७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

प्रदेश अस्पतालमा अब अतिरिक्त सेवा

तस्बिर: कर्णाली प्रदेश अस्पताल।

कर्णाली प्रदेश अस्पतालले सोमबारदेखि अस्पतालमै विहान दुई घण्टा विशेषज्ञ सेवा सुरु गरेको छ। प्रदेश अस्पातालले शनिबारबाहेक विहान सात बजेदेखि नौ बजेसम्म चार सय रूपैयाँ शुल्क लिएर विशेषज्ञ सेवा सुरु गरेको हो।

‘नौ बजेदेखि दिउँसो दुई बजेसम्म ओपीडीमार्फत सेवा दिइँदै आएकोमा अब विहानको दुई घण्टा विशेषज्ञ सेवा पनि बिरामीहरुले पाउनु हुनेछ,’ अस्पताल निर्देशक डा. डम्वर खड्काले भने, ‘निजी अस्पताल र क्लिनिकमा भन्दा सस्तो शुल्क लिएर विशेषज्ञ सेवा सुरु गरेका हौं।’ निजी अस्पताल र क्लिनिकमा यो सेवा लिनका लागि छ सय रुपैयाँ शुल्क तिर्नुपर्छ। अस्पतालले भने चार सय रुपैयाँमै विशेषज्ञ सेवा सुरु गरेको हो।

डा. खड्काले टाढाबाट उपचारका लागि आउने बिरामीहरुको सहजताका लागि विहानी शत्रमा विशेषज्ञ सेवा सुरु गरिएको बताए। ‘सस्तोमा उपचार गर्न चाहनेहरुका लागि ओपीडी सेवा छँदैछ,’ उनले भने, ‘टाढाबाट आएका, निजी अस्पताल र क्लिनिकमा गएर महंगो शुल्क तिर्नुपर्ने बाध्यता रहेका बिरामीहरुका लागि विशेषज्ञ सेवा प्रभावकारी हुने अपेक्षा हामीले गरेका छौं।’

प्रदेश अस्पतालले विशेषज्ञ सेवा अन्तर्गत बालरोग, मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग, हाडजोर्नी तथा नसा रोग, नाक, कान, घाँटी रोग, छाला, सौन्दर्य तथा यौनरोग, मानसिक रोग सेवा उपलब्ध गराउने छ। यस्तै तत्काल सर्जरी (अप्रेशन) गर्नुपर्ने भएमा नियमित भन्दा ५० प्रतिशत अतिरिक्त शुल्क लिएर सेवा लिन सकिने उनले जानकारी दिए।

कर्णालीमै पहिलोपटक प्रदेश अस्पतालले अतिरिक्त सेवाको सुरुवात गरेको हो। ‘अस्पतालभित्र दिइने अतिरिक्त विशेषज्ञ सेवा नेपालका अन्य अस्पतालहरुमा सञ्चालनमा रहेपनि कर्णालीमा भने यो पहिलो हो,’ अस्पताल निर्देशक डा. खड्काले भने, ‘निजी अस्पताल तथा क्लिनिकहरुमा महंगो शुल्क तिर्न नपरोस् भन्ने उद्देश्यले छिटो र सहज सेवा दिन अतिरिक्त सेवाको सुरुवात गरिएको हो।’

प्रकाशित: १ कार्तिक २०७८ १४:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App