६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

गाउँगाउँमा ज्वरोका बिरामी, कोरोना परीक्षण शून्य

गाउँमा ज्वरो र रुघाखोकीले स्थानीय बिरामी भएको जानकारीपछि पुर्चौडी नगरपालिका–५ को कुवाकोट स्वास्थ्यचौंकीले एन्टिजेन परीक्षण गर्‍यो । माघ १४ गते १९ जनाको परीक्षण गर्दा १२ जनामा कोरोना पोजेटिभ देखियो । 

पछिल्लो समय बैतडीका अधिकांश गाउँमा ज्वरो, रुघाखोकीका बिरामी धेरै छन्। कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भए पनि परीक्षण भने गरेका छैनन्। कतिपय ठाउँका स्थानीय नै कोरोना परीक्षण गर्न अनिच्छुक देखिन्छन् भने कतिपय ठाउँमा परीक्षणको दायरा बढाउन सकिएको छैन्। कोरोना भाइरसको लक्षण देखिए पनि स्वाब परीक्षणमा ग्रामीण समुदाय अग्रसर नहुँदा यसको नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मी बताउँछन्।

लक्षणसहितको बिरामी देखिए पनि परीक्षण गर्न नमान्दा समुदायमै संक्रमण फैलिएको स्वास्थ्यकर्मी बताउँछन्। जिल्लामा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ। रुघाखोकी, ज्वरो आउने लगायतका बिरामीहरु पनि बढ्दै गएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बशन्तराज जोशीले बताए। ‘रुघाखोकीको लक्षण भएका धेरै बिरामी छन्,’ उनले भने, ‘तर कोरोना परीक्षण गराउनेको संख्या कमै छ। यस्तो अवस्थामा परीक्षण गराएमा कोरोना फैलिन पाउँदैन।’

पछिल्लो समय भीडभाड छ । मान्छे एकअर्काको सम्पर्कमा बढी छन् । स्वास्थ्य सुरक्षाको ख्याल नगर्दा संक्रमण बढदै गएको छ। ‘न स्वास्थ्य सुरक्षाको मापदण्ड छ, न दूरी नै कायम छ,’ पुर्चौडी नगरपालिकाका कोभिड फोकल पसर्न डम्वरबहादुर कुँवरले भने ‘हेलचक्राइकै कारण कोरोना संक्रमण रोकथाम गर्न समस्या बढाएको छ ।’ कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीले स्वास्थ्य परीक्षण गर्न मानेका छैनन। कोरोना परीक्षण नहुँदा उनीहरूको उपचारमा समेत समस्या परेको छ । अधिकांश बिरामी घरेलु उपचार र मेडिकलको औषधिको भरमा रहेको पाटन नगरपालिका–६ का हरिश बिष्टले बताए।

मेलौली नगरपालिकाका पनि विभिन्न स्थानमा कोरोनाको लक्षण भएका बिरामी धेरै रहेका केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका निमित्त प्रमुख मुकेशकान्त दयालले बताए। तर परीक्षण गराउनको संख्या निकै कम रहेको छ। शंकास्पद बिरामीले परीक्षण गर्न आवश्यक भएको उनी बताउँछन्। कोरोना भाइरससित मिल्दो लक्षण भएका धेरै जना परीक्षण गर्न मान्दैनन। 

मौसमी रुघाखोकी भन्दै पन्छिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। परीक्षणको दायरा भएका ठाउँका स्थानीय पनि कोरोना परीक्षण गर्न चाहदैनन्। सदरमुकाम गोठालापानीकै एक होटल व्यवसायी कोरोनासँग मिल्दाजुल्दो लक्षण भएर पनि परीक्षण गर्न गएनन्। पोजिटिभ रिपोर्ट आए होटल बन्द गर्नुपर्ने भएकाले जाँच गराउन नगएको उनी बताउँछन्।  

गाउँगाउँमा कोरोना संक्रमणको जोखिम बढे पनि कीट तथा जनशक्ति अभाव भन्दै सम्बन्धित निकाय पन्छिने गरेको स्थानीयवासीको आरोप छ। जिल्ला अस्पताल र केही स्थानीय तहका केन्द्रमा मात्र कोरोना परीक्षण भएको छ।

प्रकाशित: १९ माघ २०७८ ०९:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App