ताप्लेजुङमा पछिल्लो तीन सातायता डेंगी संक्रमित फेला नपरे पनि सावधानी अपनाउन भने छाड्नु नहुने स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् ।
ताप्लेजुङ जिल्ला अस्पतालका ल्याब टेक्निसियन नोगेन चौधरीका अनुसार गत साउन १८ गते देखि यहाँ डेंगी संक्रमित फेला परेका छैनन् । उक्त दिनसम्ममा ३ जना डेंगी संक्रमित फेला परे पनि सो भन्दा पछि भने संक्रमित फेला नपरेको चौधरीले जानकारी दिए ।
ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एमडीजिपी डाक्टर प्रनाम जयरुले डेंगी संक्रमण फेला परेनन् भनेर हेलचेक्र्याइँ गर्ने छुट भने कसैलाई नभएको बताए । ‘सावधान बन्ने र सर्तकर्ता अपनाउने हो भने डेंगी संक्रमणबाट बच्न सकिन्छ’ जयरुले भने । डेंगी संक्रमणबाट बच्न प्रत्येक व्यक्तिले सुरक्षाका न्यूनतम उपायहरू आत्मसाथ गर्न सक्नुपर्ने जयरुको भनाई छ । डेंगी लामखुट्टेबाट सर्ने भाइरल संक्रमण वा रोग हो ।
डेंगीका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी र जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ । डेंगी एडिस लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो संक्रमण फ्लेविविरिडे परिवार– डीईएनवी १, डीईएनवी २ डीईएनवी ३ र डीईएनवी–४ को भाइरसको सेरोटाइपको कारणले हुन्छ । तर यी भाइरस १० दिनभन्दा बढी बाँच्दैनन् । जब डेंगी संक्रमण गम्भीर हुन्छ, डेंगी रक्तस्राव ज्वरो वा हेमोरेजिक ज्वरो वा डीएचएफ हुने जोखिम बढ्छ । यसले अत्यधिक रक्तस्राव भई पीडितको मृत्युसमेत हुन सक्छ । डीएचएफलाई डेंगीशक सिन्ड्रोम पनि भनिन्छ । अति गम्भीर अवस्थामा तत्काल अस्पताल भर्ना हुन आवश्यक हुन्छ । अन्यथा पीडितको ज्यान पनि जान सक्छ । डेंगीको कुनै खास वा विशेष उपचार उपलब्ध छैन ।
चिकित्सकका अनुसार डेंगी संक्रमणबाट बच्न घर वरपर पानी जम्मा नहुने कुरा सुनिश्चित गर्नुपर्छ । कुलरको पानी परिवर्तन गरिरहनुपर्छ । पानी छोपेर राख्नुपर्छ । पानीमा लामखुट्टेले अण्डा पार्ने भएकोले यो अवस्थामा सुरक्षाका उपाय अपनाउनुपर्छ । खुला पानीको स्रोत छ भने, त्यसलाई छोप्नुपर्छ र उपयुक्त कीटनाशक प्रयोग गर्नुपर्छ ।
प्रकाशित: ५ भाद्र २०८२ १६:४१ बिहीबार





