२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

स्वास्थ्यकर्मी संक्रमित हुँदा सेवा प्रभावित

दिनहुँ कोरोना संक्रमण तीव्र रुपमा बढेसँगै राजधानीका मुख्य कोभिड अस्पतालको सेवा प्रभावित हुन थालेको छ।

टिचिङ अस्पताल महारागन्जमा कार्यरत जनशक्तिमध्ये सोमबारसम्ममा २ सय जनामा कोरोना संक्रमण पुष्टि हुँदा नियमित सेवा प्रभावित हुन थालेको अस्पतालले जनाएको छ।

निर्देशक डा.दिनेश काफ्लेका अनुसार अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरिएका बिरामीमा कोरोना पुष्टि भएपछि यो सेवा रोकिएको छ। त्यसैगरी स्वस्थ जनशक्ति कम भएपछि अस्पतालको नियमित शल्यक्रियासमेत कम भइसकेको र आकस्मिक शल्यक्रिया मात्र चलाएको उनले बताए। ‘अप्रेसन गरेका बिरामीसमेत संक्रमित भएपछि कोभिड वार्डमा सार्नुपरेको अवस्था छ’, उनले  भने, ‘अप्रेसन गरे पनि बिरामी कुरुवा र सामुन्नेका बिरामीबाट अपे्रसन गरेका बिरामीलाई कोभिड सरेमा निको नहुने डर हुन्छ।’

उता वीर अस्पतालमा पनि सोमबारसम्ममा १ सय २ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेको अस्पतालले जनाएको छ। दैनिक संक्रमित हुने क्रम बढेपछि अस्पतालको अन्कोलोजी वार्ड, प्याथोलोजी र रेडियोलोजी सेवा प्रभावित भइसकेको छ।

सोमबारसम्ममा यो अस्पतालमा ४२ जना नर्सिङ कर्मचारी र २५ जना चिकित्सकमा संक्रमण पुष्टि भएको छ। यो क्रम जारी रहेमा नियमित सेवा अवरुद्ध हुने अस्पतालका कोभिड १९ संयोजक डा.प्रज्वल श्रेष्ठले बताए। जनशक्ति कम हुँदै गएपछि दुईवटा वार्डका बिरामीलाई एउटै वार्डका नर्सले हेरचाह गर्नुपरेको डा.श्रेष्ठले बताए।

हाल अस्पतालमा ८१ जना कोरोना संक्रमित रहेकोमा १६ जनाको आइसियु, ५ जनाको हाइडिपेन्डेन्सी युनिट र ४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबारसम्ममा ८० जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भइसकेका छन्। यसका कारण स्वस्थ स्वास्थ्यकर्मीलाई ड्युटीको भार परेको अस्पतालका निर्देशक डा.रवि शाक्यले बताए। ‘कतिपय विभागमा सबै जना संक्रमित भएका छन्’,उनले भने। अस्पतालका ३८ जना स्वास्थ्यकर्मी र ४२ जना कर्मचारी संक्रमित भएका हुन्। ‘तानतुन गरेर काम चलाइरहेका छौं। योभन्दा तीव्र गतिमा बढेमा चुनौती हुने देखिन्छ’, उनले भने।

कोरोना संंक्रमणदर ३८.६ प्रतिशत

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणदर ३८.६ प्रतिशत पुगेको छ । दुई सातामै संक्रमणदर ३६.१ विन्दुले बढेको छ । पुस १९ गते नेपालमा कुल कोरोना संक्रमणदर २.५ प्रतिशत थियो।

गत २४ घण्टामा परीक्षण १७ हजार ४ सय ६५ नमुनामध्ये ६ हजार ७ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। यीमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकाका छन्। विवरणअनुसार काठमाडौंमा २ हजार ९ सय ४३, ललितपुरमा ७ सय ९५ र भक्तपुरमा २ सय १ जना गरी ३ हजार ९ सय ३९ जनामा संक्रमण पुष्टि भएको छ।

यो हिसाबले कुल संक्रमित संख्याको ५० प्रतिशत उपत्यकामा देखिन्छ। त्यसैगरी रुपन्देहीमा १ सय ५४ जना, मोरङमा २ सय ६० जना, झापामा १ सय ९२ जनामा कोरोना पुष्टि भएको छ।

थप संक्रमितसहित नेपालमा ९ लाख ६१ हजार ९ सय ४० जनामा कोरोना पुष्टि भइसकेको छ। यीमध्ये ३० हजार ८ सय ७७ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्येमा २९ हजार ७ सय ५ जना होम आइसोलेसनमा, ११ सय ७२ जना संस्थागत आइसोलेसनमा छन्।

१ सय ३९ जनाको आइसियु र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा  थप ३ जनाको मृत्यु भएको छ। थप मृतकसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ।

प्रकाशित: ४ माघ २०७८ ००:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App