तपाईंलाई नजिकैको, आफ्नै लाग्ने र चिन्ता लिने व्यक्तिले धेरै आश्वासन दिन्छ ? सावधान ! आर्थिक समस्यामा परेकालाई सहयोग गर्ने, धेरै कमाइ हुने भन्दै दिएका आश्वासन आफ्नै लागि घातक हुनसक्छन् । यस्तै पीडा भोगेका छन् काठमाडौंमा गाडी चलाएर गुजारा गरिरहेका काभ्रेका एक व्यक्तिले ।
नेपालमा भन्दा बढी कमाउने प्रलोभवनमा परेका ती व्यक्ति कमाइ त परको कुरा आफ्नो एक मिर्गौला गुमेको पनि महिनौपछि अर्थात थप बिरामी भएपछिमात्र थाहा पाए । उनी अहिले न्यायको लागि प्रहरीको ढोकासम्म पुगेका छन् ।
के हो घटना ?
भारतमा मेडिकल जाँच गराउने बहानामा नेपालका एक सर्वसाधारण गाडी चालकको एउटा मिर्गौला निकालिएको छ । भारतमै गाडी चलाउने भन्दै लाइसेन्स निकाल्ने क्रममा गरिएको मेडिकल जाँचमा गैर कानुनी तवरले उनलाई थाहै नदिईकन मिर्गौला निकालिएको थियो ।
काठमाडौंको मुलपानीमा गाडी चलाएरै जीविकोपार्जनमा रमाउँदै आएका काभ्रेका ३५ वर्षीय युवकलाई भारत पुर्याई लाइसेन्सको लागि मेडिकल जाँच गर्नुपर्छ भनेर बेहोस बनाएर मिर्गौला झिकिएको थियो । होसमा आएपछि उनले चकित हुँदै यो गरेको भन्ने प्रश्न गरे । उनले जवाफ पाए, ‘एपेन्डिसाइटिस भएको कारणले अप्रेसन गरिदिएको ।’
भारतमा गाडी चलाउने काममा राम्रो आम्दानी हुने प्रलोभव देखाएर लगिएका पुरुषको मिर्गौला निकालिसकेपछि होसमा आउँदा शरीर चिरफार गरेको देखेर प्रश्न गरेका थिए । ‘मेरो तल पेटमा किन के गरेको र ? धेरै दुखेको छ । यो सलाइन् पानी किन चढाएको ? एउटा जाबो गाडीको लाइसेन्स निकाल्न यस्तो के के गर्नु पर्छ ?,’ उनलाई विभिन्न प्रलोभन देखाउँदै भारतको कलकत्ता पुर्याउने एजेन्टलाई होसमा आउने बित्तिकै उनले सोधेका थिए ।
ती पुरुषलाई एजेन्टले पनि सहजै जवाफ दिए, ‘तिमिलाई मेडिकल चेकजाँच गर्ने क्रममा पेटमा एपेन्डिसाइटिस भएको कुरा थाहा भएर पेटको अप्रेसन गर्नु पर्यो । धेरै ठुलो होइन सानै हो । अब केही दिन यही अस्पतालमा आराम गरेर बस । धेरे दिन होइन, हप्ता दिनजति बस्नुपर्ला । अनि तिम्रो गाडीको लाइसेन्स बनाउने हो ।’ यसरी उनी पनि एजेन्टले भने बमोजिम अस्पतालमा आराम गरेर बसेका थिए ।
एउटा मिर्गौला बापत १५ हजार !
करिब हप्ता दिन अस्पताल बसेपछि उनलाई एजेन्टले आफ्नो फ्ल्याटमा लिएर गयो । तर, १० दिनभन्दा बढीसम्म पनि ती युवकको घाउ निको नभएपछि हातमा १५ हजार रुपैयाँ थमाएर एजेन्टले नेपाल फर्काएको थियो ।
‘अहिलेको चेकजाँचमा तिम्रो मेडिकल रिपोर्टहरू त सबै राम्रै आएको छ । केही दिनपछि लाइसेन्स पनि बन्छ । तिमीले केही दिन काम गर्न मिल्दैन । त्यसैले नेपालमा गएर आराम गर्दै गर्नु । पुरै निको भएपछि भारतमा आएर गाडी चलाउने काम सुरु गर्नुपर्छ,’ मेडिकल जाँच गराउने भन्दै मिर्गौला निकालेपछि एजेन्टले फकाउँदै ती पुरुषलाई भनेका थिए ।
मिर्गौला निकाले कसरी थाहा भयो ?
कक्षा ८ सम्म मात्रै अध्ययन गरेका ती पुरुषको सानो परिवार छ । आर्थिक अवस्था नाजुक भएकै कारण भारतमा राम्रो कमाइ हुन्छ भन्दै पत्नी र छोरालाई छोडेर गएका उनी थाहै नपाइ एउटा मिर्गौला छोडेर नेपाल फर्किए । भारतको कलकत्ताबाट वीरगन्ज हुँदै उनी काठमाडौं आएका थिए ।
भारतबाट काठमाडौंसम्म आउँदाको थकानसँगै एजेन्टहरूले गरेको व्यवहार सबै उनले साँझ आफ्नी पत्नीलाई बेलिबिस्तार लगाए । एपेन्डिसाइटिसको अप्रेरेसनसँगै पतिले लगाएको सबै बेलिबिस्तारमा पत्नी पनि विश्वास गरिन ।
तर, ती पुरुषको शरीरमा एउटा मिर्गौला नभएको तथ्य धेरैदिन टिक्न सकेन् । उनको शरीरमा दुखाइका परिवर्तनहरू आउन थाल्यो । पेटको बायाँ भाग अत्यन्तै दुख्ने, वाक वाक तथा रिँगटा लाग्ने समस्याहरू देखिएपछि उनका परिवारजनले पनि शंका गर्न थाले ।
‘तपाईंको त मिर्गौला निकालिएको हो कि क्या हो?,’ यति सुन्दैमा ती पुरुष झसङ्ग भए । त्यसपछि चेकजाँच गर्दा आफ्नो शरीरमा एक मिर्गौला नै नभएको थाहा पाएपछि उनीहरू आफूलाई झुक्याई मिर्गौला निकालेको भन्दै विपक्षीविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिन पुगेका थिए ।
ती पुरुषको एक मिर्गौला गत वर्ष असोजमा निकालिएको थियो । चिने जानेकै काभ्रे घर भएका राम नाम बताउने व्यक्तिले नेपालमा काम गरेर पैसा कमाउन सकिँदैन भन्दै उनलाई भारतमा पुर्याएर मिर्गौला निकालि दिएको उजुरी ब्युरोमा छ ।
उनी ब्युरोमा उजुरी दिने बेलामा एजेन्टले आफूलाई फकाएको झलझली सम्झन्छन्, ‘भारतमा गाडी चलाउने काम गरेमा धेरै पैसा कमाउन सकिन्छ । मैले चिनेको एक जना राकेश नेपाली दाइ छन् । उहाँले तपाईंलाई भारतमा गाडी चलाउने काममा लगाइदिनुहुन्छ । त्यहाँ महिनाको आईसी ३० हजारसम्म कमाई हुन्छ ।’
ती एजेन्टहरूले आफूलाई गाडीको लाइसेन्स बनाउने भन्दै धेरै ठाउँमा मेडिकल गराएको पनि उनी सम्झन्छन् । ‘मेरो ब्लड, सुगर, प्रेसर, एक्स–रे लगायतका अन्य चेकजाँचहरू पनि गरेका थिए,’ ब्युरोमा उजुरी दिने क्रममा उनले भने, ‘हामीले धेरैलाई यसरी नै मेडिकल चेकअप गरेर गाडीको लाइसेन्स निकालिदिएका थियौँ । तिम्रो पनि त्यस्तै हो ।’ आफूलाई विभिन्न प्रलोभनमा पारेर मिर्गौला निकालेको बेलिबिस्तार उनले गरे ।
यसरी आफूलाई भारतीय सवारी चालक अनुमति पत्र निकाल्नको लागि मेडिकल गर्ने भनी झुक्याएर मिर्गौला निकालेको भन्दै ब्युरोमा उजुरी दिन ती पीडित पुरुष पुगेका हुन् ।
कसरी फस्छन् नेपाली ?
ब्युरोका प्रहरी अधिकारीहरूका अनुसार दु:खी र गरिबलाई नै झुक्याएर ललाईफाकाईमा पारेर मिर्गौला बेच्ने गरेको घटनाहरू धेरै छन् । विशेषगरेर नुवाकोट, काभ्रे र सिन्धुपाल्चोकका धेरैको मिर्गौला बेच्ने गरेको अधिकारीहरू बताउँछन् ।
‘मिर्गौला बेचेर पूरा पैसा नपाए वा स्वास्थ्य अवस्था गम्भीर भएमात्रै ब्युरोमा उजुरी आउने हो,’ ब्यूरोका प्रहरी एसएसपी कृष्ण पंगेनीले भने, ‘आर्थिक अवस्था कमजोर भएका परिवार नै यस्ता घटनामा मुछिएका हुन्छन् ।’
आर्थिक वर्ष २०७५/७६ देखि २०८१/८२ सम्म ६ वर्षको अन्तरालमा नेपालभर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी एक हजार एक सय एक वटा मुद्दा दर्ता भएका छन् । जसमा मानव बेचबिखनसम्बन्धी दुई सय ६, मानव ओसारपसारसम्बन्धी चार सय ८०, वेश्यावृत्तिमा तीन सय ७५, मानव अंग झिक्ने १५ र मानव तस्करीका २५ वटा छन् ।
त्यस्तै ब्युरोमा मात्रै विभिन्न प्रकृतिका तीन सय ६३ वटा मुद्दा दर्ता भएका छन् । हालसम्म ब्युरोले एक हजार ६ सय जनाको उद्धार गरेको तथ्यांक छ । त्यसमा महिला एक हजार एक सय २७, बालिका एक सय ८८, पुरुष दुई सय ४४ र बालक ४१ जना छन् ।
प्रकाशित: २७ आश्विन २०८२ २०:०६ सोमबार





