४ पुस २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

वैदेशिक रोजगारमा रहेका युवाहरुद्वारा एम्बुलेन्स हस्तान्तरण

युवाहरुले हस्तान्तरण गरेको एम्बुलेन्स। तस्बिर: योगेश/नागरिक

वैदेशिक रोजगारीका क्रममा देश बाहिर रहेका युवाहरुले आर्थिक संकलन गरेर गाउँमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेका छन्।  

टीकापुर नगरपालिका–८ धनसिँहपुरमा स्थायी बसोबास भई विभिन्न देशमा रोजगारीका क्रममा रहेका युवाहरुले धनसिँहपुर स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेका हुन्।  

वैदेशिक रोजगारीका क्रममा रहेका युवाहरुले धनसिँहपुर प्रवासी युवा समिति समेत गठन गरेका छन्। उनीहरु हाल रोजगारीका क्रममा कोरिया, जापान, अमेरिका, साउदी अरब, मलेसीया लगायतका देशमा रहेका छन्।

समितिका संयोजक ओमबहादुर साउँदले २२ जना युवाहरुले ११ लाख ७६ हजार रुपैयाँ संकलन गरेर एम्बुलेन्स खरिद गरेको जानकारी दिए। उनी स्वयम्ले एम्बुलेन्स खरिदका लागि सबैभन्दा धेरै १ लाख १५ हजार ५०० रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उनकै पहलमा एम्बुलेन्स खरिद गरिएको हो।  

उनले समयमै स्वास्थ्योपचार नपाएका कारण कैयौं व्यक्तिहरुले अकालमा ज्यान गुमाएको घटनाबाट आफू एम्बुलेन्स सेवा सञ्चालनका लागि पहल गर्न अघि सरेको बताए। यो ठाउँ टीकापुर नगरपालिकाका अन्य वडाको तुलनामा टीकापुर अस्पतालबाट भौगोलिक रुपमा टाढा छ। यो बाढी प्रभावित क्षेत्र समेत हो। यहाँका बासिन्दा वर्षौदेखी स्वास्थ्योपचारको समस्या भोग्दै आएका छन्।

संयोजक साउँदले एम्बुलेन्स सञ्चालन पश्चात स्थानीय बिरामी समयमै अस्पताल पुग्ने विश्वास व्यक्त गरे। ‘समयमै अस्पताल पुग्न सके अकालमा ज्यान जाने छैन’ उनले भने–‘हाम्रो उद्देश्य पनि यत्ति नै हो।’ उनले नै एक समारोहकाबीच टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलको उपस्थितिमा स्वास्थ्य चौकीका प्रमुख केवलसिँह भूललाई एम्बुलेन्स हस्तान्तरण गरेका छन। सो एम्बुलेन्स स्वास्थ्य चौकीले कार्यविधि तयार पारेर सञ्चालन गर्ने बताईएको छ।

एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा उपस्थित टीकापुर नगरपालिकाका मेयर रावलले युवाहरुको कामको प्रशंसा गरे। उनले हरेक युवाहरुले आफ्नो गाउँठाउँका निम्ति यस्तै रचनात्मक कार्य गर्नुपर्नेमा जोड दिए।  

समितिमा आवद्ध युवाहरुले गरेको रचनात्मक कार्यको स्थानीयस्तरबाट समेत निकै प्रशंसा भैरहेको छ। धेरैजसोले उनीहरुको प्रशंसा गर्दै सामाजिक सञ्जालमार्फत समेत धन्यवाद व्यक्त गरिरहेका छन्। युवाहरुले समिति मार्फत अन्य थुप्रै सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेका छन्।

प्रकाशित: १९ माघ २०७८ ०७:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App