२२ पुस २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

बदलिंदो जीवनशैली बढ्दो निःसन्तानको पीर

रुपन्देहीकी ३५ वर्षीया उजला शर्मा (नाम परिवर्तन) विवाह भएको पाँच वर्षसम्म गर्भवती बन्न सकिनन्। यो अवधिमा उनले आफन्तहरू बीचमा किन बच्चा नभएको भन्ने प्रश्न सुनिरहनुपर्थ्याे।

पछि स्वास्थ्य परीक्षणको क्रममा श्रीमानमा आएको बाँझोपनाको कारण गर्भवती बन्न नसकेको थाहा भयो। तैपनि उनीहरूले त्यही प्रश्नको जवाफ दिइरहनुपर्थ्याे।

निः सन्तान केन्द्रमा गएर स्वास्थ्य परीक्षण गरे। चिकित्सकले टेष्ट्युव वेवीको प्रक्रिया गरेपछि विवाह गरेको सात वर्षपछि मात्र जुम्ल्याहा बच्चा जन्मिए। अहिले शर्मा दम्पती खुशी छन्।

पोखराकी रीना थापा (नाम परिवर्तन) ४२ वर्षको उमेरमा मात्र आमा बन्न सफल भइन्। यो अवधिमा उनले बच्चा किन भएन भन्ने साेधाइको सामना गरिरहनुपर्थ्याे। एकातिर उमेर बढी भइसक्दा पनि आमा बन्न नसक्नु अर्कोतिर आफन्तहरू बीच सधैं एउटै प्रश्नको जवाफ दिइरहनुपर्ने।

यी कुराले रीनाको दिनचर्या निकै तनावपूर्ण बनिसकेको थियो। उनले पटकपटक बाँझोपनाको उपचार गर्दै टेष्ट्युव वेवीको प्रयास गरिन् तर प्रयास सफल हुन सकेन। 

डेढ वर्षअघि वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमसँग उपचारका लागि ओम अस्पताल पुगिन्। परीक्षणको क्रममा उनमा मोटोपनाको कारण डिम्ववाहिनी नली बन्द भएको थियो। यो नलीको शल्यक्रिया गरी खोलेपछि पुन: टेष्ट्युव वेवी प्रक्रिया गरेपछि उनी आमा बन्न सफल भएकी हुन्।

उल्लिखित दुई घटनाबाहेक नेपालमा बाँझाेपनाको कारण निः सन्तान हुनेहरू धेरै सम्पत्ति रहेको चिकित्सकहरू औल्याउँछन्। ‘मेरो ओपिडीमा दैनिक १० जना यस्ता विरामी मात्र उपचारमा आउँछन्’ डा. गौतमले भने।

प्रसूति गृहको निःसन्तान विभागमा मात्र दैनिक औसत ३५ देखि ४० जना निः सन्तान समस्याका दम्पती पुग्ने गरेको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाले जानकारी दिइन्। यो हिसावले प्रसूतिगृहमा मात्र मासिक औसत  ९ सय ५० देखि १ हजार जना हुन्छन्।

नेपालमा निः सन्तान समस्या बढ्दै गएको स्त्रीरोग तथा फर्टिलिटी विशेषज्ञ प्राध्यपक डा. सीता पोखरेल घिमिरे बताउँछिन्।

उनी भन्छिन्, ‘पहिलाको भन्दा भिन्न स्वरूपमा बाँझोपना बढेको देखिन्छ। एक डेढ दशकदेखि यता निः सन्तानको समस्या उल्लेखनीय बढेको उनको ठम्याइ छ।

नेपालमा बाँझोपनाको समस्या बढ्दै गएको केही अध्ययन सर्वेक्षणले पनि औंल्याएका छन्। सन् २०२३ मा काठमाडौं मेडिकल कलेजले गरेको अध्ययनअनुसार सुरुमै निः सन्तान हुने समस्या १० देखि १५ प्रतिशत छन्। तीमध्ये  ७२.९४ प्रतिशत सेकेण्डरी बाँझोपना (एउटा बच्चा भइसकेपछिको बाँझोपना) छ।

प्रसूतिगृह अस्पतालले सन् २०२४ मा अस्पतालकी डा. स्त्रीरोग विशेषज्ञ डा. ज्वाला थापाले गरेको निः सन्तान सम्बन्धी गरेको अवधिक अध्ययनअनुसार २२.४ प्रतिशत दम्पतीमा निःसन्तान समस्या देखिएको छ।

तीमध्येमा ३४ प्रतिशत महिलाको कारणले र ३०.१ प्रतिशत पुरुषको कारणले निःसन्तान समस्या भएको पाइएको छ।  २२ प्रतिशत बाँझोपना दुवैमा छ। बाँकी १३.५ थाहा हुन नसकेको संख्या छ। ६ महिनाको अवधिमा उपचारमा पुगेका एक सय ५६ जनामा यो अध्ययन गरिएको हो।

निः सन्तान समस्या आएका ४१.५१ प्रतिशतमा डिम्वबाहिनी नलीको समस्या देखिएको थियो। बाँकी डिम्वाशय, गर्भाशय र इण्डोमेट्रियोसिसमा समस्या भएर निः सन्तान समस्या देखिएको थियो।

पुरुषमा भने वीर्य तथा विभिन्न हर्मोनमा गडबडी देखिएको थियो। २० देखि ४८ वर्षभित्रका पुरुष र १८ देखि ४४ वर्षभित्रका उमेर समूहलाई अध्ययनमा समावेश थिए। अध्ययन अस्पतालमा ६ महिनाको अवधिमा उपचार गर्न आएकाहरूमा गरिएको हो।  

निःसन्तान हुनुको कारण:  

वैदेशिक रोजगारी  

चिकित्सकको अनुसार नेपालमा निः सन्तान समस्या बढ्नुको पछि  थोरै प्राकृतिक कारण र धेरै हाम्रो गलत जीवनशैलीसँग सम्बन्धित रहेको चिकित्सकहरूले औंल्याएका छन्।

डा. जागेश्वर गौतमको विचारमा पछिल्लो समय वैदेशिक रोजगारीको क्रममा दम्पती छोटो अवधिमै टाढा हुने, ढिला विवाह गर्ने र गर्भधान हुने अङ्गहरूमा हुने संक्रमणको कारण पनि निः सन्तान समस्या बढेको छ। ‘श्रीमान् विदेश गएको हुन्छ, आएको बेला दुई/तीन महिनामै बच्चा बस्नुपर्छ भन्ने छ, निःसन्तापना हो या हैन भनेर यकिन गर्न कम्तीमा एक वर्ष दम्पति नियमित बसेको हुनुपर्छ’ उनले भने।

मेडिकल गर्भपतन

चिकित्सकको अनुसार मेडिकल गर्भपतन गरेका महिलामा पनि पछि गएर निः सन्तानको समस्या बढेको छ। मेडिकल गर्भपतन गर्दा गर्भाशयमा रहेको सबै भाग निर्खेर नभएमा संक्रमण हुन्छ। संक्रमणको कारणले लामो समय रक्तश्राव हुँदा डिम्वबाहिनी नली बन्द हुन जान्छ। जसको कारण पुन:गर्भ नरहने समस्या बढी हुन्छ। ‘औषधी खाएर गर्भपतन गर्दा गर्भ पूरै नगएको अवस्थामा संक्रमण हुन्छ र रगत बगिरहन्छ, यस्तो बेलामा नली बन्द हुन्छ,’ डा. गौतमले भने।

महिलाले अरू शल्यक्रिया गरेमा डा. गौतमको अनुसार महिलाले पेटको कुनै शल्यक्रिया भएमा गर्भाशयको नली बन्द हुने जोखिम हुन्छ। पेटको अन्य अंगको शल्यक्रिया गर्दा बग्ने रगत या पानी बगेर पाठेघरको वरपरको भागमा पुग्छ। त्यो पानीको कारण पनि संक्रमण भएमा डिम्वाहिनी नली बन्द भई बाँझोपना आउँछ।

मोटोपना

चिकित्सकको अनुसार नेपालमा आरामदायी जीवनशैलीले मोटोपना वृद्धि भएको छ। मोटोपना भएका महिलाहरूको पाठघेरमा डिम्वाबाहिनी नली बन्द हुन्छ। नली बन्द भए क्रोमोजमहरू गर्भाशयसम्म पुग्न नसकेर गर्भवती बन्न सक्दैनन्। नेपालमा महिलाहरूमा रहेको मोटोपनाले निः सन्तान समस्या बढेको प्रसूतिगृहकी स्त्रीरोग विशेषज्ञ डा. थापा बताउँछिन्। मोटोपनाको कारण महिनावारी नियमित नहुँदा पनि निःसन्तान समस्या हुने उनको भनाइ छ।

ढिला विवाह

महिला र पुरुषहरू केरियर केन्द्रित हुने र रोजगारीलाई प्राथमिकता दिने चलन बढ्दै गएको छ। यो कारण ढिला विवाह गर्ने कारण पनि निः सन्तानको समस्या बढेको चिकित्सक बताउँछन्। ढिला विवाह गर्दा महिलामा अण्डा बन्ने र पुरुषमा शुक्राणुको गुणस्तर कमजोर हुने, विभिन्न अंगमा समस्या आउन गई निः सन्तानको समस्या हुन्छ। युवा उमेरमा महिलामा हुने अण्डा र पुरुषको क्रोमोजम स्वस्थ हुने चिकित्सक बताउँछन्।

घरीघरी संक्रमण हुनु

महिलाहरू सार्वजनिक शाैचालयमा जाने क्रममा या श्रीमानको व्यक्तिगत सफाइको कमी भएमा पिसावको संक्रमण हुन्छ। नेपालमा सार्वजनिक शाैचालयको सफाइ नभएकाले पनि संक्रमण दर महिलामा बढिरहेको डा. घिमिरे बताउँछिन्।

पिसावबाट जाने संक्रमण महिलाको गर्भाशय योनीद्धार नजिकै ८ सेमीभित्र हुन्छ। पुरुषको यौन अंग महिलाको तुलनामा टाढा अर्थात् १८ सेमीभित्र हुन्छ। जसको कारण पुरुषको तुलनामा महिलामा पिसावको संंक्रमण बढी हुन्छ।

बाहिरी अंगदेखि अति नजिक हुने भएकाले कीटाणुको प्रवेश सजिलै भई महिलामा बढी संंक्रमण हुन्छ। यस्तो संक्रमणको कारण महिलामा निः सन्तान हुने उनको ठम्याइ छ। इण्डोमेट्रियोसको कारण गर्भाशय नली तथा गर्भाशयमा संक्रमण भई बाँझोपना आउने चिकित्सक बताउँछन्।

महिलाहरू पुरुषमुखी बन्दै जानु

पछिल्लो समय नेपालमा पनि महिलाहरू पुरुष बराबर क्षमता हासिल गर्ने क्रममा ढिला विवाह गर्ने, जिम गएर शरीर बलियो बनाउने जस्ता क्रियाकलापमा संलग्न छन्।

पुरुषले जस्तै सोच्ने र काम गर्ने अभ्यास भइरहेकाले उनीहरूमा पुरुष व्यक्तित्व निर्माण भई अनुहारमा रौं आउने, दिमागको सोचाइ पुरुषको जस्तो बन्दै जाने कारण पनि महिलाको हर्मोनमा परिवर्तन आई निः सन्तानको समस्या आउने गरेको डा. घिमिरे  बताउँछिन्।

प्रकृतिले दिएको शरीर जिम गएर कडा बनाउने क्रममा पनि महिलामा पुरुष जस्तो बनोट बन्न गई निः सन्तानको समस्या आउने गरेको छ। ढिला विवाह गर्ने, जीवन साथीबीच सम्बन्ध छुटाउने र पुन: अर्को सम्बन्धमा गइहाल्ने क्रममा धेरैसँग यौन सम्पर्क हुने र यौन सम्पर्क गर्दा पटकपटक सम्पर्क भएर निः सन्तान समस्या आउने गरेको डा. घिमिरेले औल्याइन्।

विदेशमा सम्वन्ध विच्छेदपछि मात्र अर्को यौन सम्बन्धमा जाने गरेकोमा नेपालमा सम्बन्धविच्छेद अघि पनि अर्को सम्बन्धमा जाने गलत अभ्यासले यस्तो समस्या निम्तिएको उनको भनाइ छ।

बढी तातो ठाउँमा काम गर्दा पुरुषमा निःसन्तानको समस्या

नेपालबाट वैदेशिक रोजगारीको क्रममा प्राय: युवाहरू सानै उमेरमा खाडी मुलुक जानेहरूमा निःसन्तान समस्या देखिने गरेको प्रसूति अस्पतालकी डा. थापा बताउँछिन्। तातोमा काम गर्दा पुरुषको शुक्राणुको गुणस्तर राम्रो नहुँदा समस्या आउने गरेको छ। उनीहरू लामो समय तातो ठाउँमा बसेर काम गर्दा समस्या आएको हो।

गलत जीवनशैली

डा. घिमिरेको अनुसार पछिल्लो समय हामीले प्रयोग गर्ने विद्यत्तीय ग्याजेटले पनि निःसन्तानको समस्या निम्तिनुको कारण हो। मोवाइल, मोटरसाइकल, कम्प्युटर जस्ता साधनले पनि पुरुषमा असर गरेको अध्ययनहरूले देखाएका छन्।

यसको साथै जंकफुडको प्रयोग र ढिलासम्म नसुत्ने, तनाव लिने जस्ता गलत जीवनशैलीले पनि निः सन्तान समस्या जन्मिएको हो। तनाव र अनिन्द्राले पनि हर्मोनमा असन्तुलन भई पुरुषमा पनि निः सन्तान समस्या हुने चिकित्सक बताउँछन्। कोरिया र जापान जस्ता देशमा जाने युवाहरूमा तनावले पुरुषमा पनि निः सन्तान समस्या बढी देखिएको छ।  

निःसन्तान समस्याबाट बच्ने उपाय

चिकित्सकको अनुसार ढिला विवाह र ढिला बच्चा जन्माउने चलन समस्याको प्रमुख कारण भएकाले अबको पुस्ताले यो कुरामा ध्यान दिनुपर्ने चिकित्सक सुझाउँछन्। ढिला विवाह गर्दा वीर्य क्रोमोजमहरूको गुणस्तर घट्ने या नबन्ने समस्या आउने भएकाले सकेसम्म ढिला गरी बच्चा नजन्माउने पहिलो उपाय रहेको डा. गौतम बताउँछन्।

तर प्रविधिले हामीलाई विकल्प दिएको हुनाले जोडी छुटेर विदेश जानु परे पतिको अनुपस्थितिमा पनि बच्चा जन्माउन सकिने प्रसूतिगृहकी डा. थापा बताउँछिन्।

उनको अनुसार पतिको शुक्राणु निकालेर राख्न सकिन्छ। ढिला बच्चा जन्माउने भएकी महिलाले अण्डा निकालेर प्रयोगशालामा भण्डारण गर्न सक्छन्। त्यसपछि समय अनुकूल भएको बेलामा भ्रूण प्रत्यारोपण गरी बच्चा जन्माउन सकिन्छ। यसरी जन्मिएका बच्चा स्वस्थ हुने डा. थापा बताउँछिन्।

संक्रमण हुन नदिने, स्वस्थ जीवनशैली अपनाउने जस्ता उपाय गरेमा पनि निःसन्तान समस्याबाट  बच्न सकिने चिकित्सकको सुझाव छ।

जंकफुडको प्रयोग नगर्ने, तौल नियन्त्रणमा राख्ने, मोटोपना घटाउने, सन्तुलित आहार, नियमित व्यायाम गर्ने  र तनावरहित जीवनशैली अपनाए निःसन्तान समस्या धेरै घटाउन सकिने चिकित्सकको सुझाव छ।

प्रकाशित: १० पुस २०८२ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App