१९ मंसिर २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

खोपपछि बारा र पर्साका प्रभावित क्षेत्रमा एक वर्ष हैजा नफैलिने

बारा र पर्साका हैजा प्रभावित पालिकामा एक वर्षसम्मका लागि हैजा नफैलिने सुनिश्चित भएको परिवार कल्याण महाशाखा खोप शाखाले जनाएको छ। हैजा प्रभावित जिल्लाका विभिन्न टोलमा ९० प्रतिशत जनसंख्यालाई हैजाविरुद्धको खोप दिएपछि हैजा महामारी नहुने सुनिश्चित भएको खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए। उनले भने, ‘अब एक वर्षका लागि ती क्षेत्रमा हैजा महामारी हुँदैन।’

गत भदौदेखि असोजसम्म निरन्तर हैजा फैलिएपछि बारा र पर्साका २० वटा नगरपालिकामा हैजाविरुद्धको खोप दिइएको हो। असोज २६ देखि कात्तिक २ सम्म पहिलो चरणमा खोप दिइएको थियो। दोस्रो चरणमा कात्तिक १३ देखि कात्तिक २७ सम्म खोप अभियान सञ्चालन भएको थियो। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार पर्सा जिल्लाका १४ वटा पालिकाबाट र बारा जिल्लाका ६ वटा पालिकामा खोप अभियान सञ्चालन गरिएको थियो।

गत भदौमा पर्साको मुरलीटोलबाट हैजाले दुई हजार व्यक्ति प्रभावित भएपछि सरकारले हैजाविरुद्धको खोप दिएको हो। हैजाविरुद्धको खोप दिएपछि हैजा संक्रमण रोकिन गएको खोप शाखाका प्रमुख डा. गौतमले बताए। हैजा प्रभावितमध्येमा तीनजनाको मृत्यु भएको अनौपचारिक सूचना पनि खोप शाखामा प्राप्त भएको थियो।

शाखाका अनुसार बारा जिल्लाको कलैया उपमहानगरपालिका, जितपुर–सिमरा उपमहानगरपालिाका, प्रवानीपुर गाउँपालिका, प्रसौनी गाउँपालिका, फेटा गाउँपालिका र बिश्रामपुर गाउँपालिकामा खोप अभियान सम्पन्न भएको छ।

त्यसैगरी पर्साका १४ वटै पालिकामा सञ्चालन सम्पन्न भइसकेको छ। दुई जिल्लाका २० वटा स्थानीय तह गरी पाँच लाख ८९ हजार तीन सय ५४ ले  खोप लिएका थिए। सरकारले भने ६ लाख ५२ हजार एक सय २६ जनालाई खोप दिने लक्ष्य लिएको थियो।

खोप लिएर एक वर्षका लागि हैजा महामारी नहुने सुनिश्चित भएको र एक वर्षपछि पुनः जोखिम उस्तै रहने भएकाले स्थानीयले आफ्नो जीवनशैली, बानी व्यवहारमा सुधार गर्नैपर्ने देखिएको डा. गौतमले बताए। ‘फेरि पनि महामारीको रूप लिन सक्छ, मुख्य कुरा सफाइमा ध्यान दिनुपर्छ’, उनले भने।

गौतमका अनुसार प्रभावित क्षेत्रका नागरिकले सफा र सुरक्षित पानीको मात्र प्रयोग गर्ने, व्यक्तिगत सफाइमा ध्यान दिने, शौचालय गइसकेपछि र खाना खानुअघि साबुनपानीले हात धुनेजस्ता व्यवहारमा सुधार गरेमा मात्र सुरक्षित रहने बताए।

प्रकाशित: ८ मंसिर २०८२ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App