१५ चैत्र २०८० बिहीबार
स्वास्थ्य

फार्मेसी नपढेकाले बेच्छन् औषधि

सेती प्रादेशिक अस्पतालको अगाडि रहेको सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा फार्मेसी नपढेका व्यक्तिले औषधि बेचिरहेका छन्।

औषधि ऐन २०३५ लाई अटेर गर्दै साझा स्वास्थ्य सेवाको धनगढी शाखाले औषधि बिक्री कक्षमा अप्राविधिकबाट औषधि बेचबिखन गरिरहेको हो। सुदूरपश्चिमकै रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालको गेटै अगाडि खोलिएको साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा ४ वर्षदेखि अप्राविधिक (नन फार्मेसी) ले औषधि बिक्री वितरण गर्दै आएका हुन्।

औषधि ऐन २०३५ को दफा १७ को उपदफा (१),(२),(३) र (४) मा स्पष्टरूपमा औषधि बिक्री गर्न फर्मासिष्ट, फार्मेसी सहायक वा औषधि व्यवसायीको रोहवरमा अप्राविधिकले बेच्न पाउँछ।अन्यथा प्राविधिकहरूले नै बेच्ने उल्लेख गरिएको छ।

तर, साझा स्वास्थ्य सेवाको बिक्री कक्षमा बिहानी सिफ्टमा फार्मेसी सहायकले औषधि बेचिरहे पनि दिउँसोको सिफ्टमा फार्मेसी सहायक,फर्मासिष्ट या व्यवसायीको रोहवरबिनै अप्राविधिक व्यक्तिले औषधि बेचिरहेका छन्।

फार्मेसी नपढेको तथा औषधि ऐन २०३५ मा उल्लेख गरिए बमोजिम योग्यता नपुगेका व्यक्तिले औषधि बेच्दा सिधै जनस्वास्थ्यसँग खेलवाड भएको राष्ट्रिय उपभोक्ता मञ्चका सुदूरपश्चिम प्रदेश संयोजक हरि रेग्मीले बताए।

उनले भने,‘एउटा जिम्मेबार संस्थाले यस्तो गलत कार्य गर्न पाइँदैन, त्यसमा पनि यो सिधै आम उपभोक्ताको स्वास्थ्यसँग खेलवाड भयो ।’ उनले साझा स्वास्थ्य सेवाको औषधि बिक्री कक्षले अप्राविधिक व्यक्तिलाई औषधि बेच्न राखेको भएमा त्यसलाई कारबाही गरिनुपर्ने बताए। ‘यस्तो गम्भीर त्रुटि भएको देखिएमा साझा स्वास्थ्य सेवा केन्द्रलाई कारबाही गरिनुपर्छ,’ उनले भने, ‘यो सरासर गलत भयो।’

जनस्वास्थ्यमाथि साझा स्वास्थ्य सेवाले खेलवाड गरिरहेको राष्ट्रिय फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष महाओमराज जोशीले बताए। उनले भने, ‘हामी लाखौं खर्चेर औषधि बेच्ने शिक्षा पढ्छौं, तर राजनीतिक नियुक्तिका आधारमा अप्राविधिकलाई औषधि बेच्न राखिन्छ, यो सरासर औषधि ऐनको बर्खिलाप हो।’ साझा स्वास्थ्य सेवामा औषधि बिक्रीका लागि बेलुकी सिफ्टमा खटिने अप्राविधिक पूर्णबहादुर सिजापतीले आफूलाई केन्द्रले औषधि पसलको काउन्टरमै औषधि बेच्नलाई खटाएको स्वीकारे।

उनले भने, ‘मलाई माथिबाटै यहीँ खटाएको छ, डाक्टरले लेखेको औषधि पढेर सेवाग्राहीलाई दिने गरेको छु ।’ पर्याप्त कर्मचारी नभएकै कारण आफूलाई औषधि बिक्री कक्षमा राखेको हुनुपर्ने उनी बताउँछन्। ‘कर्मचारी नभएकै कारण मलाई औषधि बिक्री कक्षमा राखेको होला,’ उनले भने,‘धेरै वर्ष भइसक्यो औषधि बेच्दै आएको त्यही आधारमा डाक्टरले लेखेको औषधि सेवाग्राहीलाई दिने गरेको छु।’

साझा स्वास्थ्य सेवा धनगढी शाखाका प्रमुख रुद्रनारायण यादवले सेती प्रादेशिक अस्पताल अगाडि राखिएको साझा स्वास्थ्य सेवाको औषधि बिक्री कक्षमा एक जना फार्मेसी नपढेका व्यक्तिले औषधि बेचिरहेको स्वीकारे।

उनले भने, ‘फार्मेसी नपढेको एकजना व्यक्तिले बेलुकीको सिफ्ट चलाइरहेका छन्, माथिबाटै उनलाई नियुक्ति दिएपछि कसको के लाग्छ र?’ उनले यस विषयमा साझा स्वास्थ्य सेवाका महाप्रबन्धकलाई जानकारी गराइसकेको बताए। ‘अब एक/दुई दिन भित्रै तपाई आफै थाहा पाइहाल्नुहुन्छ,’ उनले भने, ‘यसमा पनि गम्भीर छौं, विस्तारै सुधारतिर लाग्छौं।’

औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगन्ज प्रमुख नीलु श्रेष्ठले औषधि ऐन २०३५ अनुसार औषधि बेच्ने व्यक्ति नरहेमा फार्मेसीलाई विभागीय कारबाही हुने बताइन्।

उनले भनिन्,‘हामी अनुगमन गछौं, यदि कानुन मिचेको पाइएमा हामी कारबाही प्रक्रिया अगाडि बढाउँछौं।’ कारबाहीमा औषधि पसल सिल गरिने या केही दिन बन्द गराउने नियम रहेको उनी बताउँछिन्।

प्रकाशित: २९ पुस २०७८ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App