coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

उपत्यकामा दुईजनामा हैजा

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका दुईजनामा हैजाको जीवाणु पुष्टि भएको छ। काठमाडौंको बागबजारमा बस्दै आएका २५ वर्षीया दिदी र १८ वर्षीया बहिनीमा हैजा पुष्टि भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. किजन महर्जनले बताए।

दिदीको स्वास्थ्यमा बुधबार समस्या देखिएको र बिहीबार बहिनी पनि बिरामी परेपछि नजिकको अस्पताल पुगेका दुवैमा हैजा पुष्टि भएपछि उनीहरूलाई शुक्रराज अस्पतालमा रेफर गरिएको थियो। शुक्रराज अस्पतालले पनि उनीहरूको दिसा परीक्षण गरेपछि हैजाको जीवाणु भेटिएको डा. महर्जनले बताए। उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। एकजनाको मिर्गौलामा समेत समस्या देखिएको डा. महर्जनले बताए।  

चिकित्सकका अनुसार दूषित पानीबाट हैजाको जीवाणु सरेको हुन सक्छ। चिकित्सका अनुसार हैजाको जीवाणु दिसामा पाइने भएकाले दिसा मिसिएको खानेकुरा र पानीबाट हैजा संक्रमण हुन्छ। काठमाडौं उपत्यकामा केही दिनदेखि वर्षा भइहेकाले धारामा आउने पानी दूषित हुन सक्ने र जारको पानी पनि प्रदूषित हुन सक्ने चिकित्सकले औंल्याएका छन्।  

हैजाका दुई बिरामीबाहेक तीन दिनको अवधिमा ३७ जना झाडापखालाका बिरामी शुक्रराज अस्पताल पुगेका छन्। बुधबारदेखि शुक्रबार दिउँसोसम्म झाडापखालका ३७ जना बिरामी भर्ना भएको जानकारी अस्पतालका सूचना अधिकृत नवराज गौतमले दिए। सामान्य अवस्थामा बिरामीले नजिकको औषधि पसलबाट औषधि किनेर खाने र निको नभए मात्र अस्पताल पुग्ने प्रवृत्तिका कारण समुदायमा थप बिरामी पर्न सक्ने अस्पतालका अनुसन्धान शाखा संयोजक डा. शेरबहादुर पुनले बताए। वर्षाको सिजन भएकाले झाडापखालको जोखिमबाट बच्न सावधानी अपनाउनुपर्ने उनले बताए।  

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले दुई/चारजनामा हैजा भेटिने बताए। ‘दैनिक दुई/चारजना बिरामीबाहेक उपत्यकामा झाडापखाला फैलिएको छैन,’ उनले भने।  

‘मंकिपक्स होइन’

मंकिपक्स आंशका गरी अस्पताल भर्ना गरिएका युवकमा मकिपक्स पुष्टि नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। भर्ना गरिएका युवकमा मंकिपक्स आशंका गरिएकोमा छालारोग विशेषज्ञले हेरेपछि छालासम्बन्धी अन्य रोग भएको र सोहीअनुसार उपचार प्रक्रिया थालिएको अस्पतालले जनाएको छ। अस्पतालका सूचना अधिकृत नवराज गौतमले भने, ‘छालारोग विशेषज्ञले जाँच गरेपछि मंकिपक्स नरहेको थाहा भयो।’ दुवईबाट फर्केका युवालाई बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा खटिएका स्वास्थ्यकर्मीले मंकिपक्सको आशंकामा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा रेफर गरी पठाएका थिए।

प्रकाशित: ४ असार २०७९ ००:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App