३ चैत्र २०८२ मंगलबार
image/svg+xml
स्वास्थ्य

वीरमा दाँत उपचारमा पालो पाउन ६ महिना

वीर अस्पतालको दाँत विभागमा सेवा लिन पैसा हुने र नहुने दुवै वर्ग पुग्छन्। पुग्नुको एउटै कारण हो– वीरको डेन्टल सेवाको गुणस्तरीयता र सुलभ शुल्क।

वीरको दाँत सेवामा पनि दाँतको जरा भर्ने सेवा पाउन भने महिनौँ कुर्नु पर्ने बाध्यता कायमै रहेको बिरामीहरूको गुनासो छ।

वीर अस्पताल डेन्टल विभाग रुट क्यानल ट्रिटमेन्ट इकाइका एक चिकित्सकका अनुसार बिरामीको चाप अनुसार डेन्टल चेयरको पर्याप्त जनशक्ति व्यवस्थापन हुन नसक्दा बिरामीले पाँच/छ महिनासम्म पालो कुर्नु पर्छ।

हाल यो इकाइमा हालै चार वटा डेन्टल चेयर थप भएपछि केही सुधार हुने देखिन्छ। तर यसले पालो कुर्ने समस्याको पुरै समाधान भने दिन नसक्ने चिकित्सकहरू बताउँछन्।

‘थप चार वटा डेन्टल चेयर थपिएपछि केही सुधार आउला तर, महिनौँ पालो कुर्नु पर्ने समस्याको पुरै समाधान गर्न सम्भव देखिंदैन’ अस्पतालका डेन्टल विभाग प्रमुख डा. प्रमोद कुमार कोइरालाले भने।

थप कुर्सीको सेवापछि पालोमा सुधार आउने अस्पतालको रुट क्यानलद ट्रिटमेन्ट इकाइकी एक चिकित्सकले बताइन्। उनले भनिन, ‘भर्खरै जोडेका छौं, एक महिना हेरौँ’ उनले भनिन।

यो शाखाको लागि हाल पाँच जना विशेषज्ञ चिकित्सक र ७ जना आवासीय चिकित्सक छन्। अस्पतालमा आउने बिरामीको चाप अनुसार यो दर्जनौँ कुर्सीबाट सेवा दिनु पर्ने देखिए पनि ठाउँको अभावले त्यो पुरा हुन नसकेको अस्पतालका डेन्टल विभाग प्रमुख डा. कोइराला बताउँछन्।

बिरामीको समयमै पालो नआउँदा दाँत भर्नु पर्ने अवस्थाका र जरा भर्नुपर्ने बिरामीको दाँतमा जटिल समस्या आउने चिकित्सक बताउँछ। ‘जरा भर्ने दाँतको लागि समयमै उपचार भएन भने किराले दाँतको जरै खान्छ’ एक चिकित्सकले भने।

चिकित्सकको अनुसार बिरामीको चाप अनुसार कुर्सी नहुँदा यो पालो दिने र लिने दुवैलाई अप्ठेरो परेको छ। सेवा दिनका लागि लामो अवधिको पालो व्यवस्थापनमा इकाइलाई समय लाग्छ नै पालो कुरेर आउने बिरामी पालै लिनको लागि तीन पटक सम्म पुग्नु पर्छ।

मुस्किलले पाएको पालो पनि भुलवश तोकेको दिनमा बिरामी सेवा लिन गएनन् भने पुन: ६ महिना पालो सर्छ। पछिल्लो पटक गत जेठमा खुलेको पालो अनुसार असोज महिनाभर उपचार गर्नेको समय बुक भइसकेको छ। कात्तिकमा अर्को चरणको बिरामीको लागि पालो आउँछ।

यो इकाइ अन्तर्गत दाँतको जरा भर्ने र कीराले खाएको प्वाल टाल्ने सेवा प्रदान गरिन्छ। यी दुई सेवा मध्येमा सिमेन्ट भर्ने सेवा केही छिटो हुन्छ भने जरा भर्ने सेवाको लागि महिनौँ समय लाग्छ। गुणस्तरीय र सुलभ सेवाको कारण बिरामी महिनौँ कुरेर सेवा लिन आउने गरेको चिकित्सक बताउँछ।

वीरमा दाँतको सेवामा भएको गुणस्तरकै कारण बिरामीको चाप बढी हुने गरेको हो। निजीमा सेवा लिँदा लिँदा अत्यन्त महँगो पर्ने र गुणस्तरको सुनिश्चितता नहुने भएकोले पैसा हुने र नहुने दुवै बिरामी पर्खेरै सेवा लिन आउनेको कारण थप चाप बढेको हो।

वीर अस्पतालको डेन्टल विभागको यो चापको समस्या पुरानै भएपनि यसको उचित सम्बोधन हुन सहज छैन। सहज समाधान हुन नसकेपछि ठूलो संख्यामा सेवा दिने र शैक्षिक सेवाको लागि सहज हुने गरी छुट्टै डेन्टल अस्पताल आवश्यक भएको चिकित्सकहरू बताउँछ।

प्रकाशित: ७ श्रावण २०८२ २२:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App