१८ चैत्र २०८२ बुधबार
image/svg+xml
स्वास्थ्य

उत्तरी गोरखाबाट बिरामी र सुत्केरीको उद्धार सहज बनाउन कांग्रेस गोरखाको माग

नेपाली कांग्रेस गोरखाले उत्तरी गोरखाका सुत्केरी महिला र सिकिस्त बिरामी हेलिकप्टरबाट उद्धार गर्दा झन्झटीलो प्रक्रिया अपनाउनु परेको प्रति ध्यानाकर्षण भएको जनाएको छ।

कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको जिल्ला समितिको पहिलो बैठकले उक्त झन्झटिलो प्रक्रियालाई सहज बनाउन जिल्ला प्रशासन, गृह मन्त्रालय लगायत निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको सचिव किशोरजंग थापाले बताए।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा उद्धार गर्न कागजी प्रक्रिया मिलाउँदा तीन दिनसम्म पनि उचार पाउन नसकेको, उद्धार हुन नसकेको भन्दै त्यस क्षेत्रका सदस्यहरुले बैठकमा विषय उठाएका थिए। नागरिकको ज्यान बचाउनु पहिलो दायित्व भएको भन्दै कांग्रेसले उक्त निर्णय गरेको र तत्काल ध्यानाकर्षण गर्ने निर्णय गरेको सचिव थापाले बताए। नव निर्वाचित समितिले सामाजिक मुद्दालाई पहिलो प्राथमिकता दिने योजना अनुसार पहिलो बैठकले यो निर्णय गरेको जिल्ला समितिले जनाएको छ।

पहिलो जिल्ला समिति बैठकमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, कमला पन्त, चिनकाजी श्रेष्ठ पनि सहभागी थिए। बैठकले कांग्रेसका नेता कार्यकर्ताले समुदायमा सहयोग गर्दा संस्थागत रुपमा गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ। साथै पार्टीको सबै क्रियाकलाप संस्थागत गर्ने पनि निर्णय भएको सचिव थापाले जानकारी दिए। वडा, पालिका, प्रदेश क्षेत्र, क्षेत्रीय स्तरमा प्रशिक्षण गर्ने निर्णय कांग्रेसले गरेको छ। हरेक महिनाको ३ गते जिल्ला समितिको बैठक बस्नेछ।

पहिलो बैठकमा पालिका सभापति, प्रदेश, क्षेत्रीय सभापति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, जिल्ला समितिको उपस्थिती रहेको थियो।

प्रकाशित: १२ कार्तिक २०७८ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App