७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

बाणगंगा कपिलवस्तु कै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका

बाणगंगा नगरपालिकालाई कपिलवस्तु कै पहिलो कोभिड १९ विरुद्धको पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिएको छ। नगरपालिका भित्र रहेको १२ वर्ष माथिका सबै नागरिकहरुले कोभिडविरुद्धको खोप लगाएपछि बाणगंगा नगरपालिका कोभिडविरुद्धको पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो। पालिकाका १२ वर्ष माथिका सबै ७२ हजार ८ सय ८९ जनाले कोभिडविरुद्धको खोप लगाएको प्रतिबेदन प्रस्तुत गरिएको थियो।

कोरोना भाइरसविरुद्ध कोभिशील्ड, स्ट्राजेनिका, भेरोसिल, मोडर्ना र जोन्सन खोप लगाइएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख ठगराज पौडेलले बताए। नगरपालिकाको ७० हजार १९७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा लक्ष्यभन्दा बढी सफलता हासिल गरिएको उनले बताए। पानसमा दीप प्रज्जवलित गर्दै प्रजिअ धर्मेन्द्रकुमार मिश्राले कार्यक्रमको उद्घाटन गर्दै बाणगंगा जिल्लाकै पहिलो कोभिड १९ विरुद्धको खोपयुक्त नगर घोषणा भएकोमा बधाई दिए। उनले बाणगंगा नगरपालिका स्वास्थ्य क्षेत्रमा एक कदम अघि बढेको भन्दै जिल्लाका अन्य पालिकाले पनि सबै नागरिकहरुको पहुँचमा खोप पुर्‍याउनु पर्ने बताए।

सो अवसरमा स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले कोरोना खोप अभियानमा बाणगंगा जिल्ला कै पहिलो पालिका बनेको भन्दै यसलाई कायम राख्न आग्रह गरे। प्रजिअ मिश्राले जिल्ला खोप समन्वय समितिले बाणगंगा नगरपालिकालाई प्रदान गरेको प्रमाण पत्र प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलाई हस्तान्तरण गरेका थिए। उनले जिल्लामा ९३ प्रतिशत नागरिकमा कोरोनाविद्धको खोपको पहुँच पुगेको बताए।

अहिले सम्म ५ लाख २२ हजारले कोरोनाको खोप लगाएको उनले बताए। सो अवसरमा कोरोना खोप अभियानमा लागेका १ सय १२ महिला स्वास्थ्यकर्मी, ९८ जना स्वास्थ्यकर्मी, कर्मचारी, बिभिन्न संघ संस्था, मिडिया हाउस गरी २ सय ९७ जनालाई प्रशंसा पत्र र गम्छा ओढाई सम्मानित गरिएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले सबैको अथक प्रयासले अभियान सफल भएको बताए। उनले बाणगंगालाई नमुना नगरपालिका बनाउन सबैको साथ आवश्यक रहेको बताए।

बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य, महिला स्वास्थ्य स्वयंसेविका सन्जालको अध्यक्ष कमला चुदाली लगायतले शुभकामना मन्तब्य दिएका थिए।

प्रकाशित: १० वैशाख २०७९ १०:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App