७ वैशाख २०८१ शुक्रबार
स्वास्थ्य

कपिलवस्तुमा झाडापखाला प्रकोप: बेड अभावले भुईंमा उपचार

कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाका प्रकोप झनै फैलिँदै गएको छ। नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का एक दर्जन गाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिरामीको संख्या निरन्तर बढ्दै गएको हो। प्रकोप सुरु भएको पाँचौ दिनसम्म पनि अझै नियन्त्रणमा आएको छैन। झाडा पखालाबाट ५ वर्षीय बालक र ४५ वर्षीय पुरुषको मृत्यु भइसकेको छ। गत आइतबार साँझबाट त्यहाँ झाडापखालाको प्रकोप सुरु भएको थियो।

महामारीबाट कृष्णनगर नगरापलिकाको बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरा प्रभावित भएका छन्। अस्पताल प्रशासनका अनुसार बिहीबार बिहानसम्म बहादुरगंज अस्पतालमा ३ सय ७० जना बिरामी सम्पर्कमा आएका छन्। तर स्थानीयबासीले भने अस्पताल र निजी क्लिनिकमा गरी बिरामीको संख्या ५ सय नाघेको बताएका छन्।

स्थानीय मनिष गुप्ताले झाडापखालाको बिरामीको संख्या ५ सय नाघेको बताए। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयका अनुसार बहादुरगंज अस्पतालमा सम्पर्कमा आएका बिरामी ३ सय ७० जना बिरामीमध्ये १ सय १० जना उपचारत छन्। २ सय २८ जना बिरामी निको भई घर फर्किसकेका छन्। जटिल खालका ३२ जना बिरामीहरु कपिलवस्तु अस्पताल र प्रादेशिक अस्पताल बुटवलमा रिफर गरी पठाइएको पाण्डेयले बताए।

प्रकोप सुरु भएको पाँचौ दिनसम्म पनि झाडापखाला नियन्त्रण हुन सकेको छैन। बिरामीको संख्या निरन्तर बढिरहेकोले उपचारमा समेत समस्या आएको छ। बेड अभाव भएपछि बिरामीलाई अस्पतालको बरन्डा, गल्ली र भुईमा राखी उपचार गरिरहेको छ।

यस्तै अस्पताल किनारमा रहेको रामगार्खा उच्च मावि र महेन्द्र प्राविमा समेत बेड राखेर बिरामीहरुको उपचार भइरहेको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले बताए। अस्पतालबाहेक अन्य स्थानीय मेडिकल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचारत बिरामीहरुको सख्या १ सय भन्दा बढी रहेको उनले बताए।

मेयर शाहले प्रकोप फैलिन नदिन र आवश्यक सामाग्री जुटाउन आफूहरु लागीपरेको बताए। कृष्णनगर नगरपालिका भरी सचेतनामूलक माईकिङसमेत गरिएको उनले बताए। राम गोरखा माविमा अहिले ४० जना बिरामीको उपचार भइरहेको छ। बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला, डबरा लगायतका गाउँमा झाडापखाला र बान्ताका बिरामी निरन्तर बढ्दै गएको अस्पतालले जनाएको छ।

अस्पतालका डाक्टर मुकेश चौधरीले बिरामीहरुको चाप निरन्तर बढ्दै गएपछि उपचारमा समस्या आएको बताए। उनले थप सहयोगका लागि ३ वटै तहका सरकारसँग आग्रह गरेका छन्। अहिले यस अस्पतालमा ७ जना डाक्टरहरले उपचार गरिरहेका छन्।

दुषित पानीका कारण झाडापखालाको प्रकोप फैलिएको हुनसक्ने अस्पतालका डाक्टरहरु बताउँछन्। उनीहरुmले प्रकोपलाई हैजासमेत हुन सक्ने बताएका छन्। स्वास्थ्य कार्यालयका प्रमुख पाण्डेयले ५ जनाको दिशा र त्यस क्षेत्रको पानीको परीक्षणका लागि काठमाडौँ र प्रदेश प्रयोगशाला पठाइएको बताए। त्यसको प्रतिवेदन अझै आई नसकेको उनले बताए। 

प्रकाशित: २१ आश्विन २०७८ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App