३२ असार २०८३ बिहीबार
image/svg+xml
स्वास्थ्य

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरू आन्दोलित

विनियमावली तत्काल स्वीकृत गर्न माग

भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीहरू आन्दोलित बनेका छन्।

अस्पतालको कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ तत्काल स्वीकृत गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन्।

विनियमावली स्वीकृत नहुँदा अस्पतालमा कार्यरत करिब तीन सय ७२ जना कर्मचारीको भविष्य अन्योलमा परेको उनीहरूको भनाइ छ।

अस्पतालका कर्मचारीहरूले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश–२०७७ बमोजिम अस्पतालको सञ्चालन तथा व्यवस्थापन गर्न माग गर्दै आएका छन्।

स्वास्थ्य बिमा, विपन्न, गरिब तथा असहाय बिरामीका लागि अस्पताल आशाको केन्द्र बनेको उनीहरूको दाबी छ।

आधुनिक उपकरण जडान र विशेषज्ञ चिकित्सकमार्फत उपचार सेवा विस्तार भएपछि बिरामीको उपचार व्यवस्थापन थप प्रभावकारी भएको पनि कर्मचारीहरूको भनाइ छ। तर अस्पताल विकास समितिले तयार गरी स्वीकृतिका लागि पठाएको कर्मचारी सेवाका शर्त तथा सुविधा विनियमावली–२०८३ हालसम्म स्वीकृत नभएको भन्दै कर्मचारीहरूले चिन्ता व्यक्त गरेका छन्।

उनीहरूका अनुसार विनियमावली नहुँदा लामो समयदेखि कार्यरत कर्मचारीको स्तरवृद्धि, स्थायी सेवा तथा सेवासुविधा सुनिश्चित हुन सकेको छैन।

विनियमावली अभावलाई आधार बनाएर नियम विपरीत ज्यालादारी नियुक्ति तथा खरिद प्रक्रियामा समेत अनियमितता हुने वातावरण सिर्जना भएको आरोप कर्मचारीहरूले लगाएका छन्।

कर्मचारीहरूको भनाइअनुसार उक्त विनियमावली लोक सेवा आयोग, अर्थ मन्त्रालय तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट आवश्यक सिफारिस प्राप्त गरी अस्पताल विकास समितिबाट अध्ययनपछि अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीहरूको हस्ताक्षरसहित स्वीकृतिका लागि मन्त्रालयमा पठाइसकिएको छ।

केही व्यक्तिले व्यक्तिगत स्वार्थका कारण विनियमावली स्वीकृत हुन नदिन असत्य तथा भ्रामक सूचना सार्वजनिक गर्दै अस्पतालको विकासमा अवरोध पुरयाइरहेको आरोप उनीहरूले बुधबार प्रेस विज्ञप्ति प्रकाशित गरी गरेका छन्।

केही सीमित व्यक्तिहरू त्यस्ता गतिविधिमा लागेको र त्यस्ता गतिविधिहरूमा संलग्नलाई कारबाही गर्न सम्बन्धित निकायसँग उनीहरूले माग राखेका छन्।

कर्मचारीहरूले क्यान्सर रोगको पहिचान र उपचारमा अग्रसर रहेको अस्पताललाई कमजोर पार्ने प्रयास भइरहेको दाबी गर्दै यथाशीघ्र विनियमावली स्वीकृत गरी कर्मचारीको भविष्य सुरक्षित गर्न सरकारसँग आग्रह गरेका छन्।

अस्पतालको जिम्मा स्वास्थ्य मन्त्रालयले जिम्मेवारी लिएपछि विभिन्न जिल्लाबाट आउने क्यान्सर बिरामीलाई स्तरीय तथा तुलनात्मक रूपमा कम शुल्कमा उपचार सेवा उपलब्ध गराइएको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ असार २०८३ १८:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App