८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

थप ४४ लाख डोज खोप आयो

सरकारले चीनबाट खरिद गरेको भेरोसेल खोपको ४४ लाख डोज शुक्रबार काठमाडौं आइपुगेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका अनुसार नेपालले दोस्रो चरणमा चीनबाट खरिद गरेको ६० लाख डोज खोपमध्ये ४४ लाख शुक्रबार आएको हो।

कोरोनाविरुद्ध प्रयोग हुने उक्त खोपलाई वाग्मती प्रदेशको हेटौंडा, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको कास्कीमा शुक्रबार नै पठाएको महाशाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए। बाँकी प्रदेशमा आइतबारसम्म पठाउने तयारी भइरहेको छ।  

चिनियाँ रेडक्रसले नेपाल रेडक्रसका लागि दिने थप १ लाख डोज खोप केही दिनमा नेपाल आइपुग्ने महाशाखाले जनाएको छ। थप ४४ लाखसहित नेपालमा कुल १ करोड ७७ लाख डोज खोप आएको छ।  

चीनबाट खोप आएकाले ४ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने परिवार कल्याण महाशाखा प्रमुख डा. विवेककुमार लालले बताए। तीनवटा हिमाली जिल्लाबाहेक सबैमा खोप अभियान सुरु गर्ने महाशाखाले जनाएको छ। मनाङ, मुस्ताङ र रुकुम पूर्वका जिल्लामा पूरै जनसंख्यालाई खोप लगाइसकिएको महाशाखाले जनाएको छ।  

जिल्लामा खोपको ‘कभरेज’ हेरेर यसपालि खोप अभियानको प्राथमिकता तय गरेको परिवार कल्याण महाशाखाले जनाएको छ। जसमा काभे्र र चितवनमा ३५ वर्ष उमेरमाथिकालाई, मकवानपुर, काठमाडौं, ललितपुर, भक्तपुर, रामेछाप, सर्लाही, अछामलगायत १० जिल्लामा ४० वर्ष उमेरमाथिकालाई र बाँकी ५५ जिल्लामा ४५ वर्ष उमेरमाथिकालाई खोप दिइनेछ।

त्यसैगरी पर्यटन व्यवसायी, १० वटा हिमाली जिल्लाका १८ वर्ष उमेरमाथिका सबैलाई खोप अभियानमा समेटिनेछ। यो खोप अभियानमा १८ वर्षमाथिका सबै विद्यार्थीलाई खोप दिने निर्णय भएको महाशाखाले जनाएको छ।  

खोप भएसम्म सबै उमेर समूहलाई दिने सरकारको नीतिअनुसार जनघनत्व बढी भएका सहरी जिल्लामा अन्य जिल्लाको तुलनामा बढी खोप दिने तयारी भएकाले कतिपय जिल्लामा उमेर समूहमा घटीबढी हुनसक्ने परिवार कल्याण महाशाखा प्रमुख लालले बताए। कतिपय जिल्लाले पहिले नै कम उमेरका जनसंख्यालाई खोप दिएकाले पनि उमेर समूह घटीबढी हुन गएको हो।  

काठमाडौंमा भेरोसेलको दोस्रो डोज 

काठमाडौं जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लामा भेरोसेल खोपको पहिलो डोज लिइसकेकालाई दोस्रो डोज दिनेगरी असोज ४ देखि ६ गतेसम्म तीनदिने अभियान सञ्चालन गर्ने भएको छ। खोप लिन जानुअघि विद्युतीय फारम भर्नुपर्नेछ। काठमाडौं जिल्लाले १२ वटा स्थानीय निकायका केन्द्रसहित मुख्य अस्पतालबाट खोप दिने निर्णय गरेको छ। 

नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती अस्पताल, प्रसूति गृह र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप दिइनेछ। थप नयाँ केन्द्रबाहेक काठमाडौं महानगरपालिकाका १७ र १५, कीर्तिपुर नगरपालिकाको १० वडा, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, तारकेश्वर नगरपालिका, दक्षिणकाली नगरपालिका, बुढानीलकण्ठ नगरपालिका, टोखा नगरपालिका, गोकर्णेश्वर, शंकरापुर, कागेश्वरी मनोहरा नगरपालिकामा खोप केन्द्र तोकिएको छ।  

विभिन्न देशमा जाने नेपाली, सरकारले तोकेका अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, भेरोसेलको पहिलो मात्रा खोप लिएका नागरिक, सार्वजनिक यातायातका चालक तथा सहचालकलगायतलाई खोप अभियानले समेट्ने जिल्ला जनस्वास्थ्य कार्यालय, काठमाडौंका जनस्वास्थ्य प्रमुख बद्रीबहादुर खड्काले बताए। खोप केन्द्रहरूमा पुरुष र महिलाका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था हुनेछ।

कोरोना संक्रमणदर १२.५ प्रतिशत  

पछिल्लो चौबीस घण्टामा नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना संक्रमणदर १२ प्रतिशत रह्यो। यस अवधिमा परीक्षण भएका १२ हजार ३ सय ८५ वटा नमुनामा १५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। शुक्रबारको तथ्यांकअनुसार एक सातायता घटिरहेको संक्रमणदर दुई अंकले वृद्धि भएको देखिन्छ।

थपसहित नेपालमा कुल संंक्रमित संख्या ८ लाख ७१ हजार १ सय ४३ पुगेको छ। काठमाडौं उपत्यकामा ३ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। त्यस्तै, पछिल्लो चौबीस घण्टामा नेपालमा थप १० जनाको कोरोना संक्रमणबाट कारण मृत्यु भएको छ। यो तथ्यांकसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ।

प्रकाशित: २ आश्विन २०७८ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App