१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
स्वास्थ्य

एउटा शिविरले सिँजामा जगाएको आशाः 'गाउँमै डाक्टर, गाउँमै उपचार'

सिँजाको मौसम बिहान चिसो थियो। तर पनि सिँजा ३ धिताललिहीमा रहेको फुटाशिली आधारभूत विद्यालयको आँगनमा भीड बढ्दै थियो। कोही काखमा बच्चा च्यापेका, कोही मुस्किलले हिँड्दै त कोही हतारमा देखिन्थे । तर पनि सबैमा आशा भने प्रष्ट देखिन्थ्यो ।  

दुई दिनको निःशुल्क होमियोप्याथिक स्वास्थ्य शिविरमा उपचार पाउने आशामा भण्डैभण्डै पुरै गाउँ नै विद्यालयमा भेला भएको थियो । सहर पुग्न नसक्नेहरूका लागि यो शिविर केवल स्वास्थ्य कार्यक्रममात्र थिएन, बाँच्ने आश पनि थियो। भरपर्दो उपचार पाउने अस्पताल जस्तै थियो ।  

हिमा गाउँपालिका –१ का भिमराज शाही महिनौँदेखि चिन्तामा थिए। शरीरमा गाँठागुठी देखा परेका थिए, तर पैसा नहुँदा काठमाडौं जान सकेका थिएनन्। गाउँका मान्छेले रोग बढ्दै जाँदा डराउने कुरा सुनाउँथे। “राति निद्रै पाउँदिनथें, मनमा डर थियो,” उनी सम्झन्छन्, “तर यो शिविरले मेरो डर भगायो।”  

डाक्टरले जाँच गरे, औषधि दिए। भिमराजको अनुहारमा मुस्कान फर्कियो। “गाउँमै डाक्टर आएर उपचार गर्नुभयो,” उनी भन्छन्, “अब मलाई लाग्छ, हाम्रो गाउँ पनि देशकै हिस्सा हो।”  

सिँजा–६ की ममता रावतलाई तल्लो पेट दुख्ने समस्या लामो समयदेखि थियो। गाउँमा यस्तो रोगका बारेमा धेरै कुरा गर्न पनि हिचकिचाइन्थ्यो। “घरको काम, बालबच्चा र लाजकै कारण उपचार ढिला भयो,” उनले लजाउँदै भनिन्, “शिविरले मौका दियो, अब ठिक छु।” उनका लागि उपचारभन्दा ठूलो कुरा थियो, सुन्ने कान पाउनु। “डाक्टरले मेरो कुरा ध्यान दिएर सुन्नुभयो,” उनी भन्छिन्, “त्यो माया नै आधा उपचार हो।”  

सिँजाकी ५ कि ७० वर्षीया काली रावलका लागि विद्यालयको आँगनसम्म आइपुग्नु पनि एक उपलब्धि थियो। घुँडा दुखेर हिँड्नै सक्दिन थिइन्। छोरा बाहिर काम गर्छन्, वृद्ध आमा एक्लै घरमा। “डाक्टरको हातले मेरो घुँडा छोइयो, मलाई आशा पलायो,” टिलपिल आँशु पार्दै उनले भनिन्, “दुई दिनमै दुखाइ घट्यो, अब त म नाति खेलाउँछु।” त्यो क्षण, तारा देवीका आँखाबाट बगेका आँशु केवल पीडाका थिएनन्, राहतको थियो ।  

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत पशुपति होमियोप्याथिक चिकित्सालय, हरिहर भवन ललितपुरको आयोजना र सिँजा गाउँपालिकाको सहआयोजनामा कार्तिक २४ र २५ गते सञ्चालन गरिएको यस शिविरमा ७ सय ७६ जना बिरामीले सेवा लिए। ४ सय ९५ जना सिँजाबाट, २ सय ३६ जना हिमाबाट र ४५ जना कनकासुन्दरीबाट उपचारको आशमा विद्यालयको आँगन टेकेका थिए ।  

उपचारका लागि आएकाहरुमा विभिन्न रोग थियो । दम, खोकी, छालाको समस्या, मधुमेह, उच्च रक्तचापदेखि मानसिक तनावसम्म। तर सबैभन्दा ठूलो उपचार थियो, विश्वासको । गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकाया भन्छन्,“दुई दिनमा औषधि त बाँड्यौं, तर हामीले बाँडेको सबैभन्दा ठूलो कुरा हो, भरोसा।”  

शिविरको अन्तिम दिन सूर्य पश्चिम पर्खालमा ओर्लिँदै थियो। विद्यालयको आँगनबाट डाक्टरहरूले औषधि प्याक गर्दै थिए, गाउँलेहरू बिस्तारै फर्किंदै। तर फर्किँदै गर्दा उनीहरू भित्र भित्रै नयाँ कुरा लिएर गइरहेका थिए, आफ्नो गाउँमै उपचार सम्भव छ भन्ने विश्वास।भिमराज, ममता, काली र सयौं अनुहारहरूमा देखिएको त्यो मुस्कान सिँजाको भविष्यको प्रतीक जस्तै लाग्थ्यो।जहाँ स्वास्थ्य सेवा सहरको सुविधा होइन, गाउँको अधिकार बन्न थालेको छ।

प्रकाशित: २६ कार्तिक २०८२ १५:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App