१६ वैशाख २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने

बबईबाट आउने नागरिकहरुलाई चेकजाँचका लागि छिन्चुमा सुरु गरिएको हेल्थडेक्स। तस्बिर: नगेन्द्र/नागरिक

कोरोना संक्रमणलाई समुदायस्तरमा फैलन नदिनका लागि सुर्खेत भित्रिने मुख्य दुई वटा नाकामा चेकजाँचलाई प्रभावकारी बनाइने भएको छ। 

कर्णालीको मुख्य प्रवेशद्वार छिन्चु र कुइनेमा भारतबाट आउने नागरिकलाई चेकजाँचसँगै संक्रमण पुष्टि भएपछि आइसोलेसनमा राख्ने व्यवस्था मिलाइने छ। मंगलबार जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले दुबै नाकामा चेकजाँचलाई प्रभावकारी बनाउनुका साथै संक्रमितहरुलाई राख्नका लागि भेरीगंगा र गुर्भाकोटमा यसअघि सञ्चालित आइसोलेसनलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको हो।

‘कुइनेमा चेकजाँचसँगै नजिकै १५ बेडको अस्पताल पनि सञ्चालन गरिएको छ,’ प्रजिअ खगेन्द्र रिजालले भने, ‘छिन्चुबाट आउने नागरिकहरुको चेकजाँच र संक्रमित पुष्टि भएकाहरुलाई राख्नका लागि भेरीगंगाको रातामाटा र गुर्भाकोटको मेहलकुना अस्पताल र सभाहलमा व्यवस्था मिलाउने निर्णय भएको छ।’  

दुबै नाकामा एम्बुलेन्स तयारी अवस्थामा राख्ने पनि निर्णय बैठकले गरेको छ। पछिल्लो दुई सातामा कोरोना संक्रमितहरुको संख्या दुई हजारको हाराहारीमा पुग्न लागेका छन्। प्रदेश सरकारले छिन्चुमा होल्डिङ सेन्टर बनाउँदै छ। २० गतेभित्र उक्त होल्डिङ सेन्टर सञ्चालनमा आउने छ। 

‘अहिले तत्कालका लागि हेल्थडेक्स स्थापना गरिएकै ठाउँमा एन्टिजेन परीक्षण गर्ने र संक्रमितहरुलाई नजिकैको आइसोलेसनमा राख्ने निर्णय भएको छ,’ प्रजिअ रिजालले भने, ‘कोरोनाको दोस्रो लहरमा प्रदेश अस्पतालले अत्याधिक चाप भोग्नुपर्‍यो, त्यसैले स्थानीय तहमा रहेका आइसोलेसन र स्वास्थ्य संस्थाहरुलाई प्रभावकारी रुपमा सञ्चालनमा ल्याउने निर्णय भएको छ।’

बैठकमा प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा.रवीन खड्काले कोरोना संक्रमण रोकथामका लागि प्रदेश सरकारले गरिरहेका कामहरुको बारेमा जानकारी दिएका थिए। डा.खड्काका अनुसार कर्णालीमा कोभिड आइसियू बेड ७० वटा तयारी अवस्थामा राखिएको छ। कर्णाली प्रदेश अस्पतालमा ३०, कालिकोट जिल्ला अस्पतालमा २०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सल्यान अस्पतालमा ६–६ वटा र रुकुम, हुम्ला र दुल्लू अस्पतालमा तीन–तीन र जाजरकोटमा दुई वटा आइसियू बेड तयारी अवस्थामा छन्।

यस्तै कर्णालीमा भेन्टिलेटरको संख्या २७ छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १३, प्रदेश अस्पताल सुर्खेतमा सात, कालिकोटमा तीन र जाजरकोटमा एक भेन्टिलेटर छन्। यस्तै एनआइसियू बेडको संख्या कर्णालीमा २० छ। कर्णाली प्रदेश अस्पतालमा आठ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६, दैलेखमा तीन, मुगुमा दुई र डोल्पामा एक वटा एनआइसियू बेड छन्। कर्णालीमा भेन्टिलेटरको संख्या तीन मात्रै छ। तीन वटै भेन्टिलेटर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छन्। कर्णालीमा अक्सिजन सिलिण्डरको संख्या एक हजार ८०५ छ भने अक्सिजन कन्सन्ट्रेटरको संख्या ४९७ छ। कर्णालीमा हाल १९२ जना डाक्टर, ३६१ नर्स कार्यरत छन्।

माक्स नलगाउनेलाई जरिवाना

जिल्ला प्रहरी कार्यालय सुर्खेतले माक्स नलगाउनेलाई जरिवाना तिराउन थालेको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टका अनुसार माक्स नलगाउनेबाट पछिल्लो दुई दिनको अवधिमा ६ हजार छ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। ‘माक्स नलगाउनेलाई जहाँ भेटायो, त्यहीँ कारवाही गर्ने गरिएको छ,’ एसपी विष्टले भने, ‘सुरुमा जनचेतनामूलक कार्यक्रम ग¥यौं, तर माक्स नलगाएर अटेर गर्न थालेपछि जरिवाना तिराउन थालेका हौं।’ वीरेन्द्रनगर उपत्यकामा मात्रै जरिवाना तिराउँदै आएको प्रहरीले यो अभियानलाई जिल्लाभर लागू गर्ने जनाएको छ।

प्रकाशित: ११ माघ २०७८ ११:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App