’ डा. श्रेष्ठले भने । यो सेवा हाल भरतपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल क्यान्सर अस्पताललगायतमा उपलब्ध छ ।
रिपोर्ट अनुसार आवश्यक भाग मात्र फाल्दा बिरामीलाई लाभ मिल्ने चिकित्सक बताउँछन । महिलाहरुको लागि स्तन सौन्दर्य र काँधको सन्तुलन राख्न आवश्यक पर्छ । पुरै स्तन काटेमा बिरामीमा पछि गएर अपाङ्गता भएको हीनताबोध हुने, स्तन फालिएतिरको काँधको सन्तुलन बिग्रिने जस्ता समस्या देखिन्छ । ‘महिलाको शरीरको सन्तुलन बिगिन्छ’ डा. श्रेष्ठले भने । एउटा पुरै स्तन निकालिएको महिलाहरुमा पछि गएर हातको कुम बांगिने गरेको पाइएको श्रेष्ठले बताए ।
प्रकाशित: ३१ आश्विन २०८२ १५:०१ शुक्रबार





