७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

डेंगी संक्रमणको जोखिम थप डेढ महिना

गत साउनदेखि सुरु भएको डेंगी संक्रमण असोजको पहिलो साता बितिसक्दा पनि नियन्त्रणमा नआएको र थप डेढ महिना संक्रमण जोखिम रहने विज्ञहरूले औंल्याएका छन्। ‘थप डेढ महिना डेंगी संक्रमणको जोखिम छ, सबै सचेत हुन आवश्यक छ’, राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रवक्ता गोकर्ण दाहालले भने।

बिहीबारसम्ममा देशभरिमा २१ हजार ३ सय ५२ जना डेंगी संक्रमित भइसकेका छन्। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले एक सातायता डेंगीका बिरामी झनै बढेको जनाएको छ। अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीका अनुसार अस्पतालको आकस्मिक कक्ष र बहिरंग विभागमा औसत एक दिनमा सयभन्दा बढी संक्रमित बिरामी उपचारका लागि आउँछन्। तीमध्ये ६५ जना भर्ना भई उपचार गरिरहेका छन्। एक सातायता दोब्बर संख्यामा डेंगीका बिरामी आइरहेको शिक्षण अस्पताल जनरल प्राक्टिस बहिरंग विभागका प्रमुख डा. योगेन्द्र शाक्यले बताए। उनका अनुसार विभागमा आएका २२ जना बिरामीमध्ये आधाभन्दा बढी डेंगी संक्रमित रहेका छन्।

हालसम्म डेंगी संक्रमणबाट २७ जनाको मृत्यु भइसकेको महाशाखाले जनाएको छ। कुल संक्रमितमध्येमा ५० प्रतिशत संक्रमित काठमाडौं उपत्यकामा रहेको र बाँकी सातवटा जिल्लामा उल्लेखनीय संख्यामा संक्रमित बढिरहेको पाइएको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। हालसम्म ७५ जिल्लामा फैलिसकेको संक्रमण देशभरका १० वटा जिल्लामा उल्लेखनीय संख्यामा फैलिइरहेको छ। सेप्टेम्बर महिनाभित्र काठमाडौंमा ५ हजार ७ सय ९१, ललितपुरमा ३ हजार ५ सय ६०, मकवानपुरमा १५ सय ५४, दाङमा १८ सय ८९, धादिङमा ३ सय ९८, कैलालीमा २ सय ९८, गुल्मी २ सय ३७ र दार्चुलामा १ सय ९२ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा पहिलो डेंगी संक्रमित भेटिएलगत्तै राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले सातवटै प्रदेश र सबै स्थानीय निकायलाई डेंगी नियन्त्रणका लागि सचेत रहन पैरबी गरेको भए पनि १० वटा जिल्लामा अहिले पनि डेंगी संक्रमण बढ्दो क्रममा रहेको महाशाखाका प्रवक्ता डा. गोकर्ण दाहालले बताए।

यो अवधिमा महाशाखाले हरेक स्थानीय तहलाई ‘डेंगीको लार्भा खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न सुझाएअनुसार कार्यक्रम सुचारु भए पनि प्रभावकारी नबन्नु र मौसमप्रतिकूल हुनुले डेंगी नियन्त्रण चुनौती बनिरहेको प्रवक्ता दाहाल बताउँछन्। उनका अनुसार कतिपय स्थानीय तहले लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियानमा औपचारिक रूपमा मात्र लागू गरेको पाइएको बताए।  

लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान हरेक साता हरेक घरपरिवारका व्यक्तिले नियमित रूपमा गरेमा मात्र नियन्त्रण सम्भव हुने डा. दाहालको सुझाव छ। एकपटक मात्र नष्ट गरेर छाड्दा गमला, फूलदानी तया अन्य भाँडामा जम्मा भएको ठाउँमा पुन लार्भा हुँदै लामखुट्टेका रूपमा विकसित हुने भएकाले हरेक साता यो सफाइ हरेक घर र कार्यालयमा आफैंले गर्नुपर्ने दाहालले सुझाए।

प्रकाशित: ८ आश्विन २०७९ ०१:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App