१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
स्वास्थ्य

उपचारको आशामै बित्यो धनबहादुरको एक दशक

तिङ्कर खेडाको साँघुरो सडक। कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र। सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति देख्छन्। यसरी घस्रिएर जीवन धानिरहेका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुन्।

हेर्दा उनको अवस्था जति नाजुक देखिन्छ त्योभन्दा कैयौं गुना पीडा बोकेर उनी एक दशकदेखि शरीर घिसार्दै जीवन धान्दै छन्। अचानक खुट्टा र कम्मरले काम गर्न छाडेपछि उनका शरीर पाङ्ग्रा फुत्किएको गाडीझैं भयो। समयमै उपचार गर्न उनीसँग पैसा थिएन। छोराछोरी सानै थिए। विगत सम्झिँदै उनले भने, “एकाएक कम्मरले काम गर्न छोड्यो। अहिले घर भित्रबाहिर गर्नै गाह्रो छ। अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन।”

विसं २०७१ सालदेखि उनमा अपाङ्गताको समस्या सुरु भएको हो। कम्मरदेखि सुरु भएको समस्या बल्झिंदै गएपछि उनको खुट्टाले काम गर्न छाडे। “त्यतिखेर पैसा भएको भए म उपचारका लागि अस्पताल जान्थेँ होला। उपचार गरेको भए मेरो शरीर चल्थ्यो होला,” गहभरि आँसु पार्दै उनले भने।

अब त उमेरले डाँडो काट्न लाग्यो। यस वर्षको बर्खायामदेखि त बाहिर निस्कन पनि नसक्ने भएका छन्। समस्या झनै जटिल बन्दै गएपछि उनलाई बाहिर निकाल्नै समस्या हुन थालेको उनकी श्रीमती मीना क्षेत्रीले बताइन्। “कहीँ गएर हामीलाई सहयोग गरिदिनुस् भन्न पनि सकेनौं। श्रीमानकाे यो अवस्था देखेर सहयोग गर्ने कोही भएनन्”, उनले भनिन्, “खुट्टाले नटेके पनि हात राम्रा थिए तर तीन चार वर्षयता हातले पनि काम गर्न छाडे।”

परिवार चलाउने बल्लतल्ल एक छोरीले सहयोग गर्न थालेको उनको भनाइ छ। छोरीले अहिले ब्यूटिपार्लर सिकेर सहयोग गर्न सक्ने भएकी छन्। धनबहादूर पूर्ण रूपमा श्रीमती मीनाको सहारामा मात्र बाहिरभित्र गर्न सक्ने अवस्थामा छन्।

उनले अपाङ्गता भत्ताबापत मासिक तीन हजार पाउँछन्। महाकाली नगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ। थप सहयोगका लागि नजिकै सरकारी कार्यालय छैनन्।

राम्रो अस्पतालमा एकपटक पुर्‍याउन सके उमेरले डाँडो काटे पनि अझै अहिलेभन्दा अथवा हुने थियो कि भन्ने क्षेत्री दम्पतीको आशा छ तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पीरले दिनरात उनीहरूलाई पिरोलिरहन्छ। 

प्रकाशित: १० आश्विन २०८२ १३:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App