चितवनको भरतपुर–१०स्थित नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरिएको भरतपुर मेट्रो क्लिनिक बन्द गरिएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित अनुगमनमा पुगेको स्वास्थ्य कार्यालय चितवन र भरतपुर महानगरपालिका स्वास्थ्य शाखाको टोलीले क्लिनिक बन्द गरेको हो।
भरतपुर मेट्रो क्लिनिक भनेर दर्ता गरिएको क्लिनिक २०८१ सालसम्म मात्र नविकरण गरेको र नेशनल बाथरोग सेन्टरका नामबाट सञ्चालन गरेको पाइएपछि बन्द गरिएको स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य प्रशासक निर्मल घिमिरेले बताए।
'नेशनल बाथ रोग सेन्टरका नाममा सेवा प्रदान गरिएको छ,' उनले भने, 'यो विशिष्टिकृत सेवा हो सङ्घमा दर्ता हुनुपर्छ।' क्लिनिकले भौतिक संरचनालगायतका मापदण्ड पूरा नगरेको उनले बताए। यस्तै क्लिनिकले सेवा प्रदायक चिकित्सकसँग सम्झौता नगरेको र प्रयोगशाला नविकरण नगरेको पाइएको घिमिरेले बताए।
लापरबाही गरेर क्लिनिक सञ्चालन गरेका कारण तत्कालका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनले नियमअनुसार मापदण्ड पुरा गरी दर्ता गरेर सेवा सञ्चालन गर्न निर्देशन दिइएको बताए। रासस
प्रकाशित: १३ असार २०८३ ०७:५५ शनिबार





