४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

‘दीर्घ दमरोगको अवस्था डरलाग्दो’

पोखराको लेखनाथ क्षेत्रमा दीर्घ दमरोगबारे गरिएको अध्ययन सार्वजनिक गरिँदै। तस्बिरःनागरिक

दीर्घ दमरोगको प्रभाव कमजोर स्वास्थ्य प्रणाली र श्वासप्रश्वास स्वास्थ्यको क्षेत्रमा काम गर्ने सीमित जनशक्ति भएका मुलुकमा बढ्दै गएको अध्ययनले देखाएको छ। कम र मध्यम आय भएका अल्प–विकसित र विकासोन्मुख देशमा यो रोगको समस्या वर्षेनी बढिरहेको अनुसन्धानकर्ताले बताएका छन्।  

नसर्ने रोगको बारेमा काम गरिरहेको संस्था नेपाल विकास समाजले शुक्रबार सार्वजनिक गरेको अध्ययनले दीर्घ दमरोग अवस्था आगामि दिनमा अझै भयाभह हुने अनुसन्धानकर्ताले बताए। अनुसन्धानकर्ता ताराबल्लभ अधिकारीले नेपालमा सचेतनाको कमीका कारण दीर्घ दमरोगको अवस्था अझै केही वर्ष डरलाग्दो गरि बढ्ने बताए।

पोखरा महानगरपालिका–२६, २७, २९, ३०, ३१ र ३२ नम्बर वडा (साविक लेखनाथ नगरपालिका) का बासिन्दामा दीर्घ दमरोगको अवस्था बारे अध्ययन गरिएको थियो। एकवर्ष लगाएर गरिएको अध्ययनका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई परिचालन गरिएको थियो। यो अध्ययन २०१९ मा गरिएको थियो। २०२० मै यसबारे प्रतिवेदन बाहिर आएपनि त्यसको फलोअप सहितको प्रतिवेदन अहिले ल्याइएको उनले बताए।

अनुसन्धानकर्ता अधिकारीले परिचालित महिला स्वास्थ्य स्वयंसेविकामध्ये आधालाई दीर्घ दमरोगको बारेमा प्रशिक्षण दिलाइएको थियो भने बाँकी स्वयंसेविकालाई बिना प्रशिक्षण काममा खटाइएको थियो। दुइ समुहबीचको अन्तर थाहा पाउनका लागि एक समुहलाई प्रशिक्षण दिएको र अर्काेलाई बिना प्रशिक्षण पठाइएको थियो। चालिसजना महिला स्वास्थ्य स्वयंसेविकालाई यो काममा परिचालन गरिएको थियो।  

अधिकारीका अनुसार साविकको लेखनाथ नगरपालिका क्षेत्रका ४० वर्ष भन्दा माथिका उमेरका महिला र पुरुषमा गरेको सर्भेक्षणमा ८.५ प्रतिशतमा दीर्घ दमरोगको समस्या देखिएको छ। ‘अध्ययनमा समेटिएकामध्ये ८.५ प्रतितशमा रोग देखियो। बिरामी मध्ये ३ प्रतिशतलाई मात्र रोगको बारेमा थाहा छ। गाउँमा उपचारबिना बसिरहेका छन,’ उनले भने, ‘दीर्घ दम रोगले नेपालमा धेरैको ज्यान लिएको छ। दीर्घ दमरोगले मृत्यु हुनेमा विश्वमै नेपाल पहिलो स्थानमा पर्छ।’

उनका अनुसार दीर्घ दमरोगको मृत्युदर बढ्नुमा दाउरा बालेर हुर्केको पूस्ता रहनु, वायुप्रदूषण, धुम्रपान, कम तौलको जन्महुनु लगायतका मुख्य कारण रहेको उनले बताए। ‘दीर्घ दमरोग बढ्नुमा कस्तो वातावरण छ भन्ने महत्वपूर्ण हुन्छ। घरभित्रको प्रदूषण पनि कारक हो। घरभित्रको प्रदूषण हामीकहाँ बढी छ। किनभने दाउरा बालेर हुर्केको ठुलो संख्या अझ बाँकी रहेकोले आगामि दिनमा हुने मृत्युदर बढ्न सक्छ,’ उनले भने।  

दीर्घ दम रोग विश्वमा मृत्युको प्रमुख कारणहरू मध्ये एक हो। सन् २०१९ मा मात्रै यस् रोगका कारण अनुमानित ३२ लाख भन्दा बढी मानिसको मृत्यु भएको थियो। विश्वभर हुने कुल मृत्युको ८०% कम र मध्यम आय भएका देशमा हुने गरेको छ। नेपालमा, दीर्घ दम रोग मृत्युको सबैभन्दा मुख्य कारण हो। सन् २०१९ मा नेपालमा भएको कुल मृत्युको १६.३% दीर्घ दम रोगको कारण भएको थियो।

नेपाल विकास समाजका परियोजना संयोजक पवित्रबाबु सोतीले दीर्घ दम रोगको अवस्थाबारे थाहा पाउन बेसलाईन अध्ययन गरिएको र त्यसपछि स्वयंसेवक खटाइएको बताए। ‘अध्ययनले पोखरा महानगरपालिका को अर्ध–शहरी क्षेत्र (साविकको लेखनाथ नगरपालिका) मा दीर्घ दम रोगको भार र यसको जोखिम कारकको अनुसन्धान र तथ्यांकपरक विश्लेषण गर्ने लक्ष्य राखेको हो,’ सोतीले भने, ‘यस रोगको रोकथाम र व्यवस्थापन गर्न महिला स्वास्थ्य स्वयंसेविकाहरूको नेतृत्वमा समुदायमा आधारित स्वास्थ्य शिक्षा सहितको घर दैलो सेवा कार्यक्रमका सम्भाव्यता र प्रभावकारिताको मूल्यांकन गर्न पनि खोजिएको हो।’

प्रकाशित: २८ आश्विन २०७९ ०८:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App