काठमाडौं प्रवेश गर्ने त्रिभुवन राजपथअन्तर्गत नागढुंगा–सिस्ने खण्डमा निर्मित सुरुङमार्ग सञ्चालनमा आएसँगै नेपालको सडक सुरुङ युगमा प्रवेश गरेको छ। यो सुरुङमार्ग सञ्चालनमा आएपछि यसको जस लिने होडमा सरकार र राजनीतिक दल जुटेका छन्। तर सुरुङमार्ग प्रवेश गर्ने राजमार्गको दुरवस्थाका विषयमा भने कसैलाई चासो र चिन्ता छैन। राजमार्गको दुरवस्थाका कारण यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
काठमाडौंबाट नौबिसेसम्म त्रिभुवन राजपथ पर्छ। पोखराबाट सुरु हुने पृथ्वी राजमार्ग नौबिसेमा आएर मिल्छ। काठमाडौं प्रवेश गर्ने यो मार्ग अतिव्यस्त हुन्छ। यो मार्गमा दैनिक हजारौं सवारी र मालवाहक साधन गुड्छन्। पूर्वपश्चिम राजमार्गको नारायणगढबाट काठमाडौं जाने सडक मुग्लिनमा पुगेर पृथ्वी राजमार्गमा मिल्छ। पृथ्वी राजमार्गमा मिल्ने नारायणगढ–मुग्लिन खण्ड पहिरोको चपेटामा छ।
राजधानी काठमाडौं प्रवेश गर्ने मुग्लिन–नागढुंगा खण्डको ९४ दशमलव ६२ किलोमिटर निर्माणाधीन छ। नारायणगढ–मुग्लिन खण्डअन्तर्गत तुइनखोलाको पहिरो रोकथामको काम सुरु भएको छ। सडक विस्तार र पहिरो रोकथामको काम गर्दा आवश्यकताअनुसार सडकमा गाडी चलाउन रोक लगाइन्छ। यसबाट यात्रु समस्यामा पर्छन्। बाबरी कन्स्ट्रक्सन प्रालिले तुइनखोलाको पहिरो क्षेत्रलाई सुरक्षित बनाउन २२ करोड २१ लाख रुपैयाँमा ठेक्का पाएको छ। १० महिनाभित्र काम सक्ने लक्ष्य रहेको साइट इन्चार्ज लक्ष्मीप्रसाद सुवेदीले जानकारी दिए।
विस्तार र पुनर्निर्माणका लागि २०७९ पुस ७ गतेदेखि ठेक्का लागेको मुग्लिन–नागढुंगा खण्ड दुई पटक म्याद थप्दा पनि अझै सकिएको छैन। काम छिटो सक्न यो खण्डलाई तीन भागमा बाँडिएको छ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा करिब ११ अर्ब ४३ करोड रुपैयाँ लागतमा मुग्लिन–नागढुंगा खण्ड विस्तार र पुनर्निर्माण थालिएको हो। तीन खण्डमध्ये मुग्लिन–मलेखुको काम ४५ प्रतिशत भएको नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इन्जिनियर सचेन्द्र मिश्रले जानकारी दिए। पश्चिम खण्डमा ३८ दशमलव ८६ किलोमिटर छ। यो खण्डको ठेक्का शर्मा–जेडआइसिजी जेभीले चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा पाएको हो। पहिलो पटकको म्याद गत पुसमा सकिएको थियो। त्यसपछि थपिएको १८३ दिन म्याद असारमा सकिएको मिश्रले जानकारी दिए। तेस्रोपटक म्याद थपका लागि सडक विभागमा पत्र पठाइएको उनले बताए।
‘यो परियोजनाको सुरुवाती दिनमा सडक क्षेत्रका रुख हटाउन कानुनी अल्झन खेप्नुप¥यो। त्यसपछि घर, बिजुलीका पोल हटाउन समय लाग्यो,’ मिश्रले भने, ‘त्यसपछि रुस–युक्रेन, अमेरिका–इरान युद्धका कारण पेट्रोलिय पदार्थको मूल्य बढ्यो, कच्चा पदार्थ पाउन सकिएन।’ यस खण्डमा पर्ने कुरिनटार, फिस्लिङ, चारौंदी र विशालटार क्षेत्रमा कालोपत्रेको काम भइरहेको छ। खहरे, चिराउदी, गोमती र हुग्दी खोलामा निर्माणाधीन चारवटा पुलको ९० प्रतिशतभन्दा बढी काम भइसकेको आयोजनाले जनाएको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले दुइटा खण्ड हेर्छ। नौबिसे–मलेखु खण्डको भौतिक प्रगति ६२ दशमलव ५ प्रतिशत र वित्तीय प्रगति ४९ दशलव भएको योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर राजीव मानन्धरले जानकारी दिए। ४३.५४ किलोमिटर लामो यो खण्ड निर्माण ठेक्का जेडआइसिजी, शर्मा र लामा जेभीले पाएका छन्। ‘सम्झौताअनुसार तीन तहको कालोपत्रे गर्नुपर्छ। अहिले दोस्रो तहको २२ किलोमिटर कालोपत्रे भएको छ। साढे दुई किलोमिटर ढलान भइसकेको छ,’ उनले भने ‘सो क्षेत्रमा अब फाइनल गर्न बाँकी छ।’
यो खण्डमा बनाउनुपर्ने १६ वटा पुलमध्ये १३ वटाको काम सकिएको छ। तीनवटा पुलको काम अन्तिम चरणमा रहेको मानन्धरले बताए। यो खण्डको पहिलोपटक थपिएको म्याद अक्टोबरमा सकिँदैछ। पाँच अर्ब ३३ करोड १९ लाख रुपैयाँमा विस्तार र पुनर्निर्माण सम्झौता गरिएको यो खण्डमा बढी सवारी चाप हुने क्षेत्रलाई प्राथमिकतामा राखेर कालोपत्रे भइरहेको उनले बताए।
नागढुंगा–नौविसे खण्ड १२ दशमलव २६ किलोमिटर लामो छ। यो खण्ड निर्माण सुरु भएको पाँच वर्षमा पनि सकिएको छैन। नागढुंगा–मुग्लिन सडक योजना (पूर्वीखण्ड)का सूचना अधिकारी मानन्धरका अनुसार यो खण्डको भौतिक प्रगति ८८ दशमलव ८८ र वित्तीय प्रगति ८४ प्रतिशत छ। ‘तीन खण्डमध्ये पहिलो खण्ड (नागढुंगा–नौविसे) को प्रगति राम्रो छ,’ उनले भने ‘दुई तहको कालोपत्रे १२ किलोमिटर सकियो। ६ किलोमिटर फाइनल भइसकेको छ।’
पहिलो प्याकेजमा दुईवटा पुल छन्, जसको ९५ प्रतिशत काम सकिएको उनले बताए। निर्माण कम्पनीले तीन महिना म्याद थपका लागि समय मागेका छन्। यस खण्डको अन्तिम म्याद जेठसम्म थियो। अहिले म्याद थपका लागि सडक विभागसँग कुराकानी भइरहेको छ। यो खण्डको ठेक्का एक अर्ब ३० करोड रुपैयाँ लागत जाङ्सु–सगुन जेभीले पाएको हो।
प्रकाशित: १२ श्रावण २०८३ ०७:५८ मंगलबार




-600x400.jpg)
-600x400.jpg)