७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

रगतमा सिसा बढ्दा जोखिममा बालस्वास्थ्य

तपाईंका बालबालिकाको दैनिक स्मरण क्षमता घटिरहेको छ? बालबालिका सुस्त बन्दै गइरहेका छन्? यस्तो समस्या देखिएको छ भने उनीहरूको रगतमा घातक रसायन लेड (सिसा) को मात्रा बढेको हुन सक्छ। पछिल्ला अध्ययनले बालबालिकाको शरीरमा लेडको मात्रा बढेको देखाएका छन्। गत साता विश्व स्वास्थ्य दिवसको अवसरमा वातावरणविद्ले वातावरणीय प्रभाव र गलत जीवनशैलीका कारण बालबालिकाको रगतमा लेडको मात्रा बढ्दै गएको औंल्याएका थिए। उनीहरूले लेडका कारण बालबालिकाको स्वास्थ्य गम्भीर जोखिममा रहेको चेतावनीसमेत दिएका छन्।  

सन् २०१७/१८ मा सामुदायिक डाइग्लोस्टिक सेन्टरले वीरगन्ज र काठमाडौंका सयजना बालबालिकालाई सहभागी बनाई एक अध्ययन गरेको थियो। जसबाट काठमाडौंका सतप्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा पाइएको थियो भने वीरगन्जका ८० प्रतिशतमा लेडको मात्रा भेटिएको थियो।

त्यसैगरी युनिसेफले सन् २०१५/१६ मा गरेको अध्ययनले ६५ प्रतिशत बालबालिकाको रगतमा लेडको मात्रा फेला पारेको थियो। रगतमा लेडको मात्रा २.५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी हुनुहुँदैन तर नेपालका बालबालिकामा ५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा बढी पाइएको हो। परीक्षण भएका सबैजसो बालबालिकामा ५ मिलिग्राम प्रतिडेसिलिटर लेड पाइएको अध्ययनले औंल्याएका छन्। रगतमा लेडको मात्रा नेपालसहित दक्षिण एसियाली मुलुकका नागरिकमा अति उच्च भेटिएको छ।

युनाइटेड इन्भाइरोमेन्ट प्रोटेक्सन एजेन्सीले मानव स्वास्थ्यका लागि रागतमा लेडको मात्रा २.५ मिलिग्राम प्रतिडेसिलिटरभन्दा माथि हुन नहुने गरी मापदण्ड तोकेको छ। जब कि बालबालिकामा लेडको मात्रा ५ मिलिग्राम प्रतिडेसिलिटरसम्म भेटिएको छ। यो अवस्था अत्यन्त घातक भएको जनसंख्या तथा वातावरण पूर्वाधार केन्द्रका कार्यकारी निर्देशक रामचरित साहले बताए। उनका अनुसार नेपालमा विद्यालय तथा चिल्ड्रेन केयर सेन्टरका भित्तामा पोतिएको रङ, बालबालिकाले खेल्ने प्लास्टिकका रंगीन खेलौनाको रङका ससाना कण धुलोमा मिसिने गर्छन्। यस्ता कण हात हुँदै मुखमा प्रवेश गर्छन्। चाउचाउ धेरै खाँदा पनि शरीरमा लेडको मात्रा बढ्न पुग्छ।  

वातावरणविद् साहका अनुसार सन् २०१५ मा काठमाडौंका स्कुलका कक्षा कोठा र अस्पतालका बालकक्षको भुइँको धुलोमा लेडको मात्रा भेटिएको थियो। यस्तै बजारमा पाइने तयारी खानेकुराका रंंगीन खोलहरू, मसालेदार खानेकुरालगायतमा पनि लेडको मात्रा पाइन्छ।

केही वर्ष पहिला आयोनुनको खोलको चित्रमा रहेको रङ परीक्षण गर्दा लेड रसायन पाइएपछि त्यस्तो चित्र हटाइएको थियो। यसैगरी अन्य खानेकुराका प्लास्टिक कभरमा रहेका चित्रमा लेडको मात्रा हुने वातावरणविद् साहले बताए। उनका अनुसार महिलाले प्रयोग गर्ने लिपिस्टक तथा अन्य कस्मेटिक सामग्रीमा समेत लेड पाइन्छ। यस्तो लेड विभिन्न माध्यम हुँदै शरीरभित्र प्रवेश गरेपछि रगत हुँदै मुटु र स्नायु प्रणालीमा पुग्छ। बालबालिकाको शरीरमा विषाक्त रसायनलाई प्रतिरोध गर्ने शक्ति कमजोर हुने हुनाले यसले बढी असर पुर्‍याउँछ। रगतमा लेडको मात्रा बढी भएका बालबालिकामा सामान्य ज्ञानको क्षमता कमजोर रहेको अध्ययनले देखाएको छ।

साहका अनुसार रगतमा लेड रसायन बढी भएमा बालबालिकामा रक्तअल्पता, सुन्ने क्षमता कम हुने, बालिकामा सानै उमेरमा महिनाबारी हुने, शरीरमा क्याल्सियम कम हुने, भिटामिन डीको कमी, पेट दुख्ने, उच्च रक्तचापको समस्या हुने र कतिपय अवस्थामा मृत्युसमेत हुन सक्छ।

लेड रसायनका कारण माटोपना, बाँझोपनासमेत आउन सक्छ।  

रगतमा लेडको मात्र बढ्न नदिन प्रदूषणमुक्त वातावरण, स्कुल तथा केयर सेन्टरमा रंङीन भित्ता नराख्ने, चाउचाउ तथा अन्य रंगीन खानेकुरा र जंकफुड खान नदिनेजस्ता उपाय अनपाउन वातावरणविद् साहले सुझाए।  

सरकारी अस्पतालमा छैन परीक्षण सुविधा

जनसंख्या तथा वातवरण प्रवर्द्धन केन्द्रले नेपालमा वालवालिकाको रगतमा लेडको मात्रा अत्यधिक भएपनि यसको परीक्षण गर्ने सुविधा सरकारी अस्पतालमा नभएको जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक राम चरित शाहले लेड परिक्षणको सुविधा सरकारी अस्पतालमा नहुँदा बालबालिकाहरू स्वास्थ्य परीक्षणबाट बंचित भएको गुनासो गरे। उनले शुक्रवार विश्व स्वास्थ्य दिवसको अवसरमा नेपालको कुनै पनि सरकारी अस्पतालमा यो सुविधा नभएको बताएका हुन्। उनले भने, ‘एकातिर रगतमा लेडको मात्रा बढ्दै गएको छ, अर्कोतिर सरकारी अस्पतालमै लेड नाप्ने प्रयोगशाला छैन,’ उनले भने।  

नेपालमा निजी क्षेत्रका सीमित प्रयोगशाला सामुदायिक डाइग्नोस्टिक ल्यावमा मात्र यसको परीक्षण हुने गरेको छ।  

धनेपालमा सन् २०१२ मै लेडको मात्रा वारे गरिएको अनुसन्धानपछि जनसंंख्या वातवरण प्रवर्द्धन केन्द्रले सरकारलाई सरकारी अस्पतालमा रगतको लेडको परीक्षण हुनु पर्ने बिषयमा सुझाएको थियो। जनसंख्या तथा स्वास्थ्य वैज्ञानिकहरूको दोस्रो सम्मेलनमै लेडको प्रस्तुति उत्कृति घोषणा भई स्वास्थ्य तथा अनुसन्धान परिषदको घोषणापत्रमा लेडको परीक्षण जाँच हुनु पर्ने सुझाव समेटिएको थियो।  

कुरा यति मात्र हैन पटक पटक स्वास्थ्य तथा जनसंख्या मन्त्री अतिथी बनि पुगेका लेड सम्वन्धी गोष्ठीमा नेपालका सरकारी अस्पतालमा लेडको प्रयोगशाला स्थापना गर्ने प्रतिबद्धता जाहेर गए। तर सुझाएको १० वर्ष पुगिसक्दा पनि सरकारले व्यवहारमा कार्यान्वयन नगरेको निर्देशक शाहको गुनासो छ। सरकारी अस्पतालमा यो सुविधा नहुँदा बालबालिकाको स्मरण क्षमता थाहा नहुने उनले बताए। ‘अमेरिकामा स्कुल भर्ना हुने वेलार्मै बालबालिकाले रगतमा लेडको रिपोर्ट पेश गर्नु पर्छ,’ उनले भने। यो अभ्यास नेपालमा हुनु पर्ने उनको सुझाव छ।

प्रकाशित: २९ चैत्र २०७८ ०१:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App