coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

दूषित पानी र खानाबाट मस्तिष्कमा टेपवर्म

नेपालमा फित्तेजुका (टेपवर्म) को लार्भाले छारेरोगका साथै अन्य विभिन्न रोगसमेत बढिरहेको विज्ञ चिकित्सकहरूले औंल्याएका छन्। अस्पतालमा उपचार गर्न पुगेका छारेरोगका बिरामीमा गरिएको परीक्षणले नेपालमा टेपवर्मको लार्भा बढी मात्रामा भेटिएको वीर अस्पतालको न्युरोलोजी विभागले जनाएको छ। विभागका प्रमुख डा. सुनिल कोइरालाका अनुसार दैनिक बहिरंग विभागमा आउने न्युरोलोजीसम्बन्धी डेढ सय बिरामीमध्ये एक दर्जनजतिमा छारेरोग देखिने र तिनीहरूको पनि ३० प्रतिशतका मस्तिष्कमा टेपवर्मको लार्भा फेला पर्ने गरेको छ।

नेपालमा टेपवर्मका कारण विभिन्न समस्या भई अस्पताल आउने बिरामीको संख्या बर्सेनि बढिरहेको डा. कोइरालाले बताए। खासगरी घरबाहिर सरसफाइको ख्याल नगरी खाने व्यक्तिमा प्रदूषित पानी वा खानाका माध्यमबाट टेपवर्म पेट हुँदै मस्तिष्कमा पुगेर छारेरोगको समस्या निम्त्याउने गरेको उनको भनाइ छ। विकसित देशमा छिटपुट रूपमा देखिने टेपवर्मजन्य रोगको समस्या मध्यम तथा निम्न आय भएका मुलुकहरूमा बढी देखिने गरेको तथ्यांकले औंल्याएको छ। तथ्यांकअनुसार प्रति १ हजारमा ५ देखि १० जनामा टेपवर्मको संक्रमण देखिन्छ।

चिकित्सकका अनुसार बंगुरको मलमा टेपवर्मको अन्डा हुन्छ। मल पानीको मुहानमा पुगे पानीमार्फत र मलका रूपमा खेतबारी प्रयोग गरिए उत्पादित सागसब्जी, फलफूलबाट मानिसको पेटसम्म टेपवर्मको अन्डा पुग्छ। पेटमा पुगेको अन्डाबाट निस्कने लार्भा रगत हुँदै शरीरका विभिन्न अंगमा पुग्छन्। लार्भा जुन अंगमा पुग्छ, त्यही अनुसारको रोग लाग्ने चिकित्सकहरू बताउँछन्। टेपवर्मको लार्भा मस्तिष्कमा पुगे मस्तिष्क पानी भरिएर टाउको ठुलो हुने र छारेरोग लाग्ने, आँखामा पुगे दृष्टि गुम्ने, मांसपेशीमा पुगे गाँठा पलाउने, हड्डीमा पुगे मक्काउने तथा टुक्र्याउने जस्ता समस्या हुन्छ। टेपवर्मको लार्भा मस्तिष्कमा शरीरका विभिन्न भागमा पुगेपछि २० वर्षसम्म जीवित रहने चिकित्सक बताउँछन्। उपचारमा पुगेका न्युरो समस्याका बिरामीको एमआरआइ तथा सिटीस्क्यान गर्ने क्रममा शरीरमा टेपवर्मको लार्भा पत्ता लाग्ने गर्छ।  

नेपालमा घरबाहिर खाना खान युवकयुवती, विद्यार्थी र चालकमा यो समस्या बढी देखिएको र राम्रोसँग सफाइ तथा सफा खानेकुरा नभएका समुदायहरूमा पनि यो रोग बढी देखिएको चिकित्सकहरू बताउँछन्। काठमाडौं उपत्यकाका हकमा कतिपय समुदायले धाराको पानी नउमालीकन सिधै पिउने क्रममा टेपवर्म प्रवेश हुने गरेको उनीहरूको भनाइ छ। नेपालमा कति जनसंख्यामा यो समस्या छ भन्ने विषयमा अध्ययन भइनसकेको चिकित्सक बताउँछन्। ‘सडकमा हुने कतिपय दुर्घटना छारेरोग भएका चालकले सवारीसाधन चलाउने क्रममा भएका हुन्छन्,’ डा. कोइरालाले भने। टेपवर्मका कारण छारेरोेग लागे औषधिले त्यसलाई नियन्त्रणमा राख्न सकिने र अहिले टेपवर्म मार्ने औषधिसमेत बनिसकेकाले समयमै उपचार गरे यसले पु¥याउने थप हानिबाट बच्न सकिने चिकित्सकहरू बताउँछन्।

चिकित्सकका अनुसार काँचो फलफूल तथा सागपात, धनियाँको अचार राम्रोसँग नपकाई खाइने हुँदा यिनका माध्यमबाट पनि टेपवर्म शरीरमा प्रवेश गर्ने सम्भावना बढी हुन्छ। शरीरमा टेपवर्म पस्न नदिन सागपात, धनियाँ,फलफूल पकाएर मात्र खाने, ढलको उचित व्यवस्थापन गर्ने, पानी शुद्धीकरण गरेर मात्र पिउने, हातको सफाइ राम्रोसँग गर्नेजस्ता उपाय अपनाउनुपर्छ। आँखामा टेपवर्म छ भने शल्यक्रिया गर्न सकिने चिकित्सकहरू बताउँछन् ।

प्रकाशित: १५ भाद्र २०७९ ०२:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App