coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

हेटौंडा अस्पतालमा अक्सिजन उत्पादन सुरु

अक्सिजन प्लान्टमने उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल ।

कोरोना भाइरस (कोभिड १९)को संक्रमण दर बढ्दो छ। कोरोनाका बिरामीले अस्पतालका बेडहरु भरिन थालेको छ। घरदेखि अस्पतालसम्म बिरामीको बढ्दो चापले विगतमा अभाव सिर्जना भएको अक्जिसन समेत तयारी अवस्थामा राखिएको छ। यसै सन्दर्भमा बागमती प्रदेशको राजधानी हेटौडामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ। सम्झौता भएको करिब तीन महिनापछि अक्सिजन प्लान्ट स्थापना सम्पन्न भई उत्पादन सुरु गरिएको छ।  

उद्योग संघ मकवानपुरको आर्थिक सहयोगमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा प्लान्ट स्थापना गर्न गत जेठ ४ गते अस्पताल प्रशासनसँग सम्झौता गरेको थियो। दैनिक १ सय १५ देखि १ सय २० सिलिन्डर अक्सिजन उत्पादनको क्षमता रहेको उक्त प्लान्ट स्थापनामा ३१ जना उद्योग व्यवसायीले सहयोग गरेको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिए।  

कुल १ करोड २८ लाख लागत अनुमान गरिएको सो प्लान्ट स्थापना र जडान सम्पन्न गर्न १ करोड ३६ लाख ९५ हजार रुपैयाँ खर्च भएको उद्योग संघ मकवानपुरका अध्यक्ष पोखरेलले बताए। जिल्लामा एउटा पनि अक्सिजन प्लान्ट नहुँदा संक्रमितको उपचारमा समस्या उत्पन्न भएको र अक्सिजनको चरम अभाव हुने गरेको बताइएको छ।  प्लान्टको एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरेका छन्।  

प्लान्टको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश मातहत आएपछि अस्पताललाई व्यापक सुधार गरिएको बताए। ‘पचास शैयाको अस्पताललाई तीनसय शैयाको बनाउन सफल भएका छौँ, अब चाँडै नै पाँच सय शैयाको विशाल अस्पताल बनाउन पहल गर्नेछौँ,’ मुख्यमन्त्री पौडेलले भने, ‘तीन मात्रै चिकित्सक रहने अस्पतालमा ५० भन्दा बढी चिकित्सक थप गरिएको र सघन उपचार कक्ष, एचडियु तथा भेन्टिलेटर जस्ता सबै सुविधा सञ्चालनमा ल्याइएको छ।’ अब चाँडै नै मुटु रोग तथा अर्बुद रोग (क्यान्सर) को उपचारको छुट्टै युनिट सञ्चालनका लागि प्रदेश सरकारले काम गरिरहेको उनले बताए।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याएको बताए। ‘देशमा संघीयता स्थापना पश्चत गठन भएको प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको विकास र विस्तार गरी स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन गरेको छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले सक्दो प्रयास गरेको र प्रदेशका सबै जिल्ला अस्पतालमा प्रदेश सरकारले अक्सिजन प्लान्ट स्थापना गरिरहेको छ।’

प्रदेश सरकारले हेटौँडा अस्पतालमा छ तले नयाँ भवन निर्माणको शुरुआत गरिसकेको मुख्यमन्त्री पौडेलले बताए। स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन ल्याइएको जनाउँदै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले सञ्चालन गरेका १३ वटै अस्पतालमा अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुन नदिने बताए। बागमती प्रदेश सरकारले हरेक जिल्लामा अक्सिजन प्लान्ट स्थापनाका लागि पहल गरिरहेको छ।

प्रकाशित: ३१ श्रावण २०७८ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App