नेपालमा कोरोना संक्रमण सुरु भएयता एकैदिन सबैभन्दा बढी १० हजार २५८ जना संक्रमित भएका छन्।
पछिल्लो २४ घण्टामा परीक्षण भएका नमुनामध्येमा ४४.९ प्रतिशत संक्रमणदर रहेको छ। यस अवधिमा नेपालभरि २२ हजार ८ सय २८ वटा नमुना परीक्षण भएका थिए। मंगलबार पुष्टि भएका संक्रमितको संख्या नेपालमा कोरोना संक्रमण भएयताकै सबैभन्दा उच्च हो।
यसअघि कोेरोना संक्रमणको दोस्रो लहरमा गत वैशाखको अन्तिम साता एकै दिन ९ हजार ४ सय ८३ जना संक्रमित भएका थिए।
मंगलबार संक्रमण पुष्टि भएकामध्ये ५४ प्रतिशत काठमाडौं उपत्यकाका छन्। काठमाडौंमा ४ हजार ४ जना, ललितपुरमा ९ सय ७५ जना र भक्तपुरमा ५ सय ७० जनामा संक्रमण पुष्टि भएको हो।
त्यसैगरी उपत्यका बाहिर बढी संंक्रमित हुने जिल्लामा मोरङमा ५ सय ९ जना, सुनसरीमा ३ सय १० जना, झापामा १ सय ३९ जना, कास्कीमा २ सय ८७ जना छन्।
नयाँसहित नेपालमा सक्रिय संक्रमित ३९ हजार ४४ जना पुगेका छन्। सक्रिय संक्रमितमध्ये ३७ हजार ८ सय २६ जना होम र १२ सय १८ जना संस्थागत आइसोलेसनमा छन्।
त्यस्तै १ सय ५१ जनाको आइसियु र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा संक्रमणका कारण एकजनाको मृत्यु भएको छ। थपसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २४ पुगेको छ।
तीन दिनमै दोब्बरले संक्रमणदर बढेको तथ्यांकले औंल्याएको छ। यही दरमा संक्रमण बढे केही दिनमै यो संख्या निकै धेरै पुग्ने राष्ट्रिय इपिडिमियोेलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्णप्रसाद पोखरेलले बताए।
अहिले फैलिरहेको संक्रमणमा ओमिक्रोनकै बर्चस्व बढी रहेकोले धेरैजनामा गम्भीर समस्या भने नदेखिएको उनको भनाइ छ। कतिपयलाई ओमिक्रोनले पनि गम्भीर अवस्थामा पुर्याउन सक्ने भएकाले जनस्वास्थ्यका मापदण्ड सबैले कडाइपूर्वक पालना गर्नुपर्ने पौडेलले बताए।
ओमिक्रोनपछि अर्को भेरिएन्ट पनि उत्परिवर्तन भएर आउन सक्ने भएकाले खोप लिएका र नलिएका सबैले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने उनले सुझाए। ‘दुई सातामै ४० हजारजना संक्रमित हुनुको मुख्य कारण जनस्वास्थ्य मापदण्ड पालना नगर्नु नैै हो, अब सबैले पालना गराैँ’, उनले भने।
विश्वभरिको तथ्यांक हेर्दा पनि ओमिक्रोनको फैलावट बढी देखिएको तर यो भेरिएन्ट कमजोर भएकाले कम मानिसमात्र गम्भीर अवस्थामा पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। नेपालमा संक्रमितको तुलनामा अस्पताल भर्नादर अत्यन्त कम रहेको तथ्यांकले औंल्याएको छ।
संक्रमित कतिपयमा डेल्टा भेरिएन्टसमेत देखिएकाले सचेत हुन आवश्यक भएको पौडेलले बताए। यो वर्षको अन्तिमसम्म कोरोना महामारी नियन्त्रणतर्फ उन्मुख हुन सक्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ।
आमसभा, भेला, जुलुसमा रोक
कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले आमसभा, जुलुस र भेला गर्न रोक लगाएका छन्। तीनवटै जिल्ला प्रशासनकार्यालयका प्रमुखहरू (प्रजिअ) को मंगलबार बसेको बैठकले माघ मसान्तसम्म कुनै पनि प्रकारका सभा, भेला र जुलुसमा रोक लगाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले जारी गरेको आदेश कार्यान्वयन गर्न बैठकले यस्तो निर्णय गरेको जानकारी काठमाडौंकी निमित्त प्रजिअ सुप्रभा खनाल ढुंगेलले दिइन्।
‘कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले रोकथामका निम्ति शुक्रबार मन्त्रिपरिषद्ले जारी गरेको आदेश कार्यान्वयन गर्ने निर्णय हामीले गरेका हौं,’ उनले भनिन्, ‘अर्को निर्णय नभएसम्म मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यमबाट गर्ने र भौतिक रूपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जनामात्र सहभागी गराउन पाइने निर्णय गरेका हौं।
माघ ७ गतेपछि यस्ता कार्यक्रममा खोपको पूरामात्रा लगाएका व्यक्ति उपस्थित हुन पाउनेछन्।’ बैठकलगत्तै जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको आदेशअनुसार सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन।
आदेशअनुसार सार्वजनिक सवारीसाधनमा सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ। त्यस्तै सवारीसाधनको ढोका र भित्र यात्रुले प्रयोग गर्नेगरी स्यानिटाइजरको व्यवस्था गर्न चालक र सहचालकलाई मास्क र फेससिल्ड लगाउन, कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच रुपैयाँ लिएर उपलब्ध गराउन र मास्क लगाउन अटेर गर्नेलाई सवारीसाधनमा प्रवेश नदिन आदेशमा भनिएको छ।
यसैगरी माघ मसान्तसम्म उपत्यकाका धार्मिक स्थलमा हुने नित्य पूजा र प्रार्थनाबाहेकका सबै पूजामा रोक लगाइएको जानकारी निमित्त प्रजिख ढुंगेलले दिइन्।
त्यस्तै माघ १५ गतेसम्म सिनेमा हल, डान्स बार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना र फुटसल सञ्चालनमा रोक लगाइएको छ। यसैगरी १५ गतेसम्म विद्यालय, विश्वविद्यालय, कलेज र अन्य प्रकारका शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाएर सञ्चालन गर्नुपर्नेछ।
विद्यालय, कलेजका पूर्वनिर्धारित परीक्षा, वैदेशिक रोजगारी र अध्ययनका लागि सञ्चालन गरिने भाषा परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्नेछ।
तीनवटा जिल्ला प्रशासन कार्यालयको आदेशमा सपिङ मल, डिर्पाटमेन्ट स्टोर, सुपरमार्केटलगायतमा किनमेल गर्दा एक पटकमा २५ जनाभन्दा बढी हुन नहुने, दुई जनाबीच कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गरी मास्क अनिवार्य रूपमा लगाउनुपर्ने उल्लेख छ।
त्यस्तै माघ ७ गतेदेखि तीनै जिल्लाका सार्वजनिक निकायमा सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरिएको छ। कार्यालय तथा पसलहरूमा स्यानिटाइजर र मास्क प्रयोग अनिवार्य गरिएको छ। पार्टी प्यालेसमा कुल क्षमताको बढीमा एक तिहाइमा नबढ्ने गरी जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा ५० जनामात्र उपस्थित हुन पाइने छ।
प्रकाशित: ५ माघ २०७८ ००:४१ बुधबार




