१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

नेपालमा २४ प्रतिशतलाई युवा उमेरमै मस्तिष्कघात!

मस्तिष्कघात सामान्यतः ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने भए पनि नेपालमा यो समस्या युवा उमेरमै देखिने गरेको न्युरोलोजी विभागका चिकित्सकहरूले औंल्याएका छन्। नेपालमा भने ४५ वर्षमुनिका २४ प्रतिशतभन्दा बढी संख्याका युवामा मस्तिष्कघात समस्या भइरहेको अस्पतालका न्युरोलोली विभागहरूले जनाएका छन्।

वीर अस्पताल न्युरोलोजी वार्डमा दैनिक ८ देखि १० जना मस्तिष्कघातका बिरामी भर्ना हुन्छन्। तीमध्ये २४ प्रतिशत ४५ वर्षमुनिका रहेको न्युरोलोजी विभागका प्रमुख डा. सुनिल कोइरालाले बताए। ‘जो ४० देखि ४५ वर्षभित्रका छन्, यो मस्तिष्कघात भइहाल्ने उमेर होइन। विकसित देशमा यो समस्या ५ देखि १० प्रतिशतमा मात्र छ’, डा. कोइरालाले भने।

टिचिङ अस्पताल महाराजगन्जमा उपचारार्थ आउने मस्तिष्कघातका बिरामीमध्येमा २९ प्रतिशत ५० वर्षमुनिका छन्। यस अस्पतालमा प्रतिवर्ष २५० देखि ३५० जना मस्तिष्कघात भएर उपचारार्थ पुग्छन्। यो संख्यामध्ये २९ प्रतिशत कम उमेरका पर्छन्। २०७३ सालमा वीर अस्पताल न्युरोलोजी विभागले गरेको अध्ययनअनुसार त्यो वर्ष न्युरोलोजी विभागमा उपचार गर्न आएकामध्येमा २८७ जना मस्तिष्कघातका बिरामी मात्र थिए। तीमध्येमा २२.३ प्रतिशत ४५ वर्षमुनिका थिए। न्युरो अस्पताल बाँसबारी पुगेका न्युरोलोजीका बिरामीमध्येमा ७० प्रतिशत मस्तिष्कघातका मात्र छन्। तीमध्ये १० प्रतिशत युवा उमेरका छन्।

चिकित्सकका अनुसार मस्तिष्कघात हुँदा रगतको डल्लो जमेर नलीमा अवरोध हुँदा मस्तिष्क कोषमा अक्सिजन नपुगेपछि मस्तिष्कघात हुन्छ। त्यस्तै उच्च रक्तचापका कारण मस्तिष्कको नशा फुटेर रक्तस्राव भई बे्रन हेमरेज हुँदा पनि मस्तिष्कघात हुन्छ। नेपालमा यी दुवै समस्या बढिरहेको चिकित्सकहरू बताउँछन्।

मस्तिष्कघात भएमा शारीरिक सन्तुलन बिग्रनु, आँखाको ज्योति गुम्नु, अनुहार बांगिनु, बोली लर्बरिनु आदि लक्षण देखिन्छन्। मस्तिष्कघातका लक्षण देखिएमा छिटोभन्दा छिटो उपचार गरेमा बिरामी सामान्य अवस्थामा फर्कन सक्छन्। साढे चार घन्टाभित्रै उपचारमा पुगेमा बिरामी सामान्य अवस्थामा फर्किन सक्छन्। रगतको डल्लो पगाल्न रगत पातलो बनाउने औषधी दिएर उपचार गरिन्छ।

न्युरोलो इन्टरनेभन्स सर्जन डा. सुभाष फुयालका अनुसार यो अस्पतालमा मस्तिष्कघातको अत्याधुनिक उपचार न्युरो इन्टरनेन्सन (नशाबाट रगत नलीमा भएको अवरोध÷डल्ला निकाल्ने) उपचार भएकाले पनि मस्तिष्कघातका धेरै बिरामी पुगेका हुन सक्छन्। उपचारार्थ अस्पताल पुगेका बिरामीमध्येमा केही संख्या अत्यन्त कम उमेरका छन्। उनीहरू २१ देखि ४५ वर्षभित्रका छन्।  

गत साता २७ वर्षीय युवा उमेरका मुटु रोगी मस्तिष्कघात भएर उपचारार्थ अस्पताल पुगेका थिए। अन्यन्तै कम उमेर समूहमा मुटु समस्या भएमा राम्रोसँग रक्तसञ्चार हुँदैन; जसका कारणले पनि मस्तिष्कघात हुन्छ। नेपालमा पछिल्लो समय कोभिड १९ बिरामीमा रगत जम्ने समस्या (थम्बोजिक) का कारणले पनि कम उमेरमै मस्तिष्कघात हुने गरेको देखिन्छ। वीर अस्पतालका न्युरोलोजिस्ट डा. कोइरालाका अनुसार नेपालमा मानिसको जीवनशैलीमा आएको परिवर्तन नै युवा अवस्थामै मस्तिष्कघात हुनुको मुख्य कारण देखिन्छ। आरामदायी जीवन, चुरोट तथा रक्सी सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोल नियन्त्रण नहुनु मस्तिष्कघातका मुख्य कारण हुन्। आरामदायी जीवनशैलीका कारण युवा उमेरमै मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोल उच्च हुनेको संख्या बर्सेनि बढ्दे गएको र यो समस्या भइसकेपछि पनि नियन्त्रणमा नराख्ने भएकाले युवामै मस्तिष्कघात हुने संख्या बढिरहेको डा. कोइराला बताउँछन्। यससँगै रक्सी र चुरोट सेवनले रक्तसञ्चारका नली साँघुरिने तथा रक्तचाप बढ्न गई मस्तिष्कघात हुन्छ। नेपालमा यी दुवै पदार्थ सेवन गर्ने युवा संख्या धेरै रहेको चिकित्सक बताउँछन्।

सन् २००८ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनअनुसार नेपालमा मृत्युको कारणमध्येमा मस्तिष्कघात पाँचौं नम्बरमा थियो भने सन् २०१९ को नेपाल हेल्थ सर्वेक्षणले नेपालमा मृत्युको कारणमध्येमा मस्तिष्कघात तेस्रो नम्बरमा रहेको छ।

स्वस्थ जीवनशैली र नियमित स्वास्थ्य जाँच नभएमा बर्सेनि मस्तिष्कघात हुने युवा संख्या बढ्दै जाने जोखिम रहेको चिकित्सकहरूले औंल्याएका छन्। मस्तिष्कघात भइसकेपछि शरिरका अन्य अंगमा दीर्घकालीन असर पर्ने भएकाले उनीहरू परनिर्भर बन्छन्। यसको असर उनीहरूको जीवन, परिवार र राज्यमा समेत पर्न जान्छ। ‘युवा उमेरमै यति धेरै संख्यामा मस्तिष्कघात हुनु भनेको राज्यलाई घाटा हो’, डा. कोइरालाले भने। सक्रिय उमेरको जनशक्ति परनिर्भर हुनुले राज्यलाई आर्थिक भार पर्ने चिकित्सक बताउँछन्।

मस्तिष्कघात भइसकेपछि उपचार गर्नु भनेको महँगो र सबैको पहुँचमा नरहन सक्ने अवस्था हो, यसर्थ भइसकेपछि उपचारमा जानुभन्दा मस्तिष्कघात हुनै नदिनु उचित उपाय भएको डा. कोइराला सुझाउँछन्। मस्तिष्कघात हुनबाट बच्नका लागि मधुमेह, उच्च रक्तचाप र मुटुरोगीले यी समस्या नियन्त्रणमा राख्नुपर्ने चिकित्सक बताउँछन्। यसका लागि नियमित रूपमा स्वास्थ्य जाँच गर्ने र चिकित्सकको सुझावअनुसार औषधी सेवन गर्ने, दैनिक भोजनमा सागपात तथा फलफूल पर्याप्त समावेश गर्ने, नियमित ब्यायाम गर्ने, मदिरा र चुरोट सेवन नगर्ने र तनावरहित जीवनशैली अपनाएमा मस्तिष्कघातबाट बच्न सकिन्छ।

प्रकाशित: २३ श्रावण २०७९ ०२:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App