ट्राफिक प्रहरीले मोटरसाइकल चोरीमा संलग्नलाई खोज्न थालेको छ । चोरीमा संलग्न एक जनालाई आज मोटरसाइकलसहित पक्राउ गरेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
भक्तपुरको सुर्यविनायक नगरपालिका ८ बाट चोरीको मोटरसाइकल सुर्यविनायक नगरपालिका ८ बस्ने २६ वर्षीय समिर त्वाटी पक्राउ परेका हुन् ।
बागमती प्रदेश ०२- ०२९ प २५९९ नम्बरको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०३३ प १२८७ नम्बर राखेर चलाइरहेको अवस्थामा त्वाटीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
काठमाडौं महानगरपालिका ४ धुम्बाराहीबाट हराएको भन्दै सर्लाहीको कविलासी नगरपालिका २ घर भएका प्रकाश सिंहले निवेदन दिएका थिए । मोटरसाइकलसहित नियन्त्रणमा आएका समिर त्वाटीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगंज पठाइएको सुवेदीले बताए ।
ट्राफिक प्रहरीले आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न सुवेदीले सुझाएका छन् ।
हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आए तापनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ ।
प्रकाशित: १९ माघ २०८२ १९:४९ सोमबार





