वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल तोडफोडको घटनामा प्रहरीको दुर्व्यवहार भएको विरोधमा नेपाल चिकित्सक संघ (एनएमए) ले मंगलबार देशभर आकस्मिकबाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेको छ। संघको केन्द्रीय कार्यालयमा आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति बनाउन बैठक बसिरहेको छ।
आन्दोलनको प्रभाव रौतहटको प्रादेशिक अस्पताल गौरदेखि देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परेको छ।
प्रादेशिक अस्पताल गौरले नेपाल चिकित्सक संघको केन्द्रीय आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आकस्मिक सेवाबाहेक ओपीडी तथा अन्य नियमित स्वास्थ्य सेवा मंगलबारका लागि बन्द गरिएको जनाएको छ।
अस्पतालले सेवा बन्दका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै अत्यावश्यक बिरामीका लागि आकस्मिक सेवा भने नियमित रूपमा सञ्चालन हुने जनाएको छ।
चिकित्सक संघका अनुसार साउन ९ गते नारायणी अस्पतालमा कार्यरत डा. प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमण भएको थियो। घटनामा डा. रामको टाउकोमा गम्भीर चोट लागेको र उनी उपचाररत रहेको संघले जनाएको छ। सोही क्रममा अस्पताल परिसरमा तोडफोडसमेत भएको थियो।
घटनापछि दोषीमाथि कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बोलाइएको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीकै रोहवरमा प्रहरी प्रमुखले चिकित्सकहरूमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप संघले लगाएको छ। संघका अनुसार उक्त घटनामा केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा नारायणी शाखा अध्यक्षलगायतका चिकित्सकहरू दुर्व्यवहारको शिकार बनेका छन्।
यसैबीच नारायणी अस्पतालका ४६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साहलाई बुझाइएको ज्ञापनपत्रमा कार्यस्थलमा पटक–पटक हुने आक्रमण, असुरक्षाको वातावरण तथा स्वास्थ्यकर्मीको सुरक्षामा प्रशासन गम्भीर नदेखिएको उल्लेख गरिएको छ।
माग सम्बोधन नभए सामूहिक रूपमा राजीनामा बुझाएर सेवा प्रवाहबाट अलग हुने चेतावनीसमेत चिकित्सकहरूले दिएका छन्। ज्ञापनपत्रमा विशेषज्ञ चिकित्सक, कन्सल्टेन्ट तथा मेडिकल अफिसरसहित ४६ जनाको हस्ताक्षर रहेको छ।
ज्ञापनपत्रमा आकस्मिक विभागमा कार्यरत चिकित्सकमाथिको कुटपिट, अस्पतालको भौतिक संरचनामा भएको तोडफोड र त्यसपछि पनि दोषीमाथि कानुनी कारबाही हुन नसक्दा चिकित्सकहरू भय र त्रासको वातावरणमा सेवा दिन बाध्य भएको उल्लेख छ।
प्रमुख जिल्ला अधिकारीको रोहवरमा भएको छलफलका क्रममा गरिएको सुरक्षा प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै चिकित्सकहरूले अस्पतालभित्र सुरक्षित र सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्न माग गरेका छन्।
नेपाल चिकित्सक संघले घटनामा संलग्न व्यक्तिलाई ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम तत्काल कारबाही गर्न माग गरेको छ। चिकित्सकमाथि भएको दुर्व्यवहारका लागि पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथि समेत छानबिन तथा कारबाही गर्न सरकारसँग माग गरिएको छ।
संघका अध्यक्ष डा. बद्री रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनबाट बिरामीलाई परेको असुविधाप्रति क्षमा व्यक्त गर्दै यसको सम्पूर्ण जिम्मेवारी सरकारको निष्क्रियता र स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न नसकेको अवस्थाले सिर्जना गरेको उल्लेख गरिएको छ।
नारायणी अस्पतालको घटनाले अब केवल एउटा अस्पतालको सुरक्षा प्रश्न मात्र नभई मुलुकभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा, सम्मान र निर्भय कार्य वातावरण सुनिश्चित गर्ने राष्ट्रिय बहसलाई समेत थप गम्भीर बनाएको स्वास्थ्य क्षेत्रका जानकारहरूको भनाइ छ।
वीरगञ्जका सरकारी तथा निजी अस्पतालका सेवा ठप्प
चिकित्सकमाथि भएको कुटपिटको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि वीरगञ्जका सरकारी तथा निजी अस्पतालका अधिकांश सेवा तीन दिनदेखि प्रभावित भएका छन्।
मंगलबारदेखि नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प भए पनि वीरगञ्जका अस्पतालमा भने चिकित्सकहरूले गत आइतबारदेखि नै आकस्मिकसहित अधिकांश सेवा बन्द गर्दै आन्दोलन गरिरहेका छन्।
चिकित्सकहरूले सेवा ठप्प पारेर आन्दोलनमा होमिएपछि उपचारका लागि अस्पताल पुगेका बिरामीहरू तीन दिनदेखि समस्यामा परेका छन्।
मंगलबार बिहान नारायणी अस्पतालमा उपचारका लागि पुगेकी रौतहटको गढीमाई नगरपालिका–४ की उषादेवीले अस्पतालमा ‘डाक्टरहरूको हड्ताल’ लेखिएको ब्यानर देखेपछि उपचारका लागि भारत जान बाध्य भएको बताइन्।
‘वीरगञ्जका सरकारी मात्र होइन, निजी अस्पतालमा पनि हड्ताल छ। अब के गर्ने? चार महिनादेखि ढाड दुखेर समस्या छ,’ उनले भनिन्, ‘उपचारका लागि भारतको सीतामढी जान लागेको हुँ।’
प्रकाशित: १२ श्रावण २०८३ १७:३० मंगलबार





