एकै परिवारका तीन जनाले ज्यान गुमाउने गरी सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहर टोलमा फैलिएको झाडापखाला नियन्त्रणमा आउन थालेको छ।
झाडापखालाबाट प्रभावित ३२ मध्ये २६ जना निको भइसकेको छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवले जानकारी दिए।
झाडापखाला प्रभावितमध्ये ११ जनाको दिसाको नमुना परीक्षण गर्दा (आरडिटी) पाँच जनाको रिपोर्ट पोजेटिभ आएको छ। आरडिटी रिपोर्ट पोजेटिभ (हैजाको जीवाणु) आएपछि नौ जनाको नमुना विस्तृत परीक्षण (कल्चर) का लागि प्रादेशिक प्रयोगशाला जनकपुरधाम पठाइएको यादवले बताए।
‘कल्चर रिपोर्ट अझै आइनसकेकाले बस्तीका मानिसलाई अन्यत्र जान रोक लगाएर उपचार र सावधानीका अन्य उपाय गरिरहेका छौं,’ उनले भने।
सुरुमा २६ जनालाई बट्टा दिएर दिसाको नमुना दिन भनेकोमा ११ जनाले मात्र दिएको यादवले बताए।
‘सुरुमा ९ र पछि दुई गरी ११ जनाको नमुना आरडिटी परीक्षण गर्दा पाँच जनाको रिपोर्ट पोजेटिभ (हैजाको जीवाणु देखिएको अवस्था) आयो,’ उनले भने, ‘अहिले यो बस्तीमा झाडापखाला नियन्त्रणमा आइसकेको छ। ३२ मध्ये २६ जना निको भइसकेका छन्। पाँच जनाको गजेन्द्रनारायण सिंह अस्पताल राजविराज र एक जनाको स्थानीय स्वास्थ्य चौकी लोखरममा स्वास्थ्यकर्मीको निगरानीमा उपचार हुँदै छ। उपचारमा रहेकाहरूको पनि स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ।’
ऐलानी जमिनमा बसोबास गर्दै आएका मुसहरहरूको बस्तीमा खानेपानी, शौचालय र सरसफाइ दयनीय छ। बस्तीका अधिकांश मानिस खुला स्थानमा शौच गर्छन्।
खानेपानीका लागि एउटै चापाकलमा बस्तीका ५० घरधुरी आश्रित छन्। ऐलानीमा रहेको यो विपन्न बस्तीमा फोहोर व्यवस्थापन पनि चुनौतीपूर्ण छ।
अधिकांश फुसका छाप्रोमा पाँच–सात जनाको परिवार कोचिएर बस्न बाध्य छन्। एउटै छाप्रामुनि खानेबस्ने गर्दा सरसफाइ दयनीय छ। गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले पालिकाका अधिकांश सर्वसाधारण आर्थिक रूपमा विपन्न भएको बताए।
उनका अनुसार रोजगारीका लागि पुरुषहरू परदेसिएका छन्। दिल्ली र पन्जाबबाट कमाएर पठाएको पैसाबाट घरपरिवार चल्छ। महिलाहरू कृषिलगायत अन्य मजदुरी गरेर चुलोचौको गर्छन्।
‘भूमि आयोगबाट यो बस्तीका विपन्नलाई लालपुर्जा वितरण गरेर दातृ निकायसँगको सहकार्यमा शौचालय, खानेपानीसहितको पक्की घर बनाइदिने योजना थियो,’ अध्यक्ष चौधरीले नागरिक न्यूजसँग भने, ‘आयोग नै खारेज भएपछि योजना अलपत्र पर्यो। यो बस्तीमा शौचालय, खानेपानी र सफाइ चुनौती रहेको महसुस गरेरै यो योजना बनाएको थिएँ। वैकल्पिक बाटोबाट भए पनि यो बस्तीलाई व्यवस्थित बनाउन पहल गर्नेछु।’
पालिकाको एक्लो स्रोतले मात्र सबै ठाउँमा शौचालय बनाउन सम्भव नभएको उनको भनाइ छ। सबै क्षेत्रमा शौचालय बनाउन दातृ निकायसँग सहकार्य भइरहेकाले चाँडै बन्ने विश्वास उनले व्यक्त गरे। यो बस्तीमा कात्तिक २ गतेबाट सुरु भएको झाडापखालाले ६ गते बुचन सदायका एक वर्षका छोरा सञ्जीव, ११ गते ६६ वर्षीय बुबा लक्ष्मण र १४ गते चार वर्षकी छोरी राघिनीको ज्यान लिएको थियो।
त्यसपछि यो मुसहर बस्तीको झाडापखाला नियन्त्रणमा गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालयको ध्यान तानिएको थियो।
प्रकाशित: १८ कार्तिक २०८२ २१:०६ मंगलबार





