१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

के फेरि होला लकडाउन?

पछिल्लो समय नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण बढ्दै गएको छ। यसको संक्रमण बढेसँगै फेरि लकडाउन होला कि न होला? भन्ने प्रश्नले सबैको मनमा आशंका उत्पन्न गरेकाे छ।

ओमिक्रोन फैलिन सुरु भएसँगै आम सर्वसाधारणमा पुनः लकडाउन हुने त हैन नि? भन्ने त्रास पनि कायमै छ। २०७६ साल चैतदेखि सुरु भएको लकडाउनमा सर्वसाधरणले धेरै दुःख कष्ट भागेका थिए। त्यसले गर्दा पनि अहिले यो प्रश्नले सबैलाई सताइरहेको छ।

‘बल्ल व्यवसायले गति लेला जस्तो भएको थियो। फेरि लकडाउन होला भन्ने त्रासले सताएको छ,’ भन्दै न्याउँरो अनुहार लगाएर गोठाटारका फर्निचर पसले शुक्र तामाङले दुखेसो पोखे। उनको मात्र हैन, आम सर्वसाधरणमा फेरि लकडाउन होला की नहोला भन्ने अन्यौलता छाएको छ। सरकारले यसबारे प्रष्ट धारणा त राखेको छैन। तर उसले तयारी भने थालेको छ।  

कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका लागि काम अघि बढेको छ। कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी)को हिजो आइतबार बसेको बैठकले सरकारलाई दिएको सिफारिस अनुसार माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। तत्पश्चात् सर्वसाधरणमा फेरि लकडाउन हुन्छ कि भन्ने चिन्ताले सताएको हो।

कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसी) का प्रवक्ता सुनिता नेपालले तत्काल लकडाउन गर्नेभन्दा पनि संक्रमणको अवस्थालाई हेरेर अगाडिको निर्णय गर्ने बताइन्। फेरि लकडाउन हुन्छ त? भनेर नागरिकले सोधेको प्रश्नमा उनले भनिन्, ‘संक्रमणको संख्या र विज्ञको रायसुझावलाई आधार मानेर अगाडिको निर्णय लिने छौ। यो केही दिनको स्थितीमा फरक पनि पर्न सक्छ।’

सम्बन्धित जिल्लाका प्रमुखहरुलाई त्यहाँको अवस्थाको नियमन गर्ने र आवश्यक कडाई गर्ने अधिकार भने दिइएको उनले बताइन्। ‘जोखिम अनुसार जिल्ला जिल्लामा केही कडाई हुन सक्छ,’ उनले भनिन्, ‘अरु अहिल्यै  भन्ने अवस्था भने छैन। अर्थतन्त्र पनि चलायमान होस, जीवन पनि जोखिममा नपरोस भन्ने चाहना रहेको उनले सुनाइन्।

यता जिल्ला तथा स्थानीय तहहरुमा भने स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्ने, खोप कार्यक्रमलाई तीव्रता दिने र स्वास्थ्य पूर्वाधार तयारी अवस्थामा राख्ने गरी तयारी थालिएको  छ। जिल्लामा आ–आफ्नो ढंगले गर्नुपर्ने कामको तयारीका लागि आइतबार भक्तपुरका प्रमुख जिल्ला अधिकारीले  सर्वपक्षीय बैठक समेत बोलाइन्।  

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले लकडाउनको विषयमा अहिले केही निर्णय नभएको तर स्वास्थ्य मापदण्डका विषयमा कडाई गरिने बताइन्। ‘लकडाउन हुने नहुने बारे निर्णय सरकारले गर्ने हो,’ उनले भनिन्, ‘तर हामी अहिले हरेक अवस्थाको तयारीमा जुटेका छौं।’ आफूहरुले आजैबाट मास्कको अनिवार्यता, सवारी साधनमा निगरानी राख्ने लगायतका काम थालनी गरेको उनले सुनाइन्। ‘स्वास्थ्य मन्त्रालयले  गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशन बमोजिम स्थानीय परिस्थिति अनुसार हामीले जिल्लाभित्र गर्नुपर्ने काम गर्दे छौ,’ उनले भनिन्, ‘यसका लािग काठमाडौं उपत्यकाभित्र एकीकृत रुपमा समन्वयात्मक विधिबाट काम गर्ने छौं।’  

नेपालमा लगातार ओमिक्रोनको संक्रमणमा वृद्धि भएसँगै स्मार्ट लकडाउन गर्नेबारे सरकारले आन्तरिक छलफल समेत सुरु गरेको छ। यस विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा समेत छलफल भएको छ।

शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको सीसीएमसी बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको स्वास्थ्य मन्त्री विरोध खतिवडाले बताए।

प्रकाशित: २६ पुस २०७८ ०९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App