१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

बाजुरामा भेटिए कालाजारका बिरामी, उपचारमा समस्या

बाजुरामा पनि कालाजार रोगका बिरामी भेटिएका छन्। बढी गर्मी क्षेत्रमा देखा पर्ने रोगका बिरामी बाजुराको उत्तरी क्षेत्रमा पनि भेटिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य सहसंयोजक आमजंग शाहीले बताएका छन्।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका बिरामीमा कालाजार रोगको लक्षण देखिएको हो। स्वास्थ्य केन्द्रमा कोल्टी क्षेत्रका चारवटा पालिका र छिमेकी मुगु, हुम्ला र कालिकोट जिल्लाका बिरामी पनि उपचारका लागि आउने गरेका छन्। स्वामीकात्तिक खापर गाउँपालिका–३ बस्ने २ वर्षका कपुर ल्वारमा कालाजारको लक्षण देखिएको छ। उपचारका लागि आएका ल्वारलाई परीक्षणपछि कालाजार रोग देखिएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले बताएको छ। कालाजार देखिएका बालकलाई परीक्षणसहित थप उपचारका लागि बाजुरा जिल्ला अस्पतालमा ल्याइएको हो। बाजुरा जिल्ला अस्पतालले पनि ल्वारलाई थप उपचारका लागि धनगढी रेफर गरेको छ। अस्पतालमा औषधि नभएपछि धनगढी पठाइएको बताइएको छ।

बाजुरामा गएको २ वर्षयता १३ जनामा कालाजार देखिएको छ। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा १२ र बाजुरा जिल्ला अस्पतालमा १ जना गरी १३ जनामा रोग देखिएको हो। कालाजारका बिरामी स्वामीकात्तिक, खापर, जगन्नाथ, हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकाका स्थानीयमा भेटिएको हो।

कर्णादी नदी आसपास क्षेत्रमा बसोबास गर्नेमा कालाजार देखिएको स्वास्थ्य कर्मीले बताएका छन्। कालाजारको उपचार बाजुरामा हुने भनिए पनि पर्याप्त औषधि नभएकै कारण थप समस्या आउने देखिएपछि बाजुरा जिल्ला अस्पतालले नेपालगञ्ज, धनगढी, सुर्खेत रेफर गर्ने गरेको छ।  

बाजुरामै उपचार नहुँदा स्थानीयलाई पनि महँगो खर्च गरेर जिल्लाबाहिर उपचार गराउन जानुपर्ने बाध्यता रहेको छ। तराईमा मात्र देखिने यो रोग पहाडी क्षेत्रमा पनि देखिन थालेको छ। कालाजार सरुवा रोग भएकाले सबैले सचेत र सुरक्षित रहन स्वास्थ्य कर्मीको आग्रह छ।

यो रोग भुसुनाको टोकाइबाट हुने र भुसुनाको टोकाइबाट सर्ने रोग हो। यो रोगको लक्षण ज्वरो आउने, तौल घट्ने, कलेजो र फियोमा असर पार्ने र अन्य संक्रमण फैलिएर मृत्यु पनि हुन सक्ने स्वास्थ्य कर्मीको भनाइ छ। २ वर्षपहिले १ बालकको मृत्युसमेत भइसकेको छ। अर्का १३ वर्षका एक बालकको पनि काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो।

प्रकाशित: ४ असार २०७९ ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App