२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

‘घाइते चुनाव’ ले देशलाई निकास दिन्छ भन्ने लाग्दैन, त्यसैले उम्मेदवार बनिनँ: झलनाथ खनाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आसन्न निर्वाचनमा आफू उम्मेदवार नबन्नुको कारण खुलाएका छन्।

उम्मेदवारी दर्ता प्रक्रिया सकिएर नेताहरू भोट माग्न गाउँ–गाउँ पुगिसक्दा पनि काठमाडौंस्थित निवासमै रहेका खनालले नागरिक न्युजसँग कुरा गर्दै आफू मानसिक र आर्थिक रूपमा चुनाव लड्न तयार नभएकाले प्रतिस्पर्धाबाट बाहिरै बसेको स्पष्ट पारेका हुन्।

नागरिक न्युजको ‘नागरिक निर्वाचन विशेष’ कार्यक्रममा कुराकानी गर्दै नेता खनालले यसपटकको चुनावमा आफू सहभागी नभई युवाहरूलाई अगाडि बढाउन चाहेको बताए।

‘म निर्वाचनका लागि पारिवारिक र मानसिक रूपमा तयार छैन, र आर्थिक रूपमा पनि तयार छैन,’ खनालले भने, ‘युवाहरूलाई अगाडि सार्ने हिसाबले पनि म अहिले निवासमै छु।’

पूर्व प्रधानमन्त्री खनालले अहिलेको निर्वाचनले देशलाई निकास दिनेमा शंका व्यक्त गरे। २००७ सालदेखि हालसम्मका राजनीतिक परिवर्तन र निर्वाचनहरूको विश्लेषण गर्दै उनले कुनै पनि निर्वाचनले देशका वास्तविक समस्या समाधान गर्न नसकेको जिकिर गरे।

‘२०६२/६३ को ठूलो क्रान्ति र संविधान निर्माणपछि जनताले एउटै पार्टीलाई करिब दुई-तिहाइ बहुमत दिए। तर त्यसले पनि आर्थिक, राजनीतिक, सामाजिक समस्या हल गर्न सकेन,’ खनालले सुनाए।

उनले अहिलेको निर्वाचनलाई विशेष र असहज परिस्थितिको उपज भएको बताए। संविधानलाई चिथोरेर र कोट्याएर अहिलेको अवस्था सिर्जना गरिएको टिप्पणी गर्दै खनालले भने, ‘यो चुनाव आफैँमा घाइते छ। यो घाइते चुनावले देशलाई एकदमै राम्रो समाधान दिन्छ भन्ने आशा कसैले गरेको छ जस्तो मलाई लाग्दैन।’

उनले निर्वाचनबाट सरकार बन्ने प्राविधिक निकास निस्किए पनि देशको समृद्धि र राष्ट्रियताको सवालमा ठोस निकास निस्किनेमा आफू विश्वस्त नरहेको प्रतिक्रिया दिए।

प्रकाशित: १२ माघ २०८२ १९:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App