३१ असार २०८३ बुधबार
image/svg+xml
स्वास्थ्य

नेपालमा स्तनपानः सहरमा कम, गाउँमा बढी किन?

गाउँभन्दा सहर धेरै विषयमा अगाडि छ। तर शिशुलाई आमाको दूध खुवाउने अभ्यासमा भने गाउँभन्दा सहर कमजोर छ। अर्थात् शिशुलाई स्तनपान गराउनेको संख्या सहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ।

जिल्ला जनस्वास्थ्य कार्यालय कटुञ्जे, भक्तपुरकी जनस्वास्थ्य अधिकृत कल्पना पाण्डेका अनुसार शिशु जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्ने दर राष्ट्रिय रूपमा करिब ६० प्रतिशत रहेको छ। तर ग्रामीण क्षेत्रमा यो दर शहरी क्षेत्रभन्दा बढी रहेको अध्ययनले देखाएको छ। त्यस्तै, ६ महिनासम्म केवल आमाको दूध खुवाउने दर पनि गाउँमा तुलनात्मक रूपमा उच्च छ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार सातवटा प्रदेशहरूमध्ये बागमती प्रदेशमा आमाको दूधबाहेक अन्य बाहिरिया दूध खुवाउने प्रतिशत सबैभन्दा बढी छ। तथ्यांकअनुसार बागमतीमा ४३ प्रतिशतले आमाको दूधबाहेकको दूध खुवाउँछन्। यो प्रतिशत कर्णालीमा सबैभन्दा कम छ, जहाँ ११ प्रतिशतले मात्रै आमाको दूधबाहेकको दूध खुवाउँछन्। त्यस्तै, गण्डकीमा २७ प्रतिशत, कोशीमा २५ प्रतिशत, लुम्बिनीमा २४ प्रतिशत, सुदूरपश्चिममा १५ प्रतिशत र मधेशमा १२ प्रतिशतले मात्रै आमाको दूधबाहेकका अन्य बजारिया दूध शिशुलाई दिने तथ्यांक उनले प्रस्तुत गरिन्।

भक्तपुर नगरपालिका र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरको संयुक्त आयोजनामा ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण सम्बन्धी ऐन, २०४९’ लगायत स्तनपानसम्बन्धी विषयमा सरोकारवाला निकायहरूसँग बिहीबार भक्तपुरमा भएको अभिमुखीकरण कार्यक्रममा उनले यस्तो तथ्यांक प्रस्तुत गरेकी हुन्।

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री र वितरणका सन्दर्भमा बिक्रीकर्ता र उपभोक्ता सबै सचेत हुनुपर्ने बताए। उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विकल्पका रूपमा मात्र प्रयोग गर्नुपर्ने उल्लेख गरे। आमाको दूध शिशुको लागि अमृतसरह हुने बताउँदै उनले शिशुलाई सकेसम्म आमाको दूध नै खुवाउनुपर्ने विषयमा सचेत पार्न आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी कार्यालय प्रमुख अन्जना खड्काले स्तनपानको संरक्षण र संवर्द्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणलाई नियमित गरी बच्चाहरूका लागि सुरक्षित र पर्याप्त पोषणको व्यवस्था गर्ने उद्देश्यले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरण नियन्त्रण ऐन’ निर्माण गरिएको बताइन्। उनले ऐनको प्रभावकारी कार्यान्वयन नै कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्।

विशेषज्ञहरूका अनुसार गाउँघरमा परम्परागत रूपमा बच्चा हुर्काउने अभ्यास कायम रहनु, परिवारको सहयोग हुनु तथा आमाहरू घरमै बढी समय बस्ने भएकाले स्तनपान सहज हुने गरेको छ। तर सहरमा भने कार्यालय जाने, सुत्केरी बिदा कम हुने, तनावपूर्ण जीवनशैली तथा कृत्रिम दूधप्रतिको आकर्षणका कारण स्तनपान प्रभावित भइरहेको छ।

बाल विशेषज्ञहरूका अनुसार शिशुको शारीरिक तथा मानसिक विकासका लागि पहिलो ६ महिनासम्म केवल आमाको दूध अत्यन्त आवश्यक हुन्छ। यसले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै कुपोषण र संक्रमणको जोखिम कम गर्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषण अझै चुनौतीका रूपमा रहेको छ। स्तनपानको अभ्यास कमजोर हुँदा शिशुमा झाडापखाला, निमोनिया तथा अन्य संक्रमणको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।

विश्व स्वास्थ्य संगठनले जन्मेको एक घण्टाभित्र स्तनपान सुरु गर्न र कम्तीमा ६ महिनासम्म केवल आमाको दूध खुवाउन सिफारिस गर्दै आएको छ। शहरी क्षेत्रमा आमाहरूलाई स्तनपानबारे परामर्श, परिवारको साथ र कार्यालयबाट सहयोग उपलब्ध गराउन सके स्तनपानको दर सुधार गर्न सकिनेछ।

स्वास्थ्यकर्मीहरूका अनुसार बदलिँदो जीवनशैली, कामकाजी महिलाको व्यस्तता, बजारमा पाइने दूधजन्य सामग्रीको प्रचार तथा परिवार संरचनामा आएको परिवर्तनले सहरमा स्तनपानको अभ्यास कमजोर बन्दै गएको हो। विशेषज्ञहरूका अनुसार गाउँघरमा परम्परागत रूपमा बच्चा हुर्काउने अभ्यास कायम रहनु, परिवारको सहयोग हुनु तथा आमाहरू घरमै बढी समय बस्ने भएकाले स्तनपान सहज हुने गरेको छ। तर सहरमा भने कार्यालय जाने, सुत्केरी बिदा कम हुने, तनावपूर्ण जीवनशैली तथा कृत्रिम दूधप्रतिको आकर्षणका कारण स्तनपान प्रभावित भइरहेको छ।

प्रकाशित: ३१ वैशाख २०८३ १९:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App