१२ असार २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

वीपी प्रतिष्ठान बचाउन युवाहरुको दिनहुँ धर्ना

इमर्जेन्सी वार्डमा उपकरण र बेड थपियो

वीपी प्रतिष्ठान बचाउन आह्वान गर्दै मंगलबार डेन्टल गेट बाहिर गरिएको धर्ना। तस्बिरहरुः रोहित राई<br>

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउन भन्दै युवाहरुले दिनहुँ धर्ना दिइरहेका छन्।  

प्रतिष्ठानको सेवा खस्कदै गएको, बेथिती र अनियमितता व्याप्त भएको र सर्वसाधारण विरामीहरुले सास्ती खेप्नु परेको भन्दै युवाहरुले ४ दिनदेखि स्वतस्फुर्त प्रदर्शन तथा धर्ना दिएका हुन्। काठमाडौंको हामी नेपाल नामको संस्थाको आह्वानमा प्रतिष्ठानमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन र धरासायी हुनबाट बचाउन 'घोपा क्याम्प बचाउ' भन्दै दिनहुँ प्रदर्शन तथा धर्ना भइरहेको हो। प्रतिष्ठानलाई घोपा क्याम्प पनि भनिन्छ।  

युवाहरुले दैनिकरुपमा दिउँसो ४ बजेदेखि धरान १८ स्थित प्रतिष्ठानको मेनगेट बाहिर शिव मार्गमा धर्ना दिइरहेका छन्। धर्नामा धरानका युवायुवतीसँगै नागरिक अगुवाहरु पनि सहभागी हुने गरेका छन्। युवाहरुले आन्दोलनको पहिलो दिन आइतबार भानुचोकबाट बृहत र्‍याली निकालेर डेन्टल गेटमा पुगेर धर्ना दिएका थिए।

सोमबारदेखि भने हरेक दिन दिउँसो ४ बजे शिव मार्गमा धर्ना दिने गरेका छन्। मंगलबार भने उनीहरुले धर्ना पछि साढे ६ बजे मैनबत्ति पनि बालेका थिए। प्रतिष्ठानको इमर्जेन्सीमा विरामीले बेड नपाएर भुँईमा उपचार भइरहेको, अप्रेशनको लागि महिनौ कुर्नु पर्ने र समय कुर्दाकुर्दै ज्यान जोखिममा पर्ने गरेको, सिटि स्क्यान र ल्याब टेष्ट गर्न अनावश्यक ढिलाई हुने, अव्यवस्थित व्यवस्थापनले जता पनि घण्टौं लाइनमा उभिनुपर्नेलगायत बेथिती र समस्याहरु अन्त्य गर्न आन्दोलन गर्नुपरेको हामी नेपालका सुदन गुरुङले बताए।  

उनले कमिशनको चक्करमा गुणस्तरहिन सामान खरिद गरी जनताको जीवन धरापमा पार्ने काम गरिएकोले विरोधमा उत्रनु परेको बताए। साथै, एमआरआई जस्तो अत्यावश्यक मेशिन नहुँदा विरामी विराटनगरलगायत अन्यत्रको अस्पताल धाउन बाध्य भएकोले खरिद गर्नुपर्ने माग गरिएको उनको भनाई छ। ‘आइसियु बेड पर्याप्त नहुँदा विरामीले ज्यान गुमाउनु परिरहेको छ,’ उनले भने,‘खरिद तथा टेण्डर प्रक्रिया पारदर्शी ढंगले सम्पूर्ण विवरण वेब साइटमा राख्नुपर्ने हाम्रो माग छ।’  

आन्दोलनकर्मीहरुले प्रतिष्ठानको पदाधिकारीहरु नियुक्तको लागि मापदण्ड तोकेर सोही अनुसार सक्षम, प्रतिस्पर्धामा अब्बल व्यक्तिलाई नियुक्त गर्न माग गरेका छन्। पदीय जिम्मेवारी पूरा नगर्ने पदाधिकारी वा जिम्मेवार पदमा बसेकाहरुले राजीनामा गर्न वा पदीय जिम्मेवारी अनुसार काम गर्न पनि आन्दोलनकारीहरुको माग छ। भ्रष्टहरुलाई कानुन अनुसार कडा कारबाही गर्न पनि माग गरिएको छ।  

उपचार सेवामा अत्यावश्यक पर्ने एमआरआई जस्ता उपकरणहरुको टेण्डर गरेर चाडो खरिद गरेर अस्पतालमा सेवा प्रभावकारी बनाउन पनि माग गरिएको छ भने हरेक तहमा अनुगमन गरेर भ्रष्टाचार अन्त्य गर्न र पारदर्शिता अपनाउन पनि माग गरिएको छ। हरेक विभाग व्यवस्थितरुपमा सञ्चालन गर्न माग गरिएको छ भने फार्मेमी पुर्णरुपमा सञ्चालन गरेर आवश्यक पर्ने औषधिहरु सहजरुपमा उपलब्ध हुने वातावरण तयार गर्नुपर्ने पनि माग गरिएको छ।

वीपी प्रतिष्ठान बचाउन माग गर्दै मंगलबा डेन्टल कलेज गेट बाहिर गरिएको दिप प्रज्वलन।

विगतमा पनि प्रतिष्ठान बारेमा भएको छानबिन प्रतिवेदन तुरुन्त लागु गर्नुपर्ने माग आन्दोलनकारीहरुको छ। यस्तै, उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषी कर्मचारी तथा पदाधिकारीहरु माथि कारबाही गर्न पनि माग छ।  

यसअघि पनि प्रतिष्ठानमा बेथिती र अनियमितता बढेको भन्दै गत असार पहिलो साता पनि चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले आन्दोलन गरेका थिए। उक्त आन्दोलनपछि सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो भने सहकुलपतिको अध्यक्षतामा गठित छानबिन समितिले पदाधिकारीहरुलाई कारबाहीको सिफारिश गरिसकेको छ। तर, सरकारले विवादित पदाधिकारीहरुलाई हटाउन सकेको छैन। सरकारले सिनेट बैठक बोलाएर पदाधिकारीहरुलाई हटाउन खोजे पनि सर्वोच्च अदालतबाट अल्पकालीन अन्तरिम आदेश जारी भएको छ।

इमर्जेन्सी वार्डमा उपकरण र बेड थपियो

वीपी प्रतिष्ठानले इमर्जेन्सी वार्डमा नयाँ मेडिकल उपकरण र बेड संख्या थप गरेर स्तरोन्नति गरेको छ। इमर्जेन्सीमा आउने विरामीहरुलाई सुलभ र प्रभावकारी ढंगले उपचार सुविधा उपलब्ध गराउन नयाँ मेडिकल उपकरण र बेडहरु थपिएको प्रतिष्ठानको भनाई छ।  

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार इमर्जेन्सीमा २० थान बेड थप गरिएको छ भने १५ थान ट्रली थप गरिएको छ। यस्तै, इमर्जेन्सी भित्रका आवश्यक स्थानहरुमा अक्सिजन लेभल, इसिजि, मुटुको चाल, श्वासप्रश्वासलगायत मनिटर गर्ने १० थान पेसेन्ट मनिटर पनि जडान गरिएको उनले बताए। यो मेशिनको जडानले विरामीको स्वास्थ्य अवस्थाबारे लगातार अनुगमन गरी विरामीको गुणस्तरीय उपचार गर्न थप सहयोग मिल्ने पनि सहप्रवक्ता डा.पोखरेलको भनाई छ।  

यस्तै, सिकिस्त विरामीहरुका लागि हाई फ्लो डिभाइस, डेफिब्रिलेटरलगायत उपकरणहरु पनि थप गरिएको छ भने इमर्जेन्सी क्रास कार्ट पनि थप गरिएको प्रतिष्ठानले जानकारी दिएको छ। सिकिस्त भएपनि भेन्टिलेटरको आवश्यकता नपर्ने विरामीहरुका लागि एचडियु (हाई डिपेडेन्सी युनिट) बेडहरु पनि चाँडै जडान गरिने सहप्रवक्ता डा.पोखरेलले बताए।  

इमर्जेन्सी ल्याबबाट दिईने सेवाहरुलाई अझ बढी द्रुत गतिमा उपलब्ध गराउने व्यवस्था गरिएको छ भने इमर्जेन्सीमा आउने विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण परीक्षणहरु इमर्जेन्सी ल्याबबाट नै गर्न सकिने व्यवस्था पनि दाबी गरेको छ। यस्तै, इमर्जेन्सीका विरामीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण औषधिहरु पनि त्यहीको फार्मेसीबाट सहजै उपलब्ध हुने व्यवस्था गरिएको सहप्रवक्ता डा.पोखरेलले बताए।

प्रकाशित: २२ चैत्र २०७८ १४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App