२ पुस २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

क्यान्सर रोगको मूख्य औषधि ‘मनोबल’

क्यान्सर रोग निको भएका पूर्व क्यान्सर पीडितहरुको समूह नेपाल क्यान्सर सर्भाभर ग्रुपका सदस्यहरु।

काठमाडौंका शशांक शर्माले आफूलाई लागेको क्यान्सर रोगलाई परास्त गरेको दुई दशक वित्यो। आफूमाथि लागेको क्यान्सर रोगमाथि विजयी हासिल गरेर अहिले उनी आनन्दकासाथ नयाँं जीवन बिताइरहेका छन्। शर्मा भन्छन्, ‘अव क्यान्सर रोगमाथि विजयी हासिल गरेको २१औं वर्षका अवसरमा साथीहरुलाई पार्टी भोज दिने तयारीमा छु।’

क्यान्सर रोगका पूर्व बिरामी रोजीना मुल्मी पनि क्यान्सर रोगलाई परास्त गरी अहिले आनन्दको जीवन जिइरहेकी छिन्। क्यान्सर रोग निको हुने रोग भएको भन्दै उनी भन्छिन्, ‘पहिला क्यान्सर ह्याज नो एन्सर थियो, अहिले क्यान्सर ह्याज एन्सर भएको छ अर्थात् पहिला क्यान्सर रोग निको नहुने रोगको रुपमा थियो तर अहिले क्यान्सर रोग निको हुने रोग हो।’

क्यान्सर रोगलाई परास्त गरी नयांँ जीवन जिइरहेका शर्मा र मुल्मी दुवैको अनुभबमा क्यान्सर रोगको सबैभन्दा ठूलो औषधि मनोबल नै हो। मनोबल उच्च रहेमा क्यान्सर रोगलाई परास्त गर्न सकिने उनीहरुको अनुभब छ। उनीहरु भन्छन्, ‘त्यसकारण क्यान्सर रोगलाई निको हुने रोगको रुपमा हामीले लिनुपर्छ। क्यान्सर रोग लाग्ने वितिकै यो निको नहुने रोग हो, अब म यही रोगका कारण मर्छु भन्ने भावना त्याग्नुपर्छ।’

नेपाल क्यान्सर रोग सहयोग समूहकी उपाध्यक्ष स्वरुपा श्रेष्ठ क्यान्सर रोग निको हुने रोग हो भन्ने सन्देश देशभरि फैलाउन आफूहरुले क्यान्सर रोग लागेर निको भएका पूर्व क्यान्सर रोगीहरुको समूह ‘क्यान्सर सर्भाइभर ग्रुप’ बनाएको बताउँंछिन्। ग्रुपमा क्यान्सर रोगबाट निको भएर अहिले आनन्दमयी जीवन बिताइरहेका धेरै जना पूर्व क्यान्सर रोगीहरु सदस्य रहेको उनी सुनाउँंछिन्। ग्रुपले देशभरि नै क्यान्सर रोग निको हुने रोग हो र यसका लागि आत्मबल बलियो बनाउनुपर्छ भन्ने सन्देश प्रबाह गरिरहेको जानकारी उनी दिन्छिन्। 

नेपाल क्यान्सर रोग सहयोग समूहका महासचिव गणेशभक्त श्रेष्ठ क्यान्सरका कारण अकालबाट मृत्यु हुन जोगाउन आफूहरुले देशभरि नै चेतनामूलक कामहरु गरिरहेको जानकारी गराउँंछन्। क्यान्सर रोग निको हुने रोग हो र यसको नेपालमै सजिलै उपचार हुन्छ भन्ने जानकारी देशभरि विभिन्न कार्यक्रमहरु गरेर गरिरहेको जानकारी उनी गराउँंछन्। क्यान्सर रोगको उपचारका लागि विदेश जानु नपर्ने बरु काठमाडौंमै अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको गुणस्तीय क्यान्सर उपचार हुने अस्पताल रहेको उनी सुनाउँंछन्।  

विश्वभरिबाट वार्षिक ८२ लाख क्यान्सर बिरामीको मृत्यु हुने गरेको तथ्याङ्क छ। नेपालमा मात्र हरेक वर्ष १५ हजार मानिस क्यान्सरका कारण अकालमा मृत्यु हुनुपरेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर हरिसिद्धि ललितपुरको तथ्यांक छ। सेन्टरका अनुसार हाल नेपालमा ५० हजारको संख्यामा क्यान्सरका रोगी रहेका छन्।

प्रकाशित: २३ असार २०७९ १५:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App