संविधान सभा सदस्य तथा पूर्वमन्त्री जितेन्द्र देवले नेकपा एमाले परित्याग गरेका छन्। उनले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी छाडेको जानकारी दिएका हुन्।
विज्ञप्तिमा उनले पार्टीभित्र व्यक्तिवाद र देवत्वकरणलाई प्रोत्साहन गर्ने प्रवृत्ति हावी हुँदै गएको बताएका छन्। पार्टीैभित्र स्वेच्छाचारी र विभेदकारी ढंगले पार्टी सञ्चालन भइरहेको भन्दै त्यसप्रति गम्भीर असहमति जनाएका छन्।
सप्तरीका जितेन्द्र देव लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय थिए। पछि उनले एमाले छाडेर विजयकुमार गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा प्रवेश गरेका थिए, जहाँबाट उनी संविधानसभा सदस्य निर्वाचित भएका थिए।
फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि देव पनि कांग्रेसमा समाहित भएका थिए। कांग्रेसबाट उनी राष्ट्रियसभा सदस्य समेत बनेका थिए।उनी २०८१ असार १७ मा पुनः एमालेमा फर्किएका थिए।
प्रकाशित: १९ माघ २०८२ १२:५२ सोमबार





