१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
स्वास्थ्य

चितवनमा जापानी इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

लामखुट्टेको टोकाइबाट बच्न सुझाव

लामखुट्टे ।

जापानी इन्सेफ्लाइटिसको संक्रमणबाट चितवनमा चार जनाले ज्यान गुमाएका छन् । जनस्वास्थ्य कार्यालय चितवनका अनुसार शुक्रबार भरतपुर ७० वर्षीय पुरुषको मृत्यु भएसँगै जापानी इन्सेफ्लाइटिसको संक्रमणबाट मृत्यु हुनेको संख्या चार पुगेको हो । दुई साताको अवधिमा चितवनमा चार जनाको मृत्यु भएको हो ।  

‘साउन महिना सुरुदेखि हालसम्म १३ जना बिरामीमा यसको संक्रमण देखिएको थियो। साउन २३ गतेदेखि आजसम्म चार जनाको मृत्यु भइसकेको छ,’ कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक रामकुमार केसीले भने।  

केसीका अनुसार दुई महिलासहित चार जनाको मृत्यु भएको हो । भरतपुर महानगरपालिकाका २ , कालिका नगरपालिका र राप्तीमा एक/एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षदेखि ८१ वर्षसम्मका छन् ।

कालिका नगरपालिका–५ का ८९ वर्षीय पुरुष, भरतपुर महानगरपालिका–१२ का ८१ वर्षीया महिला र ७० वर्षीया पुरुष र राप्ती नगरपालिका वडा नम्बर १२ की ७० वर्षीया महिलाको जापानी इन्सेफ्लाइटिसको संक्रमणबाट मृत्यु भएको हो ।

चितवनमा अझै ९ जना जापानी इन्सेफ्लाइटिस संक्रमण पुष्टि भएका बिरामी छन् । तीमध्ये दुई बालक र अन्य बिरामी ४० वर्षभन्दा माथिका छन् । भरतपुर महानगरपालिकामा ४, खैरहनीमा ३, कालिका नगरपालिका र राप्ती नगरपालिकामा समान २/२ र  माडी र रत्ननगर नगरपालिकामा १/१ जनामा संक्रमण देखिएको थियो ।  

संक्रमित ९ जना बिरामीको उपचार काठमाडौंका अस्पताल र चितवन मेडिकल कलेजमा भइरहेको केसीले जानकारी दिए ।  

‘संक्रमित बिरामी अहिले जोखिममुक्त छन्,’ केसीले भने, ‘उनीहरूको हामीले नजिकबाट नै नियालेका छौं। केही बिरामी निको भएर एक दुई दिनमा डिस्चार्ज समेत हुँदै छन्।’  

चितवनमा संक्रमितमध्ये ३३ प्रतिशतको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयले सचेतनामूलक कार्यक्रमलाई अगाडि बढाएको छ।  

‘स्थानीय तह, स्वास्थ्य निर्देशनालय, विश्व स्वास्थ्य संगठन र हामी संक्रमितको घरघरमा पुगेका छौं। यस रोगका विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘हामीले टोलटोलमा सचेतनामूलक कार्यक्रम समेत गरिरहेका छौँ।’  

चितवनमा जापानी इन्सेफ्लाइटिसको परीक्षण गर्ने ल्याब छैन। नमूना जाँचलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउने गरिएको छ। त्यसको रिपोर्ट एक सातापछि प्राप्त हुने गरेको कार्यालय प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए।  

चितवनमा पछिल्ला वर्ष यस रोगका बिरामी प्रत्येक वर्षजस्तै देखिने गरेका छन्। अघिल्लो वर्ष एक जनाको मृत्यु समेत भएको थियो।

अधिकांश बिरामीमा कुनै लक्षण नदेखिए पनि केही बिरामीमा उच्च ज्वरो आउने, बान्ता हुनेलगायतका लक्षण देखिन्छ। यस्तो लक्षण देखिएमा नमूना संकलन गरेर ल्याबमा पठाउने गरिएको छ। जापानी इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो।  

यद्यपी संक्रमित सुँगुर तथा हाँसलाई टोकेको क्युलेक्स जातको पोथी लामखुट्टेले मानिसलाई टोकेमा मानिसमा संक्रमण फैलने उनले बताए।

‘यो भाइरसबाट संक्रमित हाँस, कुखुराजस्ता चरा–चुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ,’ उनले सरल तरिकाले बुझाउँदै भने, ‘ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्छ।’  

यो रोग जुनसुकै उमेरका मानिसलाई लाग्न सक्छ तर धेरैजसो १५ वर्षमुनिका बालबालिकामा देखिन्छ। यद्यपी यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेषगरी साउनदेखि कार्तिकसम्म देखिने गरेको उनले बताए।

 यो रोग पहिलोपटक सन् १८७१ मा जापानमा देखिएको थियो। त्यसपछि एसियाका विभिन्न क्षेत्रबाट फैलिँदै करिब ५० वर्षअघि नेपालको रुपन्देहीमा देखिएको थियो।  

यो तराईका क्षेत्रमा व्यापक रूपमा फैलिँदै आएको चिकित्सकहरू बताउँछन्। संक्रमित लामखुट्टेले धानखेती हुने ठाउँमा यसले अण्डा पार्ने गर्छ। यो रोगबाट बच्न १२ महिनामा जेई खोप लगाउनुपर्छ। यदि यो खोप लिन छुटेको छ भने ५ वर्षको उमेरसम्म पनि जेई खोप लगाउन सकिन्छ।  

लामखुट्टेबाट जोगिन सके यस रोगबाट बच्न सकिने उनी बताउँछन्।  

प्रकाशित: ६ भाद्र २०८२ १९:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App